उम्मेदवार टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा बस्दै

0
861

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका उमेदवारको टुंगो लगाउन नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । आगामी मंसिर १४ गते कास्की, भक्तपुर, दाङ र बाग्लुङमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम टुंगो लगाउन आइतबार पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा पदाधिकारी बैठक बोलाइएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उमेदवारको अन्तिम टुंगो लगाउन दिउँसो ३ वजेका लागि पदाधिकारी बैठक बोलाइएको जानकारी दिए ।
आइतबार रातिसम्ममा कास्कीका लागि प्रतिनिधिसभा सदस्य उमेदवार तथा भक्तपुर, दाङ र बाग्लुङका लागि प्रदेशसभा सदस्य उमेदवार टुंगो लाग्ने सम्भावना रहेको प्रवक्ता शर्माले जानकारी दिए । गत शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आशन्न उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उमेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको थियो ।
प्रतिनिसभा सदस्यका लागि कास्की–२ बाट १६ जना र प्रदेशसभा सदस्यका लागि भक्तपुरबाट १०, दाङबाट १४ र बाग्लुङबाट चार जना आकांक्षीको नाम सिफारिस भएको छ ।