पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने काम नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्यले गर्नुभएको बताउनुभएको छ । राष्ट्रिय चेतनाका अग्रदूत तथा नेपाली भाषिक एकताका प्रणेता भानुभक्त आचार्यको २१३ औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान, पोखराले आयोजना गरेको विशेष समारोहमा प्रदेश प्रमुख भट्टले यस्तो बताउनुभएको हो ।
नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएका भानुभक्त नेपाल र विश्वभरका नेपालीभाषी रहेका क्षेत्रमा हाम्रो भाषा तथा साहित्य फैलाउन सेतु बन्नुभएको उहाँको भनाई छ ।
‘भानुको साहित्यिक योगदानले भाषा र समाजबीचको सम्बन्धलाई सुदृढ बनाउँदै नेपालीपनको साझा भावना निर्माणमा उल्लेखनीय भूमिका खेलेको छ । भानुभक्तले नेपालीलाई एउटै भाषिक सूत्रमा बाँध्ने प्रेरणा दिनुभयो ।’ उहाँले भन्नुभयो – ‘भानुको योगदानले राष्ट्रिय एकता, सांस्कृतिक आत्मविश्वास र नेपालीपनको भावनालाई अझ बलियो बनाएको छ । आज विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायले पनि नेपाली भाषा र साहित्यलाई जीवित राखिरहेका छन् । यो आदिकविको योगदानको निरन्तरता नै हो ।’
भानुले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल, सहज र जनबोलीको नेपाली भाषामा रूपान्तरण गरी साहित्यलाई जनसामान्यको जीवनसँग जोड्नुभएको हुँदा यही ऐतिहासिक योगदानले नेपाली भाषालाई साझा सांस्कृतिक चेतनाको माध्यमका रूपमा स्थापित गर्न महत्वपूर्ण आधार तयार गरेको उहाँको भनाई छ ।
उहाँले थप्नुभयो – ‘भानुभक्तका कृतिहरूमा केवल धार्मिक भावनाको अभिव्यक्ति मात्र छैन; त्यहाँ नैतिकता, मानवता, सामाजिक उत्तरदायित्व, कर्तव्यबोध र लोककल्याणको गहिरो चेतना पनि अभिव्यक्त भएको पाइन्छ ।’
आजको पुस्ताले भानुभक्तलाई केवल पाठ्यपुस्तकभित्र सीमित राख्न नहुने बताउँदै उहाँका कृतिहरूलाई डिजिटल माध्यम, अनुसन्धान, अध्ययन, साहित्यिक विमर्श र सिर्जनात्मक अभ्यासमार्फत नयाँ पुस्तासम्म पुर्याउनु आवश्यक रहेकोमा जोड दिनुभयो । गण्डकी प्रदेश नेपाली भाषा, साहित्य, कला र संस्कृतिको दृष्टिले अत्यन्त समृद्ध प्रदेश रहेको बताउँदै उहाँले यस प्रदेशमा रहेका साहित्यिक संस्था, अनुसन्धान केन्द्र, शैक्षिक प्रतिष्ठान र स्रष्टाहरूले भाषा तथा साहित्यको संरक्षण र प्रवद्र्धनमा निरन्तर योगदान पुर्याइरहेकोमा खुशी पनि व्यक्त गर्नुभयो ।
