पोखरा महानगरपालिका वडा नं.९ र १० जोड्ने सेती नदी पुलको शिलान्यास

२५ कार्तिक २०८०, शनिबार
पोखरा ।  महानगरपालिका वडा नं.९ र १० जोड्ने सेती नदी पुलको शिलान्यास गरिएको छ । पुलको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गर्नुभएको हो ।
पुलको शिलान्यास गर्दै मन्त्री ज्वालाले तोकिएको समयमा पुल निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायी लगायत सरोकारवालाहरूलाई निर्देशन दिनुभयो । निर्माण कार्य समयमा सम्पन्न गर्ने सन्दर्भमा मन्त्रालयको तर्फबाट पुरै सहयोग रहने उहाँले विश्वास पनि दिलाउनुभयो । पुलले पोखराको सुन्दरतामा नयाँ आयाम थप्ने उहाँले विश्वास समेत व्यक्त गर्नुभयो । पोखराको आर्थिक तथा सामाजिक विकासमा समेत यसले मेरुदण्डको काम गर्ने मन्त्री ज्वालाले बताउनुभयो । सेती नदी माथि मितेरी पुल समेत निर्माण गर्ने उहाँले प्रतिबद्धता पनि जनाउनुभयो ।
पोखरा पर्यटकीय दृष्टिकोणले निकै सुन्दर रहेको उल्लेख गर्दै उहाँले यसलाई पर्यटनको राजधानी सहर घोषणा गरिनु पर्नेमा जोड दिनुभयो । नेपाल सरकारलाई यसको औपचारिक घोषणाका लागि आवश्यक पहल गर्न आफू प्रतिबद्ध रहेको भन्दै उहाँले प्रदेश सरकार र महानगरपालिकाको तर्फबाट डेलिगेसन आउन र सो डेलिगेसनसँगै आफू पनि पोखरालाई पर्यटन राजधानी घोषणाका लागि दबाब दिन तत्पर रहेको बताउनुभयो । पोखरा सबै हिसाबले पर्यटन राजधानी घोषणाका लागि योग्य रहेको उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुल निर्माणका क्रममा आउन सक्ने सवै खाले स्थानीय अवरोधहरूको समाधान गरिदिने बताउनुभयो । स्थानीय अवरोधका कारण पुल निर्माण कार्यलाई ढिलाइ हुन नदिने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । सेती नदीमाथि बन्ने सिग्नेचर ब्रिजले पोखराको थप सौन्दर्ययता बढाउने प्रमुख आचार्यले विश्वास व्यक्त गर्नुभयो । पोखराको पर्यटन लगायत यस क्षेत्रको समग्र विकासमा लाइफलाइनको रूपमा यसको निकै महत्त्व रहने उहाँले बताउनुभयो ।
पुल निर्माणको कार्य २०८२ भाद्र २१ गते भित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रा.ली काठमाण्डौले ठेक्का पाएको छ । यस अवधिमा सेतीमा मौजुदा पुलको दायाँबायाँ १९०/१९० मिटरका २ वटा पुलहरू निर्माण हुनेछन् । पुलको कुल लागत १ अर्ब ७ करोड २४ लाख २६ हजार ५ सय रुपैयाँ (भ्याट सहित) रहेको छ ।

Leave a Reply