देशलाई सही दिशामा हिडाउने पार्टी भनेकै नेपाली काँग्रेस ः आर्जु देउवा

८ असार २०७९, बुधबार

पोखरा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आर्जु देउवाले देशलाई सही दिशामा हिडाउने पार्टी भनेकै नेपाली काँग्रेस भएको बताएकी छिन् । सोमबार पोखरामा तरुण दल कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देश बनाउने कुनै पार्टी छ भने त्यो नेपाली काँग्रेस मात्र भएको दाबी गरिन् ।
देउवाले काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई पाँच वर्षमा राम्रो काम गरेर देखाउन आग्रह गरिन् । कार्य व्यवस्थापनमा ख्याल गर्दै अगाडि बढ्नुपर्ने आवश्यकतालाई औंल्याएकी छिन् । “पद पाउन जति सजिलो छ काम गर्न छैन । कर्मचारी तन्त्रले काम धिमा भइरहेको छ । जसलाई सुधार्दै अगाडि बढ्नुपर्ने आवश्यकता आजको हो ।”, उनले भनिन् ।

उनले पार्टीका नेता तथा कार्यकर्ताहरुले पनि निर्वाचित भएका जनप्रतिनिधिलाई सहयोग गर्न आवश्यक रहेको बताइन् । टिकट नपाउँदाको तित्तताले पार्टी भित्र नै दुर्घटना निम्तने भनाई उनको छ ।
ब्युरोक्रेसीलाई सुधार्दै अगाडि बढ्नुपर्ने दायित्व जनप्रतिनिधिको भएको र ब्युरोक्रेसी सुध्रिएको खण्डमा सरकारका कामकारबाहीले गतिशिलता पाउने उनले बताइन् ।
“नेपाल गरिब देश होइन धनी देश हो । बजेट विनियोजन हुन्छ तर कार्यान्वयन नभएको अवस्था छ । जसले गर्दा योजनाहरु अलपत्र परेका छन् । यस्ता विषयमा फ्लोअप गर्दै अगाडि बढ्न सकेको खण्डमा विकासले गति लिन्छ ।”, उनले भनिन् ।
नेपाली काँग्रेसले तरुण साथीहरुलाई सही ठाउँमा सही उद्देश्यका लागि परिचालन गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएकी छिन् । कोभिडका समयमा तत्कालिन ओली सरकारले सिन्को नभाँचेको तर काँग्रेसले उल्लेखनिय काम गरेको भनाई उनको थियो ।
पदका लागि मात्रै राजनीति गर्नुको कुनै तुक नहुने र जनताको सेवामा समर्पित भए नै राजनीतिको वास्तविक अर्थ रहने भनाई उनको छ ।
फरक प्रसङ्गमा बालेन शाहले रुटिन अफ नेपाल बन्दलाई पैसा तिरेर परिचालन गरेको उनले बताइन् । स्वतन्त्रहरुले एउटा एउटा गुण पहिचान गरी जित्न सफल भएको अभिव्यक्ति उनको थियो ।
पार्टीको भूमिकालाई अझ मजबुत बनाउन आवश्यक रहेको उनले बताइन् । जनताका आधारभूत आवश्यकतालाई काँग्रेस सरकारले पुरा गर्दै गएको तर प्रचारप्रसारमा कमी भएको तर्क उनको छ ।
विपद व्यवस्थापनमा नेपाली काँग्रेसको भूमिकालाई महत्वपूर्ण रुपमा प्रस्तुत गर्न त्यसैअनुरुप लाग्न आम कार्यकर्तालाई उनले निर्देशन दिएकी छिन् ।
गण्डकी प्रदेशका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले नेपाली काँग्रेस नेतृत्वको गठबन्धन सरकार विकासको पथमा हिडिरहेको बताए । उनले विपद व्यवस्थापनमा तरुणको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै गएको स्थानीय निर्वाचनको समिक्षा मसिनो गरी गर्नुपर्ने आवश्यकतालाई औल्याएका छन् ।

Leave a Reply