बेनी नगरपालिका–८ कालीपुलदेखि जलजला गाउँपालिका वडा नं २, ३ र ४ मा पर्ने मल्लाज जोड्ने पक्की पदमार्ग निर्माण भएको छ । विकास नेपाल बेल्जियमको आर्थिक सहयोगमा कालीपुलदेखि डिलफाँट हँुदै मल्लाजको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल भगवती कोत मन्दिर परिसरसम्म करीब दुई किलोमिटर पदमार्ग निर्माण भएको हो । पाँच वर्षअघि कालीपुलदेखि शुरु भएको पदमार्ग निर्माणले यस वर्ष पूर्णता पाएको डिलफाँट–कोतघर पदमार्ग उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बरुवालले बताउनुभयो । तीन चरणमा रु ८६ लाख नौ हजार २५२ को लागतमा एक हजार ९५२ मिटर पक्की पदमार्ग निर्माण भएको अध्यक्ष बरुवालले जानकारी दिनुभयो । संस्थाको रु ५९ लाख ८६ हजार ३५२ सहयोग र स्थानीयवासीको रु १७ लाख ३३ हजार ७७७ को लागतमा तीन वर्षअघि कालीपुलदेखि डिलफाँटसम्म पदमार्ग निर्माण भएको थियो । यस वर्ष संस्थाको थप रु छ लाख ३३ हजार र स्थानीयवासीको रु दुई लाख ७६ हजार ७५१ को लगानीमा ३०० मिटर पदमार्ग बनाएर कोतघर परिसरमा पु¥याइएको हो । साविक माझफाँट गाविस र वडाले पनि डिलफाँटदेखि कोतघरतर्फ ३०० मिटर पदमार्ग निर्माण गरेका थिए । पदमार्ग निर्माण भएपछि बेनीबजारका साथै बगरफाँट वारिबेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, म्याग्दीको नागीका बासिन्दालाई आवतजावतमा सहज भएको छ । यसअघि भीरको साँघुरो बाटोमा जोखिम मोलेर आवतजावत गर्दै आएका स्थानीयवासीले अहिले सुरक्षित रूपमा हिँडडुल गर्न पाएको मल्लाजका नविन जिसीले बताउनुभयो ।
नगर प्रमुखहरूको विश्व संसदमा न्यौपाने निर्वाचित
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने नगर प्रमुखहरूको विश्व संसद्को कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको छ । बेलायतको व्रिष्टोल शहरमा सम्पन्न नगर प्रमुखहरूको सम्मेलनबाट न्यौपाने कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको हो । उक्त सम्मेलनमा व्यास नगर प्रमुख न्यौपाने उपस्थित नभए पनि कार्यकारी सदस्यका लागि उम्मेदवारी दिनुभएको थियो । उक्त सम्मेलनले न्यौपानेसहित आठ जनालाई कार्यकारी सदस्यमा निर्वाचित गरेको छ । नयाँ निर्वाचित कार्यसमितिमा जर्मनीको मेनहम नगरका प्रमुख पिटर क्रुज, बेलायतको व्रिष्टोल नगरका प्रमुख मार्भिन रिज, इटालीको पालेर्मो नगरका प्रमुख लियो लुका ओर्लाण्डो, युगाण्डाको होइमा नगरपालिकाका प्रमुख ग्रेस मेरी मुगासा, नर्वेको स्टेभेङ््गजर नगरका प्रमुख क्रिष्टिन सेगन हेल्गो, अमेरिकाको कोलम्बिया नगरका प्रमुख स्टेफेन के बेनजामिन र लाइवेरियाको मोनरोभिया नगरका प्रमुख जेफर्सन टम्बा कोइजी रहनुभएको छ । उक्त सम्मेलनले शहरी बसाइसराइलाई मानवीय ढङ्गले व्यवस्थित गर्ने शहरी सुरक्षा र शहरी स्वास्थ्य क्षेत्रमा सम्बन्धित विश्व सङ्गठन र क्षेत्रीय सङ्गठनसँग समन्वय गरी कार्य गर्ने प्रतिबद्धतासहित घोषणापत्र समेत जारी गरेको छ ।