मर्दीखोलाकाे ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

पाेखरा ।    पोखरा महानगरपालिका वडा नं २५ स्थित मर्दी खोलाको ड्याममा बिहिबार दिउसो पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । पौडी खेल्न गएका माछापुच्छ«े गाउँपालिका–६ अस्तामका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । साथीहरुका साथमा पौडी खेल्ने क्रममा दिउसो २ बजेको समयमा दुई जना एक्कासी डुबेर बेपत्ता भएको सूचनापछि सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट गएको गोताखोर सहितको उद्धार टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बल, नेपाल नं २४ गण हेडक्वार्टर कालिका कास्कीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन भए नभएको बारे ख्याल गर्न जरुरी

पोखरा ।   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव अधिकारको सवालमा आफू सचेत हुनुपर्ने र अरूको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।राष्ट्रिय मानव अधिकार आयोगको २५ औं वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख भट्टले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन भए नभएको बारे ख्याल गर्न जरुरी रहेको बताउनुभयो । सबैले जिम्मेवारीपूर्वक आफ्नो हक प्रयोग गर्दा मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिनेमा प्रदेश प्रमुख भट्टको जोड छ । कार्यक्रममा बाेल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले मुलुकमा मानव अधिकार संस्कृतिको विकास गर्दै मानव अधिकारको सम्मान र संरक्षण गर्ने सवालमा  आयोगले आफ्नो स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान गर्दै आइरहेको बताउनुभयाे । मानव अधिकार मानिसले जन्मसिद्ध रूपमा प्राप्त गरी स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने आधारभूत अधिकार रहेको र यी अधिकारहरू मानिसको मानव मर्यादा, इज्जत र प्रतिष्ठाका लागि सिर्जित भएको हुँदा मानिसलाई मानिस भएर बाँच्नका लागि अपरिहार्य रहेको उहाँको भनाई छ ।

गण्डकी शतकुण्डीय गायत्री कोटिहोममा देवी प्रतिभाको प्रवचनले भक्तजन आनन्दित  

 पाेखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमामा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाको कथा वाचनले भक्तजनको मन लोभ्याएको छ । यसअघि १४ दिन कथा वाचन गरेर भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वर सँगै भक्तजनको भेट्नेको ताती नै लागेको छ ।
देवी प्रतिभाले बिहानको समयमा भक्तजनमा भेट दिने गरेकी छन् । जसले गर्दा भक्तजनले उनलाई घण्टौँ कुरेर प्रत्यक्षे भेट्ने गरेका छन् । कोटिहोममा जव देवी प्रतिभाले प्रवचन सुरु हुन्छ, तब भक्तहरू आनन्दित भएर पुरै समय कथा श्रवण गर्ने गरेका छन् । यसैले पनि महायज्ञ उत्तरार्ध तर्फ आउँदै गर्दा भक्तजनको उपस्थिति मन लोभ्याउँदो खालको छ ।
सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने देवी प्रतिभाले हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्न सक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै भक्तजनलाई मन्त्रमुग्ध पार्न सफल भएकी छिन् । उनका कथा वाचनले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाउँदै लाखौँ भक्तजनलाई भक्तिको रसमा चुर्लुम्म डुबाएको छ ।
भक्तजनको अपार प्रेमलाई देखेर भारतमा कथा विश्राम गरे व्यासपिठ बाट उठेर हजारौँ किलोमिटर यात्रा गरेर विश्राम पनि नगरी सिधा पुन कथा वाचन गर्न आएको बताउँदै गर्दा भक्तजनलाई भावुक बनाएको थियो ।
‘जुन प्रेमले महाराजश्रीले बोलाउनुभयो मलाई त यस्तो लाग्छ जुन दिन म जाँदै थिए यहाँबाट पूज्य महाराजश्रीले भन्नुभएको थियो कि देवी जी आज यस्तो लागेको छ जस्तो आफ्नो बहिनिलाई बिदाइ गर्दैछु’ उनले भक्तजनलाई भनिन् ‘त्यो भाव महाराजश्री को थियो महाराजश्री बोलाउनुभयो अनि हजुरहरूले बोलाउनुभयो, र म यहाँ आए । हजुरहरूको मायाले मलाई यहाँ आउन मजवुद भए ।’
कथा वाचनका क्रममा एक वार जोड से वोल दि जे न, थोडा प्यार से वोल न जी,  पोखरावाला वोल दो न  भन्ने उनको मधुर स्वरले भक्तजनलाई कोटिहोम आउन बाध्य बनाउने गरेको महायज्ञका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।
उनीसँगै नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचीका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासीले जेठ १७ देखि जेठ २६ गतेसम्म कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । कोटिहोममा देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तहरूले श्रृतिमधुर स्वरमा प्रवचन तथा सन्देश दिने गरेका छन् ।
बौद्धिक अनुष्ठान फाउन्डेसन, काभ्रे नेपालबाट नारायण प्रपन्न आचार्य, सञ्जय कोइराला, हरि प्रपन्न आचार्य,  शिव दत्त रेग्मी , प्रिया दासी लगायत जनप्रतिनिधि, समाजसेवी उद्योग व्यवसायीले कोटिहोमको दर्शन गरेका थिए ।
कोटिहोममा दुर्गा मन्दिर व्यवस्थापन समिति पोखरा १७ बाट १ लाख १ हजार ११, याम कुमारी गुरुङ स–परिवार पोखरा ८ बाट ५१  हजार  ५१, महा विष्णु प्रधान पोखरा १४ बाट २५ हजार २ सय ५२, मातृकेश्वर एकता भवन समूह पोखरा २५ हेमजाबाट ३० हजार ५, विष्णु भट्टराई पोखरा ५ बाट २५ हजार ५ सय ५५, शिवलाल पराजुली पोखरा ६ बाट २५ हजार ५, खहरे आमा समूह पोखरा ६ बाट २५ हजार ५ सय ५, रानाभाट समाज इकाई स परिवार पोखरा १७ बाट २५ हजार ५ सय ५५, चेतनशील पुन महिला समूह बाट ३० हजार ८ सय २५, नमुना आदर्श आमा समूह पोखरा ५ बाट २५ हजार ५ सय ५५, देविस्थान आमा समूह  पोखरा २५ हेमजा बाट २५ हजार ५ सय ५५, नमुना आदर्श आमा समूह पोखरा कास्की बाट १५ हजार १ सय १५ रकम सहयोग भएको छ ।
आइतबार देखि सुरु भएको राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिताले पनि कोटिहोममा देशभरका विद्यालयबाट शिक्षक तथा विद्यार्थीहरूको पनि सहभागिता रहेको छ । कोटिहोममा कास्की विद्यालयका विद्यार्थीहरूको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ ।
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षक रहेको उक्त प्रतियोगितामा देशभरबाट ९० जना प्रतियोगीको सहभागिता रहेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए। प्रतियोगितामा आज ३१ जना प्रतियोगीले आफ्ना भनाई राखेका थिए ।
 प्रतियोगितामा पूर्व मेची देखि पश्चिम महाकाली सम्मको सहभागिता रहेको छ । प्रतियोगितामा भोलि (बुधवार) डा. तारप्रसाद गिरी र डा. तुलसी प्रभासले विद्यार्थीलाई विशेष प्रशिक्षण दिने भएका छन् । निःशुल्क रूपमा हुने प्रशिक्षणमा लाभ लिन विद्यार्थीलाई आग्रह गरिएको छ।
मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन भएको हो ।
अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता जारी छ ।
कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
उनका अनुसार कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ), रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ,  गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्वशीर्ष पाठ पारायण, १०८ आवृती हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको छ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

पोखरा  । पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । नगर प्रमुख धनराज आचार्यले एक समारोहका बिच सो घोषणा गर्नुभएको हो । नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष नगरभित्रका सबै बालबालिकाहरूले तोकिएका खोपहरू प्राप्त गरेको सुनिश्चितता सहित यस्तो घोषणा गर्ने गरिन्छ ।
नगर प्रमुख आचार्यले बालबालिकाहरूको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका खोपहरू सहित स्वास्थ्य सम्बन्धी सेवाहरू समयमा नै उपलब्ध गराउनु पर्ने दायित्व प्रति आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । बालबालिकाहरूका लागि आवश्यक खोप तथा पोषणका कार्यक्रमहरू प्रभावकारी ढङ्गले सञ्चालन गर्न उहाँले स्वास्थ्यकर्मीहरूलाई निर्देशन समेत दिनुभयो । स्वास्थ्य सम्बन्धी अभियानहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुको भूमिका उल्लेखनीय हुने गरेको बताउँदै उहाँले पूर्ण खोपको सुनिश्चिततामा समेत उनीहरूको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जुदेवी गुरुङले बालबालिकाहरूका लागि खोप एक प्रभावकारी र अत्यावश्यक कार्यक्रमका रूपमा सञ्चालन गरिएको बताउनुभयो । महानगरपालिका क्षेत्रमा रहेका सबै बालबालिकाहरूलाई समयमा नै खोप उपलब्ध गराउने दायित्व प्रति आफूहरू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । बालबालिकाको स्वास्थ्य सुरक्षा विना स्वस्थ नागरिकको सामाजिक आवश्यकता पूर्ति गर्न नसकिने उहाँले बताउनुभयो ।
स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले आफूहरूको महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता सहित दिगोपना घोषणाका लागि निरन्तर अभियानहरू सञ्चालन गरेको बताउनुभयो । विगत एक वर्षको अवधिमा ०–१५ महिनासम्मका ५ हजार ३४१ र १६–२३ महिनासम्मका ४ हजार १५० बालबालिकाहरूको घरघरमा पुगेर खोपको अवस्था यकिन गरिएको स्वास्थ्य महाशाखा प्रमुख पौडेलले बताउनुभयो । अभियानका क्रममा जन्मदेखि कुनै पनि खोप प्राप्त नगरेको एक जना बच्चा फेला परेको र उक्त बच्चालाई समेत खोपको पहुँचमा ल्याइएको महाशाखाले जनाएको छ । यस क्रममा ४१ जना बालबालिकाहरूले पूर्ण खोप प्राप्त नगरेको पाइएपछि उनीहरूलाई समेत पूर्ण खोप लगाइएको छ ।
पोखरा महानगरपालिका वडा नं.१२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले बालबालिकाहरूको स्वास्थ्य प्रवर्द्धन र आधारभूत खोपको सुविधा उपलब्ध गराउन सबै वडा कार्यालयहरू प्रतिबद्ध रहेको बताउनुभयो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीकी अध्यक्ष भीमा पौडेलले बालबालिकाहरूलाई आवश्यक खोप तथा पोषणका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने हरेक अभियानहरूमा महिला स्वयमसेविकाहरुको भूमिका उल्लेखनीय हुने गरेको बताउनुभयो । नगर क्षेत्रका खोप लगाउनु पर्ने बालबालिकाहरूलाई खोप लगाएको सुनिश्चित भएपछि महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको जनस्वास्थ्य अधिकृत तेजाखर लम्सालले बताउनुभयो । कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले बालबालिकाको स्वास्थ्य प्रवर्द्धनको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएका छन् ।
पूर्ण खोप भन्नाले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनु पर्ने सबै खोपहरू, सबै बालबालिकाहरूले पूर्ण रूपमा लिएको एवं पछि तालिकामा अन्य खोपहरू थप भएमा सो समेत लिएको अवस्थालाई बुझिन्छ भने पूर्ण खोप सुनिश्चितताको लागि १६ महिना देखि ५९ महिना सम्म उमेरको बालबालिकाहरूमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ ।