संगम सहकारीका  दिदिबहिनीहरुलाई ढकिया बनाउने तालिम

१९ मंसिर २०७९, सोमबार

 

पोखरा  ।    पोखरा १५  –  राम बजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै समुदायमा रहेका दिदिबहिनीहरुलाई ढकिया बनाउने तालिम दिएको छ ।

समुदाय प्रति चासो भन्ने सहकारीको सिद्धान्तलाई समेत मध्येनजर राखेर संस्थामा सेयर सदस्य भएका र नभएका दुबै बर्गलाई समेटी छ दिने हस्तकला तालिम संचालन गरेको हो ।

शिक्षा उपसमितिको पहलमा संस्थाकै हलमा भएको उक्त तालिमको समापन कार्यक्रममा प्रमाणपत्र बितरण गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ , कास्कीका अध्यक्ष सावित्री कोइरालाले यस किसिमका तालिमले घर घरमै स्वरोजगारको सिर्जना भइ आर्थिक बिकासमा महत्त्वपूर्ण टेवा दिने बताइन् । समाज बिकासका विभिन्न पाटाहरुमा संगम सहकारीले गरेको उल्लेखनीय कार्यबाट आफू धेरै अगाडी देखि नै परिचित रहेको र खुसी लागेको बताउदै संस्थाको परिकल्पना र सहकारी भावना अनुरुप अझै अगाडी बड्दै जान सकोस भनी शुभकामना दिइन् ।

संस्थाका अध्यक्ष नबराज तिवारीले संगमले दिएको बिगतका तालिमको समेत स्मरण गर्दै सिकेको सिपलाई आय आर्जनसँग प्रत्यक्ष जोड्न अनुरोध गरे । साथै उद्धमी बन्न चाहनेहरुको लागि आवश्यक सहयोग गर्न संस्था सधै तयार रहेको उनले बताए ।

प्रशिक्षक सावित्री अधिकारीले दिदीबहिनीले बनाएका सामानको बिक्री बितरण लगायतका कार्यमा आफुले सहयोग गर्ने बताइन् । शिक्षा उपसमिति सदस्य एवं तालिम संयोजक सरस्वती अधिकारीले बजारको माग हेरेर नै यो तालिम राखिएको बताइन् ।

सहभागीको तर्फबाट बोल्दै नव जनशक्ति आमा समुहकी सचिव तोत्रादी बास्तोलाले आफुहरुले सिकेको सिपलाई भोलिबाटै ब्यवहारमा उतार्न प्रयत्न गर्ने बताइन् ।

कार्यालय प्रमुख बृहस्पति अधिकारीले संस्थागत परिचय राखेको तालिम कार्यक्रममा तिलक थापा , गंगा शर्मा तिम्सिना , रामश्री गुरुङ , गोमा गिरी लगायतले बोल्नु भएको थियो ।

Leave a Reply