मुस्ताङका पर्यटक होटल खोज्दै बागलुङ

, बागलुङ,  पर्यटकीय जिल्ला म्याग्दी र मुस्ताङ घुम्न गएका पर्यटकले होटल खोज्दै बागलुङ आउन थालेका छन् । दशैँ तथा तिहारको समयमा म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेपछि होटल नपाउने समस्या बढेका कारण पर्यटक होटल खोज्दै बागलुङ आउन थालेका हुन् । म्याग्दी र मुस्ताङ आएका पर्यटकले त्यहाँ सबै होटल भरिएपछि पर्यटक होटल खोज्दै छिमेकी जिल्ला बागलुङ र पर्वत आउन थालेका हुन् । “मुस्ताङ र म्याग्दीमा यो सिजनमा धेरै पर्यटक जान्छन्” बागलुङका होटल व्यवसायी निलेश राजभण्डारीले भन्नुभयो, “त्यहाँ ठूलो क्षमताका होटल छैनन् त्यसैले होटल खोज्दै बागलुङ आउछन् ।” दशैँ तिहारबीचमा मुस्ताङ घुम्न आएका काठमाडौँका केशव लामिछाने म्याग्दी बास बसेर मुस्ताङ जाने योजनामा हुनुहुन्थ्यो उहाँले त्यहाँ होटल नपाउँदा बागलुङ फर्केर बास बस्नुपरेको बताउनुहुन्छ । यतिबेला बागलुङ जिल्लाका ठूला होटल मुस्ताङ र म्याग्दी घुम्न जाने पर्यटकले भरिएको होटल व्यवसायी सङ्घ बागलुङले जनाएको छ । “दशैँको भोलिपल्टदेखि म्याग्दी र मुस्ताङका सबैजसो होटल पर्यटकका लागि बुक भइरहेका छन्” होटल व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्यले भन्नुभयो, “मुस्ताङ जानका लागि म्याग्दी आउने पर्यटकलाई छिमेकी जिल्ला पर्वत तथा बागलुङका होटलमा पठाउने गरिएको छ ।” बागलुङमा ठूला क्षमताका होटल भए पनि मुस्ताङ र म्याग्दीमा ठूला क्षमताका होटल खासै छैनन् । मुस्ताङ जान आउने पर्यटक सिधै मुस्ताङ नगइकन म्याग्दीमा बास बस्नुले होटलको माग बढेको म्याग्दीका होटल व्यवसायी बताउँछन् । मुस्ताङबाट फर्कदा म्याग्दीको भुरुङ तातोपानी बस्ने योजना बनाएका फ्रान्सेली नागरीक डेविट होटल नपाउँदा बागलुङ बजारको पिस प्यालेसमा बास बस्न आएको बताउनुहुन्छ । दशैँ तिहारको समयमा म्याग्दी हुँदै मुस्ताङ जाने पर्यटक विगतका वर्षमा भन्दा यो वर्ष अत्यधिक भएको पर्यटन व्यवसायी बताउँछन् । प्रायजसो निजी गाडी तथा मोटरसाइकलमा आउने पर्यटक बागलुङ, म्याग्दी घुम्दै मुस्ताङ जाने गर्दछन् भने एजेन्सीमार्फत आएका पर्यटक सिधै मुस्ताङ जाने गरेका छन् । –––

अध्ययन र ‘करियर’ मा ध्यान दिनुपर्ने उमेरमा धेरै युवा मानसिक रोगका पीडित

  ललितपुर,  एकोहोरो टोलाउने र पढाइमा ध्यान नदिएको भन्दै एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक युवकलाई उनको अभिभावकले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पु¥याए । उपचारको क्रममा उनी कडा खालको मानसिक रोगबाट पीडित भएको पत्ता लागेको हो । केन्द्रका मनोचिकित्सक डा पशुपति महतले अभिभावकलाई उनलाई नियमित र समयमा औषधि खान सल्लाह दिए । अभिभावकले विभिन्न खालको उपचार गर्दासमेत रोग पत्ता नलागेपछि मानसिक रोगको अनुमान गरेको डा महतले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म लक्षणका आधारमा अभिभावकले सन्तानलाई मानसिक रोग लागेको छुट्टाउन सक्दैनन् ।” अध्ययन र ‘करियर’ मा ध्यान दिनुपर्ने उमेरमा धेरै युवा मानसिक रोगका पीडित छन् । देशभरमा कति मानसिक रोग पीडित छन्, भन्ने एकीकृत तथ्याङ्क छैन । स्वास्थ्य मन्त्रालयले केही समय अघिबाट मात्रै तथ्याङ्क सङ्कलन शुरु गरेको छ । मनोचिकित्सक र मानसिक रोग विशेषज्ञसम्म आउने बिरामीका आधारमा युवामा यो समस्या बढेको देखिएको हो । परिवारको मात्रै नभएर देशको समेत भविष्य निर्धारण गर्ने युवा मानसिक रोगका कारण कुनै पनि कार्य राम्रोसँग गर्न नसक्ने अवस्थामा रहेको डा महतले बताउनुभयो । समयमा उपचार नहुँदा सामान्य समस्यासमेत कडा खालका मानसिक रोगमा परिवर्तन भइसक्छ । उहाँले भन्नुभयो, “आफ्ना सन्तानलाई मानसिक रोग लाग्दा समयमा नै उपचार गराउनुपर्छ भनेर अभिभावकलाई सूसुचित गर्न खाँचो छ ।” आफूभित्र रहेको चिन्ता व्यक्त गर्न नसक्दा कतिपय युवाले आत्महत्यासमेत गरिरहेका छन् । कतिपय युवा भने चिन्ता कम गर्नकै लागि लागुऔषध र मदिरापान गरिरहेका छन् । अझैसम्म आम नागरिकले सडकमा बेवारिसे भएर हिँड्नेलाई मात्रै मानसिक रोगी मान्ने गरेको डा महतले बताउनुभयो । आफ्नो छोराछोरी असामान्य व्यवहार देखाइरहेको छ कि छैन भन्ने कुरा अभिभावकले नै ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । रोग हो भन्ने बुझेका अभिभावक स्वास्थ्य संस्थामा लैजानुभन्दा धामी, झाँक्री कहाँ जाने गरेका छन् । टिचिङ अस्पतालमा कार्यरत मनोचिकित्सक डा सरोज ओझाले देशभरमा कति मानसिक रोगी छन्, भन्ने एकीकृत तथ्याङ्क नभए पनि झण्डै २२ लाख युवा यो रोगबाट पीडित भएको अनुमान गरिएको बताउनुभयो । नेपालमा मात्रै नभएर धेरै विकासोन्मुख देशमा मानसिक रोगीको सङ्ख्या बढ्दै गएको छ । उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा धेरैले यो रोगको उपचार हुन्छ, भन्नेसमेत जानकारी नभएर रोग पालेर बसिरहेका छन् ।” नेपालमा वैदेशिक रोजगारीका कारण पनि धेरै खालका मानसिक समस्या बढेको डा ओझाले बताउनुभयो । वैदेशिक रोजगारीमा गएका व्यक्ति र उनको परिवारमा समेत अनेक मानसिक समस्या देखिरहेको छ । श्रीमान विदेश गएपछि श्रीमती हरेक दिन फोन कुर्ने र नआउँदा वा सम्बन्धमा समस्या आउँदा त्यसले चिन्ता बढाउने गर्छ । श्रीमान वैदेशिक रोजगारीमा जाँदा श्रीमतीमा धेरै खालको मानसिक समस्या देखिरहेको छ । उहाँले भन्नुभयो, “एकातिर श्रीमानसँगको सम्बन्ध सुमधुर नहुनसक्छ भने एर्कातिर सन्तान र परिवारको जिम्मेवारीसमेत थपिन्छ ।” इन्टरनेटलगायतका प्रविधिले पनि धेरै खालका मानसिक समस्या बढाएको छ । भूकम्पका समयमा भएका क्षतिले पनि धेरैमा मानसिक समस्या बढेको पाइन्छ । मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत संस्था ‘अब्बल उइ’ का निर्देशक विजया विजुक्च्छे धेरै युवाले आफूभित्र रहेको समस्या गुम्साएर राख्दा त्यही समस्या मानसिक रोगमा परिणत हुने गरेको बताउनुहुन्छ । साधारण कुरालाई असाधारण मानेर चिन्ता गरिरहँदा त्यही समस्याले विकराल रुप लिन्छ । आफूलाई मानसिक रोग लागेको व्यक्तिले पनि थाहा नपाउने र परिवारका सदस्यलाई पनि थाहा नहुँदा त्यसैले ठूलो रुप लिएको हो । उहाँले भन्नुभयो, “सानो समस्या हो भनेर बुझ्ने र समयमै उपचार गर्न आम नागरिकलाई बुझाउन खाँचो छ ।” नेपालमा मानसिक रोग विशेषज्ञ १५० जना र मनोबाद झण्डै ३० जना रहेका छन् । सबै सरकारी अस्पतालमा मानसिक रोग विशेषज्ञको भने दरबन्दी छैन । विद्यालय र कलेजका पाठ्यपुस्तकमा समेत मानसिक रोगका बारेमा उल्लेख हुनुपर्ने यस क्षेत्रमा कार्यरत विज्ञले माग गर्दै आएका छन् । –––

संचारकर्मी धम्क्याइएकोप्रति प्रेस युनियनको आपत्ति

काठमाडौं । समाचार संकलनका क्रममा यातायात व्यवस्था विभागमा पुगेका सगरमाथा टेलिभिजनका  संवाददाता शिखा श्रेष्ठ र क्यामेरापर्सन अजय हाकुजुलाई विभागका निर्देशक चन्द्र साहले दुर्व्यवहार गर्दै धम्क्याएकोप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै घटनाको घोर भत्र्सना गरेका छन्। भदौ १ बाट लागू भएको मुलुकी संहिताको हवाला दिएर सार्वजनिक सेवामा रहेका साहले सञ्चारकर्मी श्रेष्ठ र हाकुजुलाई धम्क्याएको कार्यको नेपाल प्रेस युनियन कडा शब्दमा विरोध गर्दछ विज्ञप्ति मा भनिएको छ । यस्तो छ विज्ञप्ति मितिः २०७५ कार्तिक ११ प्रेस विज्ञप्ति समाचार संकलनका क्रममा यातायात व्यवस्था विभागमा पुगेका सगरमाथा टेलिभिजनका  संवाददाता शिखा श्रेष्ठ र क्यामेरापर्सन अजय हाकुजुलाई विभागका निर्देशक चन्द्र साहले दुर्व्यवहार गर्दै धम्क्याएकोप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। भदौ १ बाट लागू भएको मुलुकी संहिताको हवाला दिएर सार्वजनिक सेवामा रहेका साहले सञ्चारकर्मी श्रेष्ठ र हाकुजुलाई धम्क्याएको कार्यको नेपाल प्रेस युनियन कडा शब्दमा विरोध गर्दछ। सार्वजनिक सेवाको क्षेत्र र त्यहाँबाट दिइने सेवाको विषयलाई समाचार बनाउन पनि पूर्व अनुमति लिनुपर्ने भन्दै धम्क्याइनु निन्दनीय छ। सार्वजनिक सेवाको क्षेत्र आम नागरिक र सेवाग्राहीको पहुँचमा हुनुपर्नेमा यातायात व्यवस्था विभागका उच्च अधिकारीको तहबाटै गरिएको हर्कत सार्वजनिक सेवाको क्षेत्रलाई आम नागरिकको पहुँचबाट टाढै राख्न खोजिएको वा नियन्त्रण गर्न खोजिएको रुपमा युनियनले लिएको छ। जनताको प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यलय गोप्य सयन कक्ष हैन भन्ने कुरा  निर्देशक साहले बुझेर पनि बुझ पचाएको देखिएको छ। व्यक्तिगत प्रयोगजनमा नभइ सार्वजनिक गर्ने उदेश्यले खिचिएका तस्विर तथा दृश्यमा मुलुकी संहिताको देवानी र फौजदारी कानुनलाई दुरुपयोग गर्ने आसयलाई गलत व्याख्या गरेर सञ्चारकर्मीलाई हतोत्साहि बनाउने कार्यको युनियन निन्दा गर्दछ। सञ्चारकर्मीलाई हतोत्साहित गर्ने धम्क्याउने लगायतका पदिय मर्यादा विपरितका काम गर्ने निर्देशक साहलाई आफ्नो कमजोरी स्विकार्दै क्षमायाचना गर्न युनियन आग्रह गर्दछ। अन्यथा युनियन निर्देशक साहको कार्यको भण्डाफोर गर्दै सार्वजनिक रुपमा प्रतिवादमा उत्रने चेतावनी दिन चाहन्छ। धन्यवाद। जय नेपाल। अजयबाबु शिवाकोटी महासचिव

काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

  –शुरबहादुर सिंह जुम्ला,  अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् । थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ भन्ने । दिदी सुस्मिता बुमीसँगै कोदोबारीमा काँक्रो लिन जाँदा उनी गोलीको पासोमा परेकी हुन् । कोदोबारीमा छिमेकीले स्याल फसाउनका लागि भनेर थापेको जर्जन पड्कँदा ९चलाउँदा बन्दुक पड्केर कुनै पनि प्राणीलाई गोली लाग्ने गरी थापिएको पासो० रमिलाको दाँया घुँडाको मुनि तिघ्रामा लागेर हड्डी र नसा छिनाल्यो । “ब्वाङ्ग आवाज आउने बित्तकै ढलेँछु”, त्यो क्षणलाई सम्झँदै उनले भनिन्, “उठ््न खोज्दा खुट्टा टेक्न सकिएन ।” छाम्दा हड्डी भाँचिएको र मासुसमेत भ्वाङ परेको देखेर बेहोस भएको तीतो अनुभव बुमीले सुनाइन् । त्यो दुर्घटनामा परेकी उनलाई त्यहाँ उपचारको कुनै विकल्प थिएन । तत्काल रु तीन लाख ५० हजारमा हेलिकोप्टर चार्टर गरेर सुर्खेत पु¥याइएको रमिलाका मामा ज्योति गिरीले बताउनुभयो । “सुर्खेतमा समेत उपचार हुननसकेपछि जिप बुक गरेर भारतको लखनउ लग्यौँ”, गिरी भन्नुभयो, “गोली लागेको ३६ घण्टा नाघेकाले खुट्टा मरिसकेको रहेछ ।” काट्नुको विकल्प नरहेको र शल्यक्रिया गरेर खुट्टा फाल्नुपरेको उहाँले दुःख प्रकट गर्नुभयो । बुमीको उपचार गर्न हालसम्म रु सात लाख खर्चेको उहाँले जनाउनुभयो । लखनउमा खुट्टाको शल्यक्रिया गरेकी बुमीको यतिबेला भने डे«सिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा जुम्लामा भइहेको छ । सद्दे सपाङ्ग रमिला बुमीलाई छिमेकीको कमजोरीका कारण अपाङ्ग भएर अब सधँैका लागि वैशाखीको सहारामा बाँच्नुपर्ने बाध्यता आइलागेको छ । सानो गल्तीले गर्दा आज रमिला सधैँभरिका लागि अपाङ्ग भएकी छन् । त्यही घटनालाई लिएर आमा पवित्रा र बुबा जनक बुमीले जिल्ला प्रहरी कार्यालय जुम्लामा आफ्ना छिमेकीविरुद्ध जाहेरी निवेदन हालेको गिरीले बताउनुभयो । अञ्जानवशः ठूलो भूल भएको भन्दै छिमेकीले क्षमायाचना गरेको र रमिलाको जीवनभर स्वास्थ्य अवस्थामा आउने समस्या तथा अहिलेसम्म भएको सबै उपचार खर्च तिर्न छिमेकी मञ्जुर भएकाले कानूनी प्रक्रियाभन्दा मेलमिलाप गर्ने शर्तमा अघि बढ्ने सङ्केत उनका मामा, आमाबुबाले दिएका छन् । हुम्ला अदानचुली गाउँपालिकास्थित जनप्रिय आधारभूत विद्यालय कक्षा ५ मा अध्ययरत रमिला कक्षाका प्रथम विद्यार्थी हुन् । उक्त विद्यालयमा मेधावी छात्राका रूपमा नाम दर्ज गरेकी उनले आफ्नो एक महीनाको पढाइ छुटेकोमा चिन्ता गरिन् । पढेर असल मान्छे बन्ने र आमाबुबाको सहयोगी बन्ने सपना लिएकी रमिलालाई अब भने उल्टै सहयोगी आवश्यक हुने भएको छ । –––