सरकारले तीन वर्षभित्रमा, झोलुङ्गे पुल निर्माण गरी सक्ने
सरकारले तीन वर्षभित्रमा सबैै ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने गरी काम अघि बढाएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले तीन वर्षमा निर्माण हुन बाँकी रहेका दुई हजार ४०० झोलुङ्गे पुल निर्माण गर्ने गरी काम अघि बढाइएको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् बैठकको पहिलो बैठकबाट तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्ने निर्णय गर्नुभएको थियो ।
सरकारले आगामी तीन वर्षमा सर्वसाधारणको आवतजावतमा सजिलो बनाउनका लागि सबैै ठाउँमा तुइनको सट्टा र झोलुङ्गे पुल बन्न बाँकी रहेका ठाउँमा निर्माण गर्ने गरी काम अघि बढाएको हो ।
सरकारले तीन वर्षमा ती दुई हजार ४०० झोलुङ्गे पुल निर्माण प्रदेश र स्थानीय तहको सहयोगमा गर्नेछ ।
राखेप उपाध्यक्षमा तिमल्सिना
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकूद परिषद्को उपाध्यक्षसहित तीन सदस्यलाई आज शपथ खुवाउनुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित कार्यक्रममा नवनियुक्त सदस्यत्रय पीताम्बर तिमल्सिना, इन्दिरा निरौला र राजेश गुरूङलाई मन्त्री विश्वकर्माले शपथ खुवाउनुभएको हो ।
यही कात्तिक २६ गतेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष तिमिल्सिना, गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी निरौलालाई नियुक्त गरेको थियो । सदस्यको शपथ लिएलगत्तै मन्त्रालयले तिमल्सिनालाई राखेपको उपाध्यमा नियुक्त गरेको छ ।
सो अवसरमा मन्त्री विश्वकर्माले नजिकिँदै गरेको आठाँै राष्ट्रिय खेलकूद तथा १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)लाई ध्यानमा राखेर काम गर्न नवनियुक्त सदस्यलाई निर्देशन दिनुभयो । “पूर्वाधार अभावले हामीले केही महीना आठौँ राष्ट्रिय खेलकूदको मिति सारेका छौँ ।” मन्त्री विश्वकर्माले भन्नुभयो, “अब सबैको ध्यान पूर्वाधारको चाँडो निर्माण र आठौँ राष्ट्रिय खेलकूद तथा सागको सफलतापूर्वक सम्पन्न गर्नमा तपाईंहरुको ध्यान केन्द्रित होस् ।” कार्यक्रममा राखेप सदस्यसचिव केशवकुमार विष्ट तथा मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।
विश्व बैंकसँग अठार अर्बको सम्झौता
पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैंकसँग १८ अर्बको सम्झौता गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडा र विश्व बैंकका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा आज अर्थमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थ सचिव राजन खनाल र नेपाल, बङ्गलादेश र भूटानका लागि बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गर्नुभयो ।
दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्ने सिलसिलामा यातायात क्षेत्र सुधारका निम्ति निर्माण गरिने पुलमा लगानी गर्न बैंकले १३ अर्ब ३० करोडभन्दा बढी रकम ऋणस्वरुप उपलब्ध गराउनेछ । यो रकमबाट ४७७ भन्दाबढी पुल निर्माण गरिनेछ ।
नेपालको रणनीतिक सडक सञ्जालका ४३३ पुलका निम्ति प्रदान गरिने ऋणबाट ९० वटा पुलको मर्मतसम्भार, दुर्घटनाका जोखिम कम गर्न १८० वटाको स्तरोन्नतिका साथै ८० वटा दुईलेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मतसम्भार एवं पुनःस्थापनामा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
त्यसैगरी समावेशी विकास तथा महिलालाई केन्द्रमा राखेर खाद्य तथा पोषण सुदृढीकरणका लागि बैंकले चार अर्ब ७० करोड अनुदान प्रदान गर्ने भएको छ ।
केन्द्रीकृत र एकात्मक नीतिका कारण शैक्षिक बेरोजगार समस्या बढ्यो : (नेकपा) अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।
बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले आज गरेको कार्यक्रममा अध्यक्ष दाहालले केन्द्रीकृत र एकात्मक नीतिका कारण नेपालमा शैक्षिक बेरोजगारको समस्या बढेको उल्लेख गर्नुभयो ।
शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको दायित्व भएको बताउँदै अध्यक्ष दाहालले शैक्षिक क्षेत्रका समग्र समस्या समाधानका लागि सरकारले नयाँ नीति ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।
प्रतिभा पलायन रोक्ने, रोजगारी सिर्जना गर्ने, स्वरोजगार बन्ने, देश विकासका लागि योग्य र दक्ष जनशक्ति तयार पार्न मद्दत पुग्ने शिक्षा नीति बनाइने अध्यक्ष दाहालको प्रतिबद्धता थियो ।