मङ्सिर अन्तिमसम्ममा पार्टी एकता : झलनाथ खनाल
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तलसम्ममै एकता गरिसकिने बताउनुभएको छ ।
उहाँले पार्टी एकताका लागि नेकपाले निर्माणका गरेका कमिटीले काम गरिरहेकाले तल्लो एकाइसम्म एकता हुन धेरै समय नलाग्ने जानकारी दिनुभयो ।
इलाम सदरमुकाममा आज आयोजित चियापान समारोहमा खनालले एकताका सबै काम भइसकेकाले अब निर्णय हुन मात्र बाँकी रहेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले अहिलेको सरकार नै राष्ट्रिय सरकार भएको उल्लेख गर्नुभयो ।
गृहकार्यमा निर्वाचन आयोग
निर्वाचन आयोग अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउनका लागि गृहकार्यमा जुटेको छ ।
त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन ÷अनुसन्धान शुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिनुभयो ।
अर्थ मन्त्रालयबाट उपलब्ध बजेटबाट अर्काे मुलुकमा गएर अहिले अध्ययन गर्न जान सक्ने अवस्था नरहे पनि अदालतको निर्देशनलाई पालना गर्न आयोगले आफ्नो स्रोत र साधनले भ्याएसम्म अध्ययन गर्ने कार्य शुरु गरिएको उहाँले बताउनुभयो ।
वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई मात्र मतदानको अधिकार सीमित नगरी विभिन्न उद्देश्यले विदेशमा रहेका सबै नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक प्रबन्ध गरी व्यवस्थित गर्नेतर्फ आवश्यक कदम चाल्नु भनी गत चैत ७ गते सर्वाेच्च अदालतले सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।
नेपाल जस्तै बाहिर कामदार पठाउने एशियाली मुलुकमा मतदाता अधिकारसम्बन्धी व्यवस्थाको अध्ययन गरी हामीसँग मिल्ने प्रणाली हेरेर मात्र प्रक्रिया शुरु गर्न उपयुक्त हुने आयोगले सोच बनाएको छ ।
नेपाली युवा क्रिकेटरलाई विदेशी प्रशिक्षकले प्रशिक्षण दिने
नेपाली युवा क्रिकेटरलाई विदेशी प्रशिक्षकले प्रशिक्षण दिने भएका छन् ।
राईज अफ द क्रिकेटिङ स्टार्स वीथ जोन्टी रोड्स कार्यक्रम अन्र्तगत पर्सिदेखी दुई विदेशी प्रशिक्षकले आगामी मंसिर ७ गतेसम्म प्रशिक्षण दिनेछन् ।
राजधानीमा आज पत्रकार सम्मेलन गरी नेपाल क्रिकेट स्कूलका प्रवन्ध निर्देशक करण घिमिरेले दक्षिण अफ्रिकी पूर्व क्रिकेटर जोन्टी रोड्स र अफगानिस्तान तथा वेस्ट ईन्डिजका पूर्व फिल्डिङ प्रशिक्षक यान मारोन प्रशिक्षण दिन काठमाडौं आइसकेको जानकारी दिए ।
नेपाल क्रिकेट स्कूल र स्र्पोट्स् एड प्रा.लि.को आयोजनामा हुने कार्यक्रममा ८० जना युवा सहभागी हुनेछन् ।
कार्यक्रममा सहभागी हुन रजिष्ट्रेशन शुल्क ५० हजार रुपैयाँ तोकिएको छ ।
उनीहरुले १६ र १९ वर्ष मुनिका राष्ट्रिय टोलीका खेलाडीलाई पनि प्रशिक्षण दिनेछन् ।
प्रेस युनियन कैलालीको अध्यक्षमा देउवा
दीपेन्द्र बस्नेत धनगढी,
नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा श्रवण देउवा चयन भएका छन् । सोमबार समापन भएको युनियन कैलालीको पाँचौं अधिवेशनबाट श्रवण देउवाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
सर्वसम्मत ढंगबाट चयन भएको कार्यसमितिको उपाध्यक्ष खुला मा दिनेश दहित र उपाध्यक्ष महिलामा भावना जोशी रहेका छन् ।
त्यस्तै, कार्यसमितिको सचिवमा सीताराम ओझा, सहसचिव महिला मा अनिता चौधरी र कोषाध्यक्षमा सुनील आउजी चयन भएका छन् । सदस्यहरूमा गगन ऐडी, कृतबहादुर बिष्ट, शंकर बोहरा, प्रदीप पाठक, धर्मेन्द्र बिष्ट, कैलाश कठायत र शेरबहादुर ऐर चयन भएका छन् ।
त्यस्तै, सदस्यमा रञ्जित लामा, हेमराज भट्ट, विवेक नागरी, विवश चौधरी, सविता बुढा, रूपा साउँद र उर्मिला अवस्थी चयन भएका छन् ।
अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उमिदप्रसाद बागचन्द, कर्ण शाह, सिद्धराज भट्ट, भरत शाह, दीर्घराज उपाध्याय, टिएन जोशी, मोहन बुढाऐर, टेकराज जोशी, योगेश रावल, डिल्लीराज जोशी, प्रेम चौधरी, कपिल भट्ट, टीकाराम सुनार, चेतराज ओझा रोज, दीपक उपाध्याय, दुर्गाकुमारी सिंह, सुशीला देउवा र कमला विक चयन भएका छन् ।
त्यस्तै, प्रदेश प्रतिनिधिमा मनमोहन स्वाँर, हरि रेग्मी, हिमाल जोशी, नरेन्द्र भट्ट, भीम चौधरी, करुणा जोशी, प्रयागराज जोशी, तपराज बिनाडी, अनत चौधरी, विष्णु दौल्याल, तिलक ओझा, कृष्ण कुँवर, तपेन्द्र भूषाल, जयबहादुर बुढा, रामबहादुर चौधरी, सागर कुस्मी, प्रेमलाल चौधरी, राजेन्द्र जोशी, गीता जोशी, कमला चौधरी, लक्ष्मी बम, शान्ति जैशी ओझा, शान्ति ऐर र विनिता चौधरी चयन भएको मुख्य निर्वाचन अधिकृत भरत सिंहले जानकारी दिए ।
सोमबार नै अधिवेशनको निर्वाचन नतिजा घोषणा तथा प्रमाणपत्र वितरण कार्यक्रम भएको थियो ।
सो अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी धनगढी उपमानगरपालिका प्रमुख नृपबहादुर वडले पाँचौं अधिवेशनले संस्थाका लागि एकताको महत्त्वपूर्ण सन्देश दिएको बताए । उनले अब युनियनले थप उचाई प्राप्त गर्ने चर्चा गरे ।
कार्यक्रममा युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक आचार्य, महासचिव अजयबाबु सिवाकोटी, उपमहासचिवद्वय प्रेम केसी र भीष्मराज ओझा, अधिवशेनका केन्द्रीय प्रतिनिधि रामबहादुर कुँवर, नेपाली काँग्रेस अछामका सहसचिव वेदप्रकाश तिमिल्सिना, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बम, युनियनका केन्द्रीय सदस्य जगत साउँद, महासंघका पूर्व उपसभापति उमीद बागचन्द, पूर्व क्षेत्रीय संयोजक मनमोहन स्वाँर र महासंघका प्रदेश सचिव योगेश रावलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम मुख्य निर्वाचन अधिकृत सिंहको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन निर्वाचन अधिकृत लक्ष्मीप्रसाद ओझाले गरेका थिए ।