सबलाइम माविको २८ औं वार्षिकोत्सव

१३ फाल्गुन २०८०, आईतवार

पोखरा ७ रत्नचोस्थित सबलाइम अङ्ग्रेजी माध्यमिक विद्यालयको २८ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले आफ्ना सन्तानलाई सकरात्मक कुरा र जीवनोपयोगी सिप घरमै सिकाउन अभिभावकले समय छुट्याउन अपरीहार्य रहेको बताए ।
आचार्यले पढाइसँगै सिकाइ आवश्यक रहेकोले समयसमयमा अभिभावक र शिक्षक बिच अन्तरक्रिया गरी विद्यार्थी आफैले अध्ययनसँगै अभ्यास र अनुसन्धान गरी अब्बल बन्न कोसिस गर्नुपर्ने बताए । गुणस्तरीय तथा समयसापेक्ष शिक्षामा जोड दिँदै पोखराको शैक्षिक क्षेत्रमा सबलाइमको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।
हिसानका केन्द्रीय उपाध्यक्ष बिरहादुर बुढाथोकी, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, प्याब्सन गण्डकी प्रदेश सचिव विश्वराज बास्तोला, प्याब्सनका केन्द्रीय सल्लाहकार गणेशमासिंह भण्डारी, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयकी वरिष्ठ अधिकृत ईश्वरी शाह पाण्डे, प्याब्सन कास्कीका उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, अभिभावक सुरेश रानाभाट विद्यार्थी आयुष ज्ञवाली लगायतका वक्ताले विद्यालयको प्रगति र उन्नतिका लागि शुभकामना मन्तव्य राखेका थिए । विद्यालयले दिने शिक्षासँगै माटोप्रतिको ममता जगाउन, अनुशासन र संस्कार सिकाउन अपरीहार्य रहेको शुभकामना दिने वक्ताहरूको धारणा रहेको थियो ।
कार्यक्रममा विद्यार्थीले सामूहिक नृत्य, लोकनृत्य, सचेतनामूलक नाटक, विभिन्न जनजातिका नृत्य, कराँते प्रदर्शन, अबाकस सिप प्रदर्शन एवम् बालगीत लगायतका प्रस्तुति राखेको थिए । अतिरिक्त क्रियाकलाप अन्तर्गत् आधारभूत तहका ससाना विद्यार्थीले फेसन सो प्रस्तुति गरेका थिए । विद्यालयका शिक्षक तथा शिक्षिकाको सामूहिक नृत्य आमन्त्रित अतिथि र अभिभावकले चाख मानेर हेरेका थिए ।

शैक्षिक कार्यक्रमतर्फ कक्षा नर्सरीदेखि १२ कक्षासम्मका उत्कष्ट जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सबलाइम स्कुलमा पढेका पूर्व विद्यार्थी डाक्टर प्रतीक्षा पौडेल, इन्जिनियर राजन पौडेल, पाइलट राजन कार्की, सिए विक्रम पराजुली, गायक सुमन खड्का, सर्प विशेषज्ञ रोहित गिरी र पत्रकार हरि पन्तलाई सम्मान गरिएको थियो ।
वि.सं. २०५२ सालमा स्थापित विद्यालयमा हाल नर्सरीदेखि १२ सम्म ११ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । आफ्नै भवनमा सञ्चालित विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टको पढाइ सञ्चालन गर्दै आएको छ । २०८० सालमा एसइइ र १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् संस्थापक निर्देशक त्रिभुवन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल पुष्पराज पराजुलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेपाली विभाग प्रमुख कमलापति शर्माले कार्यक्रम सञ्चालन गरेको थिए ।

Leave a Reply