पर्यटकीय बसपार्क उपत्यका नगरविकास समितिलाई हस्तान्तरण

२२ असार २०७९, बुधबार

पोखरा।पोखरामा निर्माण भएको पर्यटकीय बसपार्क पर्यटन विभागले पोखरा उपत्यका नगरविकास समितिलाई हस्तान्तरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोना गरि विभागले बुधबार उपत्यका नगरविकास समितिलाई बसपार्क हस्तान्तरण गरेको हो ।
बसपार्कको स्वामित्व हस्तान्तरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय सहर पोखरामा पर्यटकीय बसपार्क निर्माणले पर्यटकीय क्षेत्रमा पक्कैपनि उत्साह थप्ने अपेक्षा प्रकट गरे । उपत्यका नगरविकास समिति र पोखरा महानगरले उक्त बसपार्कको सहि उपयोग गर्नेमा आफू विस्वस्त रहेको उनले बताए । पोखरावासीलाई बधाई दिँदै पोखरामा थप पर्यटकीय पूर्वाधार बन्ने र त्यसका लागि पोखरा महानगरपालिकासहित समग्र पर्यटनसम्बद्ध संस्थाहरुसंग मन्त्रालयले सहकार्य गर्ने उनको भनाई छ ।
पोखरा महानगरका प्रमुख एवं पोखरा उपत्यका नगरविकास समतिका अध्यक्ष धनराज आचार्यले १८ रोपनी क्षेत्रफलमा सुविधान सम्पन्न बसपार्क निर्माणगरि हस्तान्तरण गरेकोमा मन्त्रालय र पर्यटन विभागप्रति हार्दिक आभार प्रकट गरे । उनले पोखरा महानगरपालिकाले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको भन्दै यसका लागि संघीय सरकारको तर्फबाट थप सहयोग हुने अपेक्षा प्रकट गरे । उपत्यका नगरविकास समिति मार्फत पोखरा महानगरले पर्यटन बसपार्कको उपायोग गर्ने र सेवा दिने प्रमुख आचार्यले जानकारी दिएका छन् । स्वामित्व हस्तान्तरण कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव महेश न्यौपाने र पर्यटन विभाग तारानाथ अधिकारीको उपस्थिति रहेको थियो ।
बसापार्क निर्माणको जिम्मा पाएको निर्माण कम्पनी आशिष÷सिएम÷मिसन जेभीका डाइरेक्टर सान्तकुमार श्रेष्ठका अनुसार पर्यटकी बसपार्कमा ४० वटा पर्यटक बहाक वस आवतजावत गर्न सक्नेछन् । १० वटा माइक्रो बस, २० वटा ट्याक्सी पार्किङ गर्ने स्थल र केही कार समेत राख्ने स्थल छ । बसपार्कको दक्षिण पूर्वबाट बस प्रवेश गर्ने र दक्षिण पश्चिमबाट वस बाहिरिने व्यवस्था छ । बसपार्कको पश्चिम र पूर्वी भागमा दुबै तर्फ एक सय ३० मिटर लामा नाला (ढल) निर्माण भएका छन् । बसपार्कको बीचमा आकर्षक आइल्यान्ड गार्डेन बनेको छ । जहाँ पर्यटक ओर्लिएपछि एकैछिन् उत्तरी हिमाल तर्फको सिन लिँदै तस्बिर खिच्न पाउनेछन् ।
डिभाइडरमा समेत फूल रोपेर आकर्षक बनाइने छ । बसपार्कमा व्यवस्थित सौचायल, चमेना गृह लगायतका प्रयोजनका लागि भवन निर्माण भएको छ ।
पर्यटन विभागका निर्देशक तारानाथ अधिकारीका अनुसार ८ करोड ४५ लाख ८३ हजार रुपैयाँ लागतमा बसपार्क निर्माण भएको हो ।
पोखरा महानगर पालिका वडा नम्बर ७, राष्ट्रबैंक चोक नजिक निर्माण भएकोे आधुनिक पर्यटन बसपार्क निर्माणको सम्झौता २८ फागुन २०७५ मा भएको थियो । निर्माण कम्पनीका अनुसार दुई असोज २०७७ भित्र बसपार्क निर्माण सम्पन्न भएर हस्तान्तरण गर्ने सम्झौता हो । तर, कोरोना संक्रमणका कारण निर्माणमा केही ढिलाई भएको थियोे । बसपार्क सात हजार ९ सय बर्गमिटरमा बनेको छ ।

पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि प्रक्रिया अगाडि बढाइँदै
गण्डकी प्रदेशको राजधानी पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि पर्यटन मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ ।
पर्यटन मन्त्री जीवनराम श्रेष्ठले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि आगामी मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने तयारी गरेको जानकारी दिएका छन् ।
पर्यटकीय राजधानी घोषणा गर्नका लागि प्रक्रिया छिट्टो अगाडि बढाउनका लागि ध्यानाकर्षण गराउन मन्त्रालय पुगेका पोखरा महानगरका प्रमुख आचार्यलाई मन्त्री श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । प्रमुख आचार्यले आफू र महानगरवासीले छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने संघीय सरकारको निर्णयको सुखद् जानकारी प्राप्त हुने बताए ।
‘पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि हामीले प्रक्रिया अगाडि बढाएका छौं । अबको क्याविनेटमा यो प्रस्ताव लिएर जाँदैछु भनेर मन्त्री ज्युले आस्वासान दिनुभएको छ । पक्कैपनि हामी पोखरावासीले सुखद् खबर सुन्न पाउने छौं’ मन्त्री श्रेष्ठलाई उदृत गर्दै प्रमुख आचार्यले भने ।

 

Leave a Reply