गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएनन्

९ बैशाख २०८०, शनिबार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् ।

अधिकारी नेतृत्वको सरकारले शनिबार प्रदेश सभामा विश्वासको मत पाएनन् । प्रदेशसभामा उपस्थित भएका ५९ सदस्य मध्ये मुख्यमन्त्री अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत पर्‍यो । यससँगै पुस २५ गते बनेको अधिकारी नेतृत्वको एमाले सरकार एक सय पाँच दिनमा ढलेको हो ।

 

 

विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत मात्र पाए ।

मुख्यमन्त्री अधिकारीको विश्वासको मतको विपक्षमा ३५ मत खसेको छ । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात् दिपक मनाङेले अधिकारीलाई मत दिएनन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बनेका अधिकारी करिब साढे ३ महिना पदमा रहे ।

 

सत्ता सारथि नेकपा माओवादी केन्द्रले चैतको १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता उत्पन्न भएको थियो ।

 

प्रदेश प्रमुखले संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार बनाउन आह्वान गरे कांग्रेको नेतृत्वमा सरकार बन्छ । जसमा संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुला हुनेछ ।

संविधानको धारा १६८ (२) अनुसार आह्वान भएमा मिलिजुलि सरकार बन्दा कांग्रेस र माओवादीबीच नेतृत्वबारे सहमझदारी जरुरी हुन्छ ।

गण्डकीमा कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व आलोपालो गर्ने सार्वजनिक भएपनि पहिला कुन दलले सरकारको नेतृत्व गर्ने भन्ने सहमति भइसकेको छैन ।

Leave a Reply