पोखराका दुर्गम क्षेत्रलाई सुगममा परिणत गर्ने गठबन्धनको प्रतिवद्धता

२२ कार्तिक २०७९, मंगलवार

पोखरा ।कास्की २ मा पाँच दलीय गठबन्धनका उम्मेद्वारले पोखरा महानगरमा पछि थपिएका दुर्गम वडालाई योजनावद्ध रुपमा चाडै सुगममा परिणत गर्ने प्रतिवद्धता गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल, कास्की २ (१) मा माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछाने र कास्की २ (२) मा नेपाली कांग्रेसका उम्मेदवार विन्दु थापाले आफ्नो क्षेत्रमा रहेका दुर्गम भेग चाडै सुगम बन्ने वाचा गरेका हुन् ।
मंगलबार पोखरा–२१ र पोखरा–१६ मा भएको कोणसभासहितका घरदैलो कार्यक्रममा बोल्दै गठबन्धनका तीन जना उम्मेदवारले नै यस्तो प्रतिवद्धता जनाएका हुन् ।
गठबन्धन दलको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल र कास्की २ (१) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकास लामिछाने पोखरा २१ मा घरदैलोमा रहेका प्रचार प्रशार समिति संयोजक केशर निर्दोशीले जानकारी दिए ।
उनका अनुसर कास्की–२ (२)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दु कुमार थापा पोखरा १६ मा घरदैलो कार्यक्रममा रहेका छन् । घरदैलोका क्रममा स्थानीय फूलमाला र बाजागाजासहित स्वागत गरेका उनले बताए । स्थानीयले आफ्ना समस्या र अपेक्षा राख्दै गठबन्धनमा आवद्ध दलका उम्मेदवारलाई मत दिने प्रतिवद्धता जनाएका उनले जानकारी दिए ।
पोखरा २१ मा आयोजित कोणसभमा नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल र विश्व प्रकाश लामिछानेसहितका नेताहरुले सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बरालले महानगर भित्रका दुर्गम भनिएका क्षेत्रहरुलो सगम क्षेत्रको रुपमा परिणत गर्ने प्रतिवद्धता जनाए ।
पर्यटन, कृषि र पूर्वाधार निर्माण गरेर दुर्गमलाई सुगममा परिणत गरिने उनको भनाई छ । कोर सहरी क्षेत्र अब साँघुरो भएको भन्दै विकास पूर्वाधारको विस्तार अब दुर्गम भनिएको तर सम्भावना रहेको क्षेत्रमा हुने उनको तर्क छ ।
आफूले मत मागेर यस अगाडि निर्वाचित गरेको जनप्रतिनिधिले विकास पूर्वाधार निर्माण र जनअपेक्षालाई बुझ्न नसक्दा सहरका ग्रामिण भेगमा विकास हुन नसकेको उनले औल्याए । विगतमा आफूहरुले नै दुख गरेर निर्माण गरेको पार्टीबाट जितेकाहरुले काम नगरेपछि नयाँ पार्टी निर्माण गरेर गठबन्धनको तर्फबाट आफै उम्मेदवार बनेको उनले सुनाए । ‘पोखराको ग्रामिण क्षेत्र जसलाई दुर्गम भनिएको छ । त्यहि क्षेत्रको भविश्य सुन्दर छ । यहाँ नै भोलीको अथाहा सम्भावना छ । पोखरा २१, ३३, २० र ११ का समेत केही क्षेत्रमा विकासको पहुँच पुग्न सकेको छैन ।
कृषि, पर्यटन, पशुपालन लगायतका अथाह सम्भावनाका क्षेत्रहरु यिनै हुन् । यि क्षेत्रमा कृषि र पशुपालनको क्षेत्रमा केही भएको पनि छ । तर अझैपनि खानेपानी, शिक्षा र स्वास्थ्यको पहुँच छैन । पूर्वाधारको विकास हुन सकेको छैन । कृषिमा आधुनिकिकरण गर्नुपर्नेछ । यि सबै गर्नका लागि हामी आएका छौं । विश्वास गर्नुहोस् ।’ उनले भने, ‘विगतमा म आफैले मेहनत गरेको पार्टीबाट मैले नै भोट मागेर निर्वाचितहरुले तपाइँ हाम्रो अपेक्षा पुरा गरेनन् । त्यही भएर नयाँ पार्टी गठन गर्दै पाँच दलीय गठबन्धनको तर्फबा उम्मेदवार भएर आएको छु ।’
उम्मेदवार बरालले गठबन्धनकै नेतृत्वमा स्थानीय सरकार रहेको, प्रदेश सरकार पनि गठबन्धनकै बन्ने र केन्द्र सरकार पनि गठबन्धनकै बन्ने भन्दै सबै तह मिलेर काम गर्ने बताए । उनले फुस्रेखोला–मट्टिखान सडकको स्तरोन्नती, कृष्ति– निर्मलपोखरी–भरतपोखरी सडकलाई डबल लेन डेलिगेटेड सडकको रुपमा विकास गर्ने र पोखरा चक्रपथ निर्माणका लागि योजना अगाडि बढाउने उनको भनाई छ । त्यसैगरी पोखराको जेठोबुढो धानको संरक्षण र ब्रन्डिङ, महिला, बालबालिका र मुटु रोगको उपचार गर्ने राम्रा अस्पतालको निर्माण, अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त हुने शिक्षालयको स्थापना लगायतका काम गठबन्धनले पुरा गर्ने उनले बताए ।
नेकपा माओवादी केन्द्रका नेता एवं कास्की क्षेत्र नम्बर २ (१)मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्व प्रकाश लामिछानेले अब देशको विकास गठबन्धनमा आवद्ध दलहरुले गर्ने बताए । गठबन्धनको घोषणा पत्र नै आफ्नो घोषणा पत्र रहेको भन्दै उनले विगतको आफ्नो अनुभवलाई जनताको सेवा र काममा प्रयोग गर्ने धारणा राखे । विगतमा आफू पोखरा उपत्यका नगरबिकास समितिमा बसेर काम गरेको, ताल संरक्षण अभियानमा राम्रोसँग काम गरेको, अम्मरसिंह नमुना माविको व्यवस्थापन समितिको अध्यक्ष भएर राम्रो सफलता प्राप्त गरेको उनले स्मरण गरे ।
पोखरा २१ मा खानेपानीको समस्या हल गरिने भन्दै उनले आफूहरुसंग स्पष्टरुपमा विकास गर्ने योजना र खाका रहेको सुनाए । आफूहरुले कृषि र उत्पादनमा जोड दिने र आपफ्नै गाउँठाउँमा रोजगारीको वातावरण बनाउने उनले दृढता व्यक्त गरे ।
योजना बनाउन सजिलो रहेको तर कार्यान्वयन गर्न गाह्रो हुने भन्दै उनले पोखरा महानगर गठबन्धनको नेतृत्वमा रहेको, प्रदेश र संघ सरकार पनि गठबन्धनकै बन्ने हुँदा समन्वय गरेर योजना लागु गर्न सहज हुने बताए ।
कार्यक्रममा कांग्रेसबाट समानुपातिक उम्मेदवार बृन्दा रानाले गठबन्धनले ५ वर्षमा काम गरेर स्थिर सरकार दिने बताइन् । पूर्वाधार निर्माण गरेर देशकै आर्थिक अबस्था उकास्ने उनको भनाई थियो ।
उनले कास्की क्षेत्र नम्बर २ मा विगतमा एमालेबाट निर्वाचित भएर गएकाहरु एनसेल काण्ड र वाइडबडी जस्ता काण्डमा मुछिएको बताइन् । गठबन्धनबाट निर्वाचित हुने उम्मेदवार यस्ता काण्डमा नफस्ने र जनताको सेव ागर्ने उनको भनाई छ ।
नेपाल समाजवादी पार्टी गण्डकी अध्यक्ष किरण बहादुर थापा र नेकपा एकीकृत समाजवादी कास्कीका उपाध्यक्ष झपेन्द्रराज रेग्मी लगायतले उक्त अवसरमा बोल्दै च्यात्न लागेको संविधान जोगाउन र जनताको काम गर्न गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताए ।
कास्की क्षेत्र २ (२)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापाले आफुले पाएको सेवा सुविधा विगतमा जस्तै सामाजिक कार्यमा खर्च गर्ने बताए ।
उनले पोखरा महानगरपालिका १६ दिपमा मतदातासंग भेटघाट गर्दै उक्त कुरा बताएका हुन । ‘अघिल्लो कार्यकाल जस्तै यस कार्यकालमा पनि प्रदेश सभा सदस्यको रुपमा मलाई प्राप्त सम्पुर्ण तलब तथा सुविधाहारु यसै क्षेत्रको विकासका लागि विभिन्न सामाजिक कार्यमा खर्च गर्नेछु’ उनले भने, सधैंझै सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलता मेरो प्रमुख मन्त्र रहने छ ।’ थापाले देशमा विकास गर्नका लागि तहमै गठबन्धनको सरकारको आवश्यकता रहेको उनले आंैल्याए ।

Leave a Reply