डोटी भूकम्प अपडेट : ६ जनाको मृत्यु , पाँच घाइते

२३ कार्तिक २०७९, बुधबार

 

दिपायल । डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु रहेको भूकम्पका कारण घर भत्किँदा जिल्लाको पूर्वीचौकी गाउँपालिका – ३ गैरागाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सानागाउँका इन्चार्ज प्रहरी सहायक निरीक्षक नयन सिंह भाटका अनुसार पूर्वीचौकी गाउँपालिका – ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीय सीता बोहरा, ४० वर्षीय बगबती बोहरा, ८ वर्षीय हरक बोहरा, १४ वर्षीय धनसरी बोहरा र १४ वर्षीय तुल्सी बोहरा रहेका छन् ।

सोही ठाउँका इन्नरी देवी बोहरा, धौली बोहरा, किस्ना बोहरा, साना बोहरा र महावीर बोहरा घाइते भएको प्रहरी सहायक निरीक्षक भाटले जानकारी दिनु भयो । भुकम्पले सो गाउँका ८ घरमा पुर्ण रुपमा क्षति गरेको उहाँले बताउनु भयो ।

मंगलबार बिहान २ बजेर १२ मिनेटमा गएकाे ६.६ म्याग्निच्युटको भूकम्पले ग्रामीण भेगका दर्जनाै घरहरू भत्किएका छन् । जिल्लाको सायल गाउँपालिकामा पनि भौतिक क्षति भएको जनाइएको छ ।
घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भाेला भट्टले जानकारी दिनु भयो । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाकाे टाेली घटनास्थल पुगिसकेकाे र स्थानीय सहितकाे टाेलिले उद्धार गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरहरू भत्किएका छन्, स्थानीय त्रसित देखिएका छन् ।

त्यस अघि पनि राति ९ बजेर ७ मिनेटमा सोही ठाउँ केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ । त्यसपछि पाँच घण्टाको फरकमा पटक पटक गरी ७ पटक भूकम्पको झट्का गएकाे थियाे ।

साभार : शिखर समाचार

Leave a Reply