आसन्न निर्वाचनलाई लक्षित गरि कांग्रेस गण्डकी प्रदेशद्वारा विविध निर्णय

१० आश्विन २०७९, सोमबार

 

पोखरा ।नेपाली कांग्रेस गण्डकी प्रदेशले यही मंसीर ४ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गरि विभिन्न निर्णय गरेको छ ।

प्रदेशको आज बसेको पदाधिकारी बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारहरु र नेपाली कांग्रेसलाई विजयी गराउनको लागी नेपाली कांग्रेसका गण्डकी प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेको संस्थाहरु र भातृसंगठन तथा शुभेच्छुक संस्थाले खेल्नुपर्ने भुमिकाका विषयमा नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा भएको कार्यसमितिको वैठकमा छलफल तथा विविध निर्णय गरेको हो ।

गण्डकी प्रदेशलाई समृद्धि प्रदेश निर्माण गर्ने उद्देश्य पुरा गर्न र निर्वाचन गतिविधिहरुलाई प्रभावकारी बनाउन आर्थिक परिचालन समिति संयोजकमा नेपाली कांग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ, घोषणा पत्र तयारीमा महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र प्रचार–प्रसार समितिमा किरणबावु श्रेष्ठलाई संयोजक तोकिएको प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराए ।

साथै, विपी स्मृति पुस्तकालय संचालन समितिको संयोजकमा प्रा.डा.कुशुमाकर न्यौपाने र अक्षयकोष तथा पुरस्कार व्यवस्थापनको संयोजकत्वमा प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)लाई तोक्ने निर्णय गरिएको छ ।

त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेश द्वारा तयार गरिने घोषणापत्रमा गण्डकी प्रदेश मातहतका जिल्लाहरुवासीको जिवन स्तर परिवर्तनका लागि समस्या र समाधान समेटी सम्बोधन गरिनुपर्ने विषयवस्तुका बारेमा जिल्ला कार्यसमितिहरुसँग राय सुझाव माग गर्ने समेत निर्णय गरेको छ ।

यसैगरि बैठकले नेपाली कांग्रेस गण्डकी प्रदेश समितीले जनतालाई अप्ठ्यारो पर्ने गरि ल्याएको करमा पुनर्वलोकन गर्न गरेको निर्देशनलाई गण्डकी प्रदेश सरकारले सम्बोधन गरेकोमा धन्यबाद व्यक्त गरेको छ ।

गण्डकी प्रदेश सरकारले जनभावनामा असर पार्ने गरि कर बढाएपछि नेपाली कांग्रेस गण्डकी प्रदेशले तत्कालै विज्ञप्ती जारी गरि प्रदेशका मुख्यमन्त्रीलाई विज्ञप्ती बुझाएको थियो र प्रदेश सभापति शुक्रराज शर्माले जनताको ढाड सेक्नेगरी कर बढाएकोमा आपत्ति व्यक्त गर्दै तुरुन्त समाधान गर्न अनुरोध गरेका थिए।

Leave a Reply