संगम सहकारीको योजना निर्माण कार्यशाला

१७ जेष्ठ २०८०, बुधबार

पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १५ ले एक कार्यशाला गरि चार वर्षे रणनीतिक ब्यवसायिक योजना निर्माण गरेको छ ।

नेफ्स्कुनको प्राविधिक सहयोग तथा संस्थाका समिति , उपसमिति , सल्लाहकार र कर्मचारीको उपस्थितिमा ३ दिने कार्यशाला गरि तयार गरिएको संस्थाको तेस्रो रणनीतिक योजना आगामी आर्थिक वर्ष २०८०/८१ देखि कार्यान्वयनमा आउने र यसले संस्थाको लक्ष्यप्राप्तिमा सहज बनाउने बिश्वास अध्यक्ष नब राज तिवारीले गरे ।

यस अघि कार्यशालाको शुभारम्भ गर्दै गण्डकी प्रदेश सहकारी बिभागका रजिस्ट्रार रोशन अर्यालले सिद्धान्त र नियममा चलेका सहकारीमा खासै समस्या नदेखिएता पनि केहि अन्य समस्याग्रस्त सहकारीका कारण असल सहकारीलाई पनि असर परेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । नेफ्स्कुनबाट आउनुभएका सहजकर्ताद्दय कोमलराज अधिकारी र रबिन्द्र श्रेष्ठले कागजमा तयार गरिएको योजनालाई ब्यवहारमा उतारेर सबै सदस्यहरुले महसुस गर्नेगरी सकारात्मक परिवर्तन भएको खण्डमा मात्रै अहिलेको तीन दिने बसाइले सार्थकता पाउने बताए ।

यसैगरी कार्यशालाको समापनमा बोल्दै प्रमुख अतिथि पोखरा वडा नम्बर १५ का अध्यक्ष तोरण बहादुर बानियाले देशको आर्थिक अवस्था संक्रमणकालीन स्थितिमा भएकोले सबैको साथ र सहकार्यबाट सुधार गर्न जरुरी रहेको बताए । सहकारीका सल्लाहकार निरज थापाले धेरै सहकारी भन्दा पनि असल सहकारीको आवश्यकता भएकोले यस वडामा पनि राम्रो सहकारी बनाउने तर्फ वडाध्यक्षको ध्यानाकर्षण गराए ।

संचालक सदस्य तिलक थापाले जुनसुकै संस्थामा पनि जिम्मेवार पदमा बस्नेहरूले संस्थाप्रति गरेको समय ब्यवस्थापन र बैचारिक उपस्थितिले मात्रै उक्त संस्थाको प्रगति हुने भएकोले सो तर्फ ध्यान दिन सबैलाई अनुरोध गरे ।

कार्यालय प्रमुख बृहस्पति अधिकारीले लक्ष्य प्राप्तिमा कर्मचारीवर्गको महत्त्वपूर्ण भुमिका हुने भएकोले त्यसका लागि आफू र आफ्नो टिम कटिबद्ध भएर लाग्ने बताए ।

शिक्षा उपसमिति सदस्य तुल बहादुर गुरुङको संयोजकत्वमा गठित रणनीतिक योजना पुनरावलोकन तथा सुझाव समुहले तयार गरेको प्रतिवेदन पनि सो अवसरमा पेस गरिएको थियोे ।

संगम सहकारीले यही जेठ देखि पोखराको न्यूरोड सेवा केन्द्रबाट पनि सदस्यहरुमाझ सेवा दिइरहेको छ ।

Leave a Reply