डुडुवाको सार्बजनिक सुनुवाई सम्पन्न
नेपालगञ्ज । डुडुवा गाँउपालिकाको सार्बजनिक सुनुवाई सम्पन्न भएको छ ।डुडुवा गाँउपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा आज गाउँपालिकाको सभाहलमा आयोजित सार्बजनिक सुनुवाई कार्यक्रमबाट ५ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता जाहेर गरिएको छ ।
जाहेर गरिएका साझा सार्बजनिक प्रतिबद्धताहरुमा, वडा नम्बर ५ को बाटो अधुरो रहेकाले सो बाटो आगामी आर्थिक बर्षमा निर्माण गर्ने, आवागमनका लागि बाटो सहज बनाउन ग्राभेल खसाउने, डुडुवा गाँउपालिका वडा नम्बर ६ हिरमिनियाको मुनासिपुरको सडकमा आगामी आर्थिक बर्षमा ग्राभेल गर्ने, पालिका सँग सम्बन्धित सार्बजनिक सुचना प्रक्रियागत रुपमा माग भएमा आम नागरिकलाई सुचना उपलब्ध गराउने, गाँउपालिकाको सेवा सुबिधा र बिकास निर्माणको गुणस्तरियता थप अभिबृद्धि गर्ने, बिगतमा पालिकामा भएको आगजनीका बिषयमा छानबिन गर्ने लगायतका रहेका छन् ।
२५० बढि सहभागीहरुको उपस्थिति रहेको उक्त सार्बजनिक सुनुवाईको खुल्ला छलफलमा सुकुम्बासी समस्याको बारेमा, पालिका भित्रको खानेपानी योजनाको अलपत्रताको बारेमा, पालिका भित्रका सडक ग्राभेल गर्नुपर्ने लगायतका बारेमा, वडा नम्बर ५ को स्वास्थ्य चौकीमा ल्याव कर्मचारीको समस्या भएको, पालिकाहरुबाट प्रवाह हुने सुचनाहरु नागरिकहरु सामु नपुग्ने गरेको र वडा नम्बर १ को हिरमिनियाको खडैचा टोलको सडकको अबस्था लगायतका गुनासोहरु कार्यक्रममा उपस्थित सहभागीहरुले प्रश्ण उठाएका थिए ।
३ घण्टा सम्म चलेको खुल्ला छलफलमा उठेका प्रश्नहरुको जवाफ कार्यक्रमका प्रमुख सरोकारवाला ब्यक्ति पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले दिएका थिए ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए भने बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले कार्यक्रमको सहजीकरण गरेका थिए ।
