दमक, कारको ठक्करबाट झापाको दमकमा आज एक पैदलयात्री महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा कारले ठक्कर दिँदा खोटाङ साकेला गाँउपालिका–४ का ५५ वर्षीया सीतामाया खड्काको मृत्यु भएको हो । खड्का दमक–९ मा बस्दैआउनुभएको थियो । बाटो काट्ने क्रममा पूर्वबाट आउँदै गरेको बा१७च ८१७२ नं को कारले खड्कालाई ठक्कर दिएको हो । ठक्करबाट सख्त घाइते खड्काको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । –––
बोक्सी आरोप लगाउने पक्राउ
बोक्सी आरोप लगाउँदै महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाका–५ का वडासचिव टीकाराम आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । तिलोत्तमा–४, नयाँमिल निवासी वडासचिव र उनको परिवारले बोक्सी आरोप लगाउँदै कुटपिट गरेको छिमेकी डम्बरकुमारी न्यौपानेले उजुरी गरेपछि सचिव आचार्यसँगै उहाँकी श्रीमती र छोरीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय, बुटवलमा राखिएको र जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । वडासचिव आचार्यले भने आफूमाथि झूठा आरोप लगाएर फसाइएको दाबी गर्नुभएको छ ।
३२ वर्षे उमेर हदको निर्णय अधिबेशन रोक्ने प्रपञ्च :महामन्त्री काफ्ले
पार्टी नेतृत्वले नै नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औं अधिबेशन हुन नदिएको महामन्त्री कुन्दन काफ्ले समूहले आरोप लगाएको छ । आज र काठमाडौंमा पत्रकार सम्मेलन गरी विभिन्न प्रपञ्च रचेर पार्टी नेतृत्वले अधिबेशन रोकेको आरोप लगाउँदै तत्कालन अधिबेशन गर्ने वातावरण मिलाउन कुन्दन समूहले दवाव दिएको हो । नेविसंघले सर्वसम्मत रुपमा पारित गरेको विधानलाई पार्टीका नेताहरुकै असहमति हुँदाहुँदै जवरजस्ती ३२ वर्षे उमेर हदको निर्णय गर्नु अधिबेशन रोक्ने प्रपञ्च भएको समूहको आरोप छ । अहिले पनि आफ्नै गोजीका मान्छेलाई टिपेर टीका लगाइदिने कुचेष्टा गरिएको भन्दै कुन्दन समूहले कुनै हालतमा टिके प्रथा नमान्ने बताएको छ । ‘आफ्नो सीमित स्वार्थ पूरा गर्न गोजीबाट टपक्क टिपेर टीके प्रथामार्फत दास जन्माउँदै नेविसंघको नेतृत्व चयन गर्ने कुचेष्टा नगर्न पार्टी नेतृत्वलाई आग्रह गर्दछौं ।’ कुन्दन समूहले प्रकाशित विज्ञप्तिमा भनिएको छ ।
मानवसिर्जित विपद् न्यूनीकरणमा सरकारले नीतिगत पहल गर्ने : गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले मानवीय लापर्बाहीका कारण हुने क्षति न्यूनीकरणमा सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ ।
बेनीस्थित जिल्ला प्रशासन कार्यालय म्याग्दीमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको उद्घाटनमा उहाँले मानवसिर्जित विपद् न्यूनीकरणमा सरकारले नीतिगत पहल गर्ने उल्लेख गर्नुभयो ।
उहाँले जथाभावी सडक निर्माण, मापदण्ड पूरा नगरी भवन बनाउनेजस्ता कारणले हुने विपद्बाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन नियमावली परिमार्जन गर्न लागिएको जानकारी दिनुभयो ।
विकास निर्माणलाई तीव्रता दिन सरकारले सुरक्षा व्यवस्थालाई सशक्त बनाउन विशेष कार्ययोजना बनाउन लागेको उल्लेख गर्दै गृहमन्त्री थापाले मदिरा र लागुऔषध न्यूनीकरणका लागि प्रहरीले स्थानीय तह र समुदायसँग समन्वय गरेर अभियान शुरु गरेको बताउनुभयो ।
कालोबजारी नियन्त्रणका लागि सरकार सशक्तरूपमा अघि बढ्ने बताउँदै गृहमन्त्री थापाले सुरक्षाको पहुँच विस्तारका लागि प्रहरी चौकी थप गर्ने बताउनुभयो ।
म्याग्दीको पर्यटन र जलविद्युत् क्षेत्रको प्रचुर सम्भावनालाई समृद्धिमा रूपान्तरणका लागि सरकार प्रतिबद्ध रहेको मन्त्री थापाको भनाइ थियो ।