भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ :उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्का

१९ कार्तिक २०८०, आईतवार

काठमाडौँ ।    उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाउनुभएका जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायतकालाई आज श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । आज दिउँसो उपप्रधानमन्त्री खड्काले जाजरकोटको त्रिवेणी नदीमा उपप्रमुख सिंहलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली  अर्पण गर्नुभएको हो ।

सो अवसरमा उपप्रधानमन्त्री खड्कासहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालगायतको उपस्थिति थियो । उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एकैदिनमा घाइतेलाई उद्धार गर्न सरकार सफल भएको बताउँदै आइतबारदेखि राहत वितरण सुरू गरिने जानकारी दिनुभयो । “दुई दिनभित्र सबै भूकम्पपीडित नागरिकसम्म पुग्ने गरी राहत सामग्री पठाएका छौँ, थप केही आउने क्रम जारी छ”, उहाँले भन्नुभयो, “जसरी भूकम्पका घाइतेको उद्धार गरेका छौँ, सोही गतिमा राहत पनि वितरण गर्छौ ।” उपप्रधानमन्त्री खड्काले राहत लगत्तै पुनःनिर्माणको काममा सुरु हुने बताउनुभयो । उहाँले घाइतेहरूको उपचार सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमि हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

गत शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रविन्दु बनाएर गएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पका कारण नलगाड नगरपालिकामा उपमेयर सिंहसहित ५५ जनाको ज्यान गएको थियो भने जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो । नलगाड नगरपालिका वडा नं ४ का अध्यक्ष बद्रीबहादुर पन्तले उपप्रमुख सिंहको निधनबाट पालिकालाई ठूलो क्षति पुगेको बताउनुभयो । “पालिकाको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति गुमाउँदा ठूलो पीडा भएको छ”, उहाँले भन्नुभयो । भूकम्प गएको समयमा उपप्रमुख सिंह सदरमुकाम खलङ्गा भए पनि श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीरलाई नलगाड ल्याइएको थियो । अध्यक्ष पन्तका अनुसार भूकम्पमा परी मृत्यु भएका पालिकाका ५५ जनाकै दाहसंस्कार भइसकेको छ ।

Leave a Reply