कास्की । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा आज बसेको बैठकले गण्डकी प्रदेश सरकारले गरेको जनतालाई निःशुल्करुपमा रगत दिने निर्णयको स्वागत गर्दै यथाशीघ्र कार्यान्वयन गर्न माग गरेको छ ।
नेपाली कांग्रेस कास्कीले महासमिति सदस्यको निर्वाचन एकसाता भित्रै गर्ने भएको छ । पार्टीको मंगलबार सम्पन्न बैठकले फागुन १० गतेभित्रै पार्टीको महासमिति सदस्यको निर्वाचन गर्ने निर्णय गरेको हो ।
पार्टीको केन्द्रीय समितिको परिपत्र अनुसार फागुन १० गतेभित्रै महासमिति सदस्यको निर्वाचन तय भएको पार्टी सचिव भानुभक्त ढकालले जानकारी दिए । उनका अनुसार कास्कीका तीन वटै क्षेत्रमा महासमिति सदस्यको निर्वाचन हुनेछ । यसैगरी पार्टीको बैठकले दलित समुदायको स्वास्थ्य बीमा निःशुल्क गर्न माग गरेको छ ।
यसैगरी बैठक पोखरा २८ र १४ का पार्टीका पूर्व इकाई सभापति एवं प्रजातन्त्र सेनानीद्वय भोजराज त्रिपाठी र थानेश्वर पोखरेलको निधनमा दुःख व्यक्त गर्नुका साथै त्रिपाठी र पोखरेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।