‘हिंसा सहेर नबसौं, प्रतिकार गरौं’

१९ मंसिर २०७९, सोमबार

 

 

पोखरा । हिंसा सहेर बस्न नहुने र हिंसाको प्रतिकार गर्नुपर्नेमा जोड दिइएको छ ।

“सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने मूल नाराका साथ १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लायन्स क्लव अफ पोखरा स्मार्ट टाउन र लायन्स क्लव अफ पोखरा र गण्डकी प्रदेश अन्तरध्वनी नेपालको सहकार्यमा सञ्चारिका समूह गण्डकी प्रदेशले आयोजना गरेको  ‘लैङ्गिक विभेद र मनोसामाजिक असरको सम्बन्ध’ विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले  हिंसा सहेर बस्न नहुने र हिंसाको प्रतिकार गर्नुपर्नेमा जोड दिएका  हुन्   ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले कसैले हिंसा गरेमा नो र नाई भनेर प्रतिकार गर्नुपर्नेमा जोड दिइन् ।    उनले आवाजविहीनहरुको आवाज उठाउने महिला पत्रकारहरु पनि हिंसामा पर्ने गरेको बताइन् । ८८ प्रतिशत पत्रकार महिलाहरुलाई अनलाइनबाट हिंसा हुने भन्दै उनले अझै पनि लैङ्गिक समानतामूलक समाजका लागि हाम्रो आन्दोलन नसकिएकोले जुझारु भएर लाग्नुपर्नेमा जोड दिइन् ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पुण्य पौडेलले समाज परिवर्तन हुँदै गएको अवस्थामा हामी पनि परिवर्तन हुन आवश्यक रहेको बताए । उनले हरेक घरमा हिंसा हुने भएकोले परिवर्तनका लागि आफ्नै घरवाट शुरुवात गर्नुपर्नेमा उनको जोड थियो ।

मनोसामाजिक असरको विषयमा आफ्नो प्रस्तुति राख्दै अन्तरध्वनी नेपालका अध्यक्ष जमुना शर्माले मानसिक स्वास्थ्यमा सबैको अधिकार हुने बताइन् ।

 

नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पोखरा नर्सिङ्ग क्याम्पसका निशा श्रेष्ठ, दलित महिला संघ फेडोका अध्यक्ष सुमित्रा गायक, नेपाल टेलिभजनका पत्रकार पर्शुराम शर्मा, नेष्डो गण्डकीका सूर्यप्रसाद भट्टराई लगायतले कार्यक्रममा बोलेका थिए ।

 

सञ्चारिका समूह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनका अध्यक्ष लक्ष्मी अधिकारीले स्वागत  र सञ्चारिका समूह गण्डकी प्रदेशका कार्यसमिति सदस्य जुना थापाले सञ्चालन गरेकी थिइन् ।

 

Leave a Reply