कास्कीमा ५७ हजार २२ जना नयाँ मतदाता थपिए

0
254

कास्की ।  ३० वैशाखमा हुने निर्वाचनमा  कास्कीमा दुई लाख ८१ हजार आठ सय ३३ जनाले मतदान गर्नेछन् ।  प्रदेश निर्वाचन कार्यालय गण्डकीका  अनुसार 
कास्कीमा ५७ हजार २२ जना नयाँ मतदाता थपिएका छन् ।

एक महानगर र चार  गाउँपालिका रहेको कास्कीमा ०७४ सालको स्थानीय तहको निर्वाचन दुई लाख २४ हजार आठ सय ११ जनाले मतदान गरेका थिए । । कुल मतदातामध्ये पुरुषको तुलनामा महिलाको संख्या करिब १५ हजार बढी छ ।

एक लाख ३३ हजार सात सय ४२ पुरुष , एक लाख ४८ हजार महिला र चारजना तेस्रोलिंगी रहेका छन् ।  
पोखरा महानगरपालिकामा ०७४ सालमा एक लाख ६८ हजार ६७ जना मतदाता रहेकोमा ३९ हजार ६ सय ४५ जना बढेर हाल दुई लाख सात हजार सात सय १२ जना पुगेका छन् । महानगरमा ३३ वडा रहेका छन् ।

कास्कीमा रहेको अन्य चार गाउँपालिकामध्ये सात वडा रहेको रूपामा ०७४ सालमा ११ हजार तीन सय १५ जनाले मतदान गरेकोमा तीन हजार तीन सय ६० जना थप भएर हाल १४ हजार ६ सय ७५ जना पुगेका छन् । ११ वडा रहेको अन्नपूर्णमा ०७४ सालमा १५ हजार पाँच सय ६९ जनाले मतदान गरेकोमा चार हजार सात सय ७९ जना मतदाता थप भएर हाल २० हजार तीन सय ४८ जना पुगेका छन् ।   ९ वडा रहेको माछापुच्छ्रेमा ०७४ सालमा १६ हजार तीन सय एकजनाले मतदान गरेकामा चार हजार १५ जना थप भएर हाल २० हजार तीन सय १६ जना पुगेका छन् । यसैगरी १२ वडा रहेको मादीमा ०७४ सालमा १३ हजार पाँच सय ५९ जनाले मतदान गरेकोमा पाँच हजार दुई सय २३ जना थप भएर १८ हजार सात सय ८२ जना पुगेका छन् ।