लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व

चालू आर्थिक वर्ष २०७५÷७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन गरेको छ । चालू आवको साउनदेखि असोजसम्मका लागि कार्यालयले रु ३७ अर्ब ७५ करोड ३२ लाख लक्ष्य पाएकामा रु ४३ अर्ब १९ करोड १७ लाख राजश्व सङ्कलन गर्न सफल भएको छ । सङ्कलित राजश्व लक्ष्यभन्दा १३ प्रतिशत बढी रहेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले जानकारी दिनुभयो । सङ्कलित राजश्व गत आवकोे साउनदेखि असोजसम्मको तुलनामा ४२ प्रतिशतभन्दा बढी हो । आव २०७४÷७५ को साउनदेखि असोजसम्ममा रु ३० अर्ब ५६ करोड ३३ लाख राजश्व सङ्कलन भएको थियो । देशको प्रमुख भन्सार नाका भएर आयात निर्यातमा वृद्धि भएसँगै राजश्व सङ्कलनमा सुधार आएको खत्रीको भनाइ छ । चालू आवकोे असोजमा मात्र लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ । कार्यालयले असोजका लागि रु १२ अर्ब एक करोड २४ लाख लक्ष्य पाएकामा रु १६ अर्ब ५४ करोड ६७ लाख राजश्व सङ्कलन गरेको छ ।

पत्रकार सुरक्षा निर्देशिका जारी हुन्छ : आयोग अध्यक्ष शर्मा

  राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पत्रकार सुरक्षाका लागि आयोगले छुट्टै पत्रकार सुरक्षा निर्देशिका तयार गरिरहेको जानकारी दिए। पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा फ्रिडम फोरमद्वारा आज यहाँ आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक कार्यक्रममा उनले आयोगले तयार गर्न लागिएको सो निर्देशिकाको मस्यौदामाथि विभिन्न मानवअधिकार सङ्घसंस्थासँग सुझाव लिइरहेको बताए । अध्यक्ष शर्माले पछिल्लो समय मुलुकमा मानवअधिकारको अवस्था बिग्रँदै गएको प्रति चिन्ता व्यक्त गर्दै मुलुकको विभिन्न कालखण्डमा अपराधीले आममाफी पाउँदै जाँदा मानवअधिकारको अवस्था कमजोर हुँदै गएको धारणा व्यक्त गरे । सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चला झाले कानुन संशोधनको अभावमा आयोगलाई काम गर्न गाह्रो परिरहेको बताए । मानवअधिकारकर्मी सुबोधराज प्याकुरेलले विकास भनेकै सामाजिक न्याय र दिगोपन भएको बताए । नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले राजनीतिक नेतृत्वले कारबाही गर्ने इच्छाशक्ति नदेखाउँदा पत्रकारविरुद्ध दण्डहीनता बढ्दै गएको बताए । वरिष्ठ पत्रकार हरिहर विरही, फ्रिडम फोरमका प्रमुख तारानाथ दाहाल, अध्यक्ष हरिविनोद अधिकारी, प्राध्यापक चिरञ्जीवी खनाललगायतले नेपालको पत्रकारिता मानवअधिकार प्रवद्र्धन गर्नेतिर उन्मुख हुनुपर्नेमा जोड दिए ।   ‘खोज पत्रकारिता पुरस्कार’ रमेश र ‘साहसिक पत्रकारिता पुरस्कार’ चौधरीलाई प्रदान यसैगरी फ्रिडम फोरमले यस वर्षको ‘खोज पत्रकारिता पुरस्कार’ र ‘साहसिक पत्रकारिता पुरस्कार’बाट दुईजना पत्रकारलाई सम्मान गरेको छ ।     ‘खोज पत्रकारिता पुरस्कार’ हिमाल खबरपत्रिका विशेष संवाददाता रमेश कुमार (काठमाडौँ) र ‘साहसिक पत्रकारिता पुरस्कार पत्रकार रामविकास चौधरी (रुपन्देही)लाई प्रदान गरेको थियो ।   विशेषगरी खोजपत्रकारितामाफर्त देशको प्रशासनिक तथा आर्थिक नीति र तीनको कार्यान्वयनमा लुकेका, लुकाइएका विषयवस्तुलाई उधिनेर जनसमक्ष ल्याई राज्यका सम्बन्धित निकायबाट भएका कमिकमजोरी, विकृति, विसङ्गति, राज्य शक्ति तथा स्रोतको दुरुपयोग जस्ता विषयमा राज्यका निकाय तथा आम पाठकलाई सचेत गराइ नीति तथा व्यवहारमा सुधार ल्याउन र समग्र व्यवस्थापनमा सुशासन निर्माण गर्न योगदान पु¥याएवापत खोज पत्रकारिता पुरस्कार रमेश कमारलाई प्रदान गरिएको फ्रिडम फोरमले जनाएको छ ।   त्यसैगरी विभिन्न समयमा भौतिक आक्रमण तथा ज्यानको धम्कीका बावजुद निडर रही स्थानीय तहमा भएका प्रशासनिक तथा आर्थिक अव्यवस्था, विसङ्गति, स्रोतको दुरुपयोगजस्ता विषयमा निरन्तर चासो र खोजबिन गरी विभिन्न आमसञ्चारका माध्यमबाट समाचार प्रवाह गर्न मोफोसलमा निरन्तर सक्रिय रहेकाले चौधरीलाई ‘साहसिक पत्रकारिता पुरस्कार  पुरस्कार प्रदान गरिएको हो ।   प्रशंसापत्रसहित दुवै पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।  

नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन

 

काठमाडौँ,  नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको समयमा महाधिवेशन हुन नसकेको हो । नेविसङ्घको गत भदौमा बसेको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाए पनि पार्टीले आवश्यक निर्णय गर्न नसक्दा समस्या उत्पन्न भएको हो । नेविसङ्घ केन्द्रीय समितिको बहुमतको आधारमा उमेरहद हटाउने प्रस्ताव ल्याए पनि काङ्ग्रेसको केन्द्रीय समितिको बैठकले उमेरहद लगाउने निर्णय गरेपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले असन्तुष्टि जनाउँदै नोट अफ डिसेन्ट लेख्नुभएको थियो । त्यसपछि काङ्ग्रेसको केन्द्रीय समितिको बैठकसमेत हुनसकेको छैन । वर्तमान अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिको म्याद भदौ २ गते सकिएको भए पनि तीन महीनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएबमोजिम आगामी मङ्सिर २ गतेसम्मका लागि म्याद थपिएको थियो । नेविसङ्घले पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि असोज ७ गते देशभरका माध्यामिक विद्यालय र क्याम्पसमा अधिवेशन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेशन, असोज १५ मा क्षेत्र अधिवेशन, असोज २१ मा ७७ वटै जिल्लाको अधिवेशन, असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ मा सातै प्रदेशको अधिवेशन र कात्तिक १६ देखि १८ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने समयतालिका पार्टीलाई बुझाएको थियो । पार्टीका नेताहरु नै नेविसङ्घको उमेरहद र विधानमा विवादित बनेका कारण नेविसङ्घले कात्तिक १६ देखि १८ गतेसम्म तोकिएको महाधिवेशन हुननसकेको हो । नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्ले वर्तमान नेतृत्व ३२ वर्ष उमेरहदको कारण देखाएर महाधिवेशन टार्ने पक्षमा रहेको बताउनुहुन्छ । “केन्द्रीय समितिले अन्तिम रुप दिएको विधान मस्यौदालाई पन्छाएर नेतृत्वले आफू अनुकूल विधान संशोधन गर्न खोजेकाले महाधिवेशन हुन नसक्ने अवस्था आएको हो”, उहाँ भन्नुहुन्छ । नेविसङ्घका केन्द्रीय सदस्य नवराज त्रिपाठी काङ्ग्रेसलाई बलियो बनाउने र नेपालको विद्यार्थी आन्दोलनमा सशक्त भूमिका खेलेको नेविसङ्घलाई निर्वाचनविहीन गर्न नहुने बताउनुहुन्छ । “नेविसङ्घको विधान र नियमावलीलाई पार्टीले अड्काएर राख्न मिल्दैन”, उहाँ भन्नुहुन्छ । नेविसङ्घका अध्यक्ष महर नेविसङ्घको केन्द्रीय समितिले तोकिएकै समयमा महाधिवेशन गर्नका लागि विधान र नियमावली पार्टीलाई बुझाए पनि पार्टीले फाइनल नगर्दा निर्वाचन गर्न नसकिएको बताउनुहुन्छ । पार्टीले विधान र नियमावलीलाई अन्तिम रूप दिएर नेविसङ्घमा पठाए निर्वाचन गराउन आफू तयारी अवस्थामा रहेको उहाँको भनाइ छ । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक फोरमबाट काङ्ग्रेसमा प्रवेश गरेका विजयकुमार गच्छदार समूहसँगै नेविसङ्घमा एक महामन्त्रीसहित १५ केन्द्रीय सदस्य विस्तार गरेपछि नेविसङ्घको महाधिवेशन थप अनिश्चित बनेको हो । नेविसङ्घ नेता मोतीलाल भण्डारी महाधिवेशनको मुखमा अध्यक्षले कार्यसमिति विस्तार गर्दा नेविसङ्घको महाधिवेशन अन्योलमा परेको बताउनुहुन्छ । हरेक दुई÷दुई वर्षमा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने प्रावधान नेविसङ्घको रहेको छ । –––

रोकिएनन बलात्कारका घटना,सुनसरीमा फेरि ६ बर्षीया बालिका बलात्कृत

ईटहरी ।बलात्कारका घटनाहरु बाहिर आउने क्रम बढिरहेको छ । गत कार्तिक ७ गते  इटहरीमा १४ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा २६ बर्षीय नवीन बिक पक्राउ परेका थिए । इटहरीमा नै फेरि अर्की बालिका बलात्कृत भएको घटना बाहिरिएको छ । इटहरी ५ स्थित काव्यबाटिकाका १८ बर्षीय भवानी आचार्यले स्थानीय ६ बर्षीया बालिकालाई बलात्कार गरेको जानकारी बाहिर आएको हो  । कक्षा ११मा  अध्ययनरत  आचार्यले बालिकालाई जर्बजस्ती  करणी गरी बलात्कार गरेको स्थानीयबासीले जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक डिएसपी शिबकुमार श्रेष्ठका अनुसार घटना केही समय पहिलेको भए पनि शनिबार मात्र उजुरी परेपछि पीडक पक्राउ परेका हुन । घटनाको बिषयमा  थप अनुसन्धान भईरहेको डिएसपी श्रेष्ठले बताए