दुवै आँखा नदेख्नेलाई नगर प्रमुखबाट मासिक रु दुई हजार
बेत्रावती, नुवाकोटको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त व्यक्तिलाई मासिक रु दुई हजार उपलब्ध गराउने भनी उम्मेदवार रहँदा जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याउनुभएको छ ।
प्रमुख पण्डितले विदुर नगरपालिका–९ लामाटारका दुवै आँखा नदेख्ने कृष्णबहादुर नेपालीलाई मासिक रु दुई हजार रकम आफू जनप्रतिनिधि भएपश्चात्को अवधिको एकमुष्ट रुपमा उपलब्ध गराउनुभयो । उहाँले प्रमुख पदमा निर्वाचित भएर शपथ लिएपछि राज्यबाट जनप्रतिनिधिको हैसियतमा प्राप्त सुविधाबाट अहिलेसम्म १५ महीनाको रु तीस हजार दुवै आँखा नदेख्ने नेपालीलाई उपलब्ध गराउनुभयो ।
“यो सेवा आफू जनप्रतिनिधि रहुन्जेल राज्यबाट प्राप्त हुने सुविधाबाट कटौती गरी प्रदान गर्ने भनेर जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याएको छु,” उहाँले भन्नुभयो, “अब निरन्तर मासिक रुपमा रकम उपलब्ध गराउनेछु ।” जग्गा तथा सम्पत्ति केही नभएको नेपालीले वृद्ध बुबा र शारीरिकरुपमा अशक्त श्रीमतीको पालनपोषण गर्दै आउनुभएको छ । “सामाजिक सुरक्षा भत्ताबाट आउने पैसाले परिवार पाल्न गाह्रो थियो,” नेपालीले भन्नुभयो, “मेयरले दिनुभएको पैसाले चामल किन्न पुग्ने भएको छ ।”
–––
डलरको भाउ घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ६२ पैसा तोकेको छ ।
शुक्रबार १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ६ पैसा तोकेको थियो ।
केही दिनयता बढिरहेको अमेरिकी डलरको भाउ शनिबार ९८ पैसाले घटेको हो । डलरको भाउ बढ्दा नेपालमा विदेशबाट आयात हुने सामान महँगीने गर्छ ।
दुर्घटनामा दुईको मृत्यु, सात घाइते
रामेछाप, रामेछाप नगरपालिका–२ खरानेपाखामा आज साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।
मृत्युहुनेमा ६० वर्षीया आमा ललिमाया कार्की र छोरा दुर्गाबहादुर कार्की रहेका छन् । घाइते सात जनालाई सदरमुकाम मन्थली ल्याइएको वडा नं १ का वडाध्यक्ष नरबहादुर थापाले जानकारी दिनुभयो ।
ना१ज ४८१२ नं को टाटासुमो रामेछाप नगरपालिकाको कुकुरकाटे भञ्ज्याङदेखि रामेछापकै गोठगाउँ जाँदै गर्दा दुर्घटना भएको हो । सो टाटासुमो बाटोबाट करिब ३०० मिटर तल खसेको थियो ।
–––
भिरबाट लडेर महिलाको मृत्यु
म्याग्दी, म्याग्दी रघुगङ्गा गाउँपालिका– ६ कोटगाउँस्थित ढाडेगौडाको भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्युहुनेमा अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेकी २६ वर्षीया सुष्मा पुन रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
घरबाट श्रीमान् र छोरीसहित कोटगाउँस्थित माइतीघर जाँदै गरेकी पुनको बाटोबाट १५० मिटर तल खसेर मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताउनुभयो ।
बिहीबार राति भिरबाट खसेकी पुनको शव शुक्रबार बेनी अस्पतालमा ल्याई परीक्षण गरेर आज आफन्तको जिम्मा लगाइएको पनि उहाँले बताउनुभयो ।
–––