पुनः सुरु गर्यो भारतले दशगजामा खन्न : प्रतिपक्षी काँग्रेसले बिरोध कार्यक्रम गर्ने

0
740

दीपेन्द्र बस्नेत

कञ्चनपुरको पुनर्वासमा नौ दिन अघि भारतीय वनबिभागले  दशगजा नजिकै कुटनैतिक मर्यादा बिपरित खनेको नाली स्थानीयको बिरोध पछि स्थगन गरिएको भए पनि शनिबार दिउँसो देखि पुनः सहमति बिनै खन्न सुरु गरेको छ ।
पुनर्वासको डोकेबजार स्थित सिमा स्तम्भ नम्बर ७५३/१७१ को दशगजा नजिकै डोजर लगाएर गहिरो नाली खन्दै र तारबारको लागि पोल गाड्न फेरि सुरु गरेको छ ।  भारतीय दुधुवा निकुञ्जका डीडी महावीर कौजलगीको निर्देशन पछि नेपाल-भारत सीमाको दशगजा नजिकै अन्तरास्ट्रिय कुटनैतिक मर्यादा उलंघन गर्दै भारतीय पक्षले डोजर चलाउन सुरु गरेको हो ।
अन्तरास्ट्रिय मर्यादा अनुआर द्विदेशिय सीमा नजिक संरचना निर्माण गर्नु परे द्विपक्षीय सहमती आबश्यक भए पनि डोकेबजार स्थित दशगजा क्षेत्रमा बल मिच्याइ गरेर भारतीय पक्षले खन्न सुरु गरेको हो ।
नौ दिन अघि सीमावर्ती भारतीय बजार गौरीफन्टामा नेपाल-भारतका प्रशासनिक र सुरक्षा अधिकारी बीच अर्को बैठकबाट निश्कर्ष  निकाल्ने सहमति पछि स्थगित भएको थियो ।
एकाएक भारतीय पक्षले सहमति नगरी बल मिच्याइ गर्दै अन्तरास्ट्रिय जैविक मार्गको प्रवेश द्वारमै वन्यजन्तुको आवागमनै रोकिने गरि संरचना निर्माण गर्न नपाउने अन्तरास्ट्रिय सन्धी सम्झौता उलंघन गरेको छ ।
एक साता अघि उत्पन्न समस्याको हल निकाल्न अर्को बैठक बस्ने सहमती भएको तर फेरि खन्न सुरु गरेको बारे आफुलाई कुनै जानकारी भारतीय पक्षले नदिएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले बताए । उनले भने -यो घटनाको बारे आफुले प्रदेश सरकार र केन्द्रीय सरकारलाई जानकारी गराउने छु । सरकारले के निर्णय गर्छ त्यस पछि नै टुंगो लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताए ।
द्विदेशिय सिमाना नजिक सहमति नगरी कुनै संरचना बनाउन नमिल्ने भए पनि कञ्चनपुरको दक्षिणी क्षेत्रका दर्जनौ स्थानमा भारतीय पक्षले पटकपटक बल मिच्याई गर्दै आएको छ ।
हालै कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोकेबजारमा भारतीय पक्षले गरेको हस्तक्षेपका विरुद्ध केन्द्रिय र प्रादेशिक सरकारले कुनै पहल नगेरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।  पुनर्वासको डोकेबजारमा भारतीय पक्षले गरेको हस्तक्षेपको बिरुद्ध काँग्रेसले बिरोध कार्यक्रम गर्ने नेता दिवानसिंह बिष्टले बताएका छन् ।
नेपाली काँग्रेसका नेता तथा पुर्व साँसद दिवानसिंह बिष्टले भने-हामी अस्ति भर्खरै भएको सीमा हस्तक्षेपको विरुद्ध मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको भोलि पल्टै सीमामा डोजर चलाउने काम भएको छ । सीमामा भएको हस्तक्षेप रोक्न सरकारले पहल गरेको छैन ।
भारतीय वन बिभागद्वारा खनिएको नाली र बाँध जस्तै देखिने डिल अन्तरास्ट्रिय मान्यता बिरुद्ध भएको छ । अग्लो डिलका कारण पानीको निकास थुनिदा नेपाली भुभागमा डुबानको खतरा बढेको छ । शनिबार दिउँसो देखि एकलौटी रुपमा भारतीय पक्षबाट दशगजामा डोजर चलाइए पनि रोक्न नेपाली पक्षबाट कुनै पहल गरिएको भने थिएन । स्थानीय मदन थापाले भने  सीमामा निर्वाध भारतीय डोजर चल्यो नेपाली सरकार बेखबर थियो ।