सरकारले समयमै चालू आर्थिक वर्षको बजेट सार्वजनिक गरेको भए पनि पूँजीगत खर्चमा उत्साहजनक वृद्धि हुन नसकेको पाइएको छ । सरकारले सार्वजनिक गरेको चालू आव शुरु भए यता सोमबारसम्मको राजश्वको लक्ष्य र खर्चको विवरणअनुसार पूँजीगत खर्च लक्ष्यअनुसार बढ्न नसकेको हो । चालू आवको तीन महीना सकिँदा ७ दशमलब २० प्रतिशत मात्रै पूँजीगत खर्च हुन सकेको छ । चाडबाड तथा ठेक्का प्रक्रियामा समय लागेका कारण पनि खर्चमा सोचेअनुसारको प्रगति हुन नसकेको हो । सरकारले गत जेठ १५ गते चालू आवको बजेट प्रस्तुत गरेको थियो । खर्चको अख्तियारीसमेत समयमै दिएको थियो । तर यस अवधिमा विकास निर्माणको कामले भने सोचेअनुसार प्रगति हुन सकेको छैन । यस्तै सोमबारसम्म सरकारले रु दुई खर्ब ३१ अर्ब ३८ करोड बराबरको राजश्व सङ्कलन गरेको छ । सरकारले चालू आवमा रु नौ खर्ब ४५ अर्ब ५६ करोड राजश्व उठाउने लक्ष्य राखेको छ । कूल लक्ष्यको २४ दशमलव ५२ प्रतिशतले राजश्व सङ्कलन भएको छ ।
सुनको कारोवारमा कमी
पछिल्लो समय पहेँलो धातुको मूल्यमा वृद्धि भएसँगै यसको कारोवारमा कमी आएको छ । गत वर्ष बडादशँैमा दैनिक ५० किलो सुनको कारोवार भएकामा यस पटक दैनिक करीब ३० किलोको कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो वर्ष घटस्थापनादेखि फूलपातीसम्म सुनको दैनिक माग करीब ५० किलो भए पनि सोहीअनुसारको आपूर्ति भई सन्तुलन कायम भएको थियो । अहिले सोही समयमा बजारमा सुनको मागभन्दा आपूर्ति अत्यधिक रहेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य बढेको तथा नेपाली रुपियाँको अवमूल्यन हुँदै गएकाले पनि सुनको मूल्य निरन्तर बढेको छ । यसको मूल्य क्रमिक रुपमा बढेका कारण सर्वसाधारणको पनि आकर्षण घटेको पाइएको छ । यस वर्ष बडादशँैको अवधिमा रत्न तथा आभूषणको कारोवार पनि अघिल्लो बडादशैँको तुलनामा ४० प्रतिशतले कम भएको नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष ज्योत्स्ना श्रेष्ठले जानकारी दिनुभयो । बजारमा छापावाला सुन प्रतितोला रु ६० हजार कायम भई आज कारोवार भएको छ । गत बडादशैँमा भने सोको प्रतितोला रु ५४ हजारमा कारोवार भएको थियो ।