निर्मला हत्याको छानबिनमा लापरबाही गरेको भन्दै प्रहरी उपरीक्षक विष्टलाई निष्काशनको सिफारिस

काठमाडौँ । निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए । प्रहरी नायब निरीक्षक एवम् प्रवक्ता उनले गृहमन्त्रालयले उक्त सिफारिस उपर आज निर्णय गर्न सक्ने सम्भावना रहेको बताए।

दशैँमा पनि भत्ता पाएनन् ज्येष्ठ नागरिकले

  बाजुरा,  बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैँमा पनि भत्ता पाएनन् । दशैँमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले यस वर्षको दशैँमा खल्लो महसुश गरेका हुन् । हरेक वर्ष दशैँको बेलामा प्रथम चौमासिक भत्ता दिइने गरिएको भए पनि यस वर्ष नगरपालिकाले दशैँमा सामाजिक सुरक्षा भत्ता नदिएको कोल्टीका ज्येष्ठ नागरिक चन्द्रमान रेग्मीले बताउनुभयो । स्थानीय सरकार आएपछि सामाजिक सुरक्षा भत्ता पाउन सहज होला भन्ठानेका ज्येष्ठ नागरिकले स्थानीय तहले लापरवाही गरेर ज्येष्ठ नागरिक, बालबालिका र अन्य सामाजिक सुरक्षाभत्ता पाउनेको सेवासुविधामा खेलबाड गरेको गुनासो गरेका छन् । बूढीनन्दा नगरपालिकामा करीब एक हजार २०० ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकाका लागि प्रतिचौमासिक करीब रु एक करोड १० लाख सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिन्छ । बूढीनन्दा नगरपालिकाका सूचना अधिकारी रामदत्त न्यौपानेले कामको चापले हतार भएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत ढिलो आएपछि अन्य कर्मचारीलाई समेत तलब खुवाउन समस्या भएको र ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पनि वितरण गर्न नसकिएको उहाँले स्वीकार गर्नुभयो । –––

अफगानिस्तानमा मतदान केन्द्र नजिकै विस्फोट

  काबुल,  अफगानिस्तानको राजधानी काबुलमा मतदान केन्द्र नजिकै भएको विस्फोटमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ३० जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताउनुभएको छ । तालिवान आतङ्ककारी समूहले मतदातालाई मतदान बहिष्कार गर्न चेतावनी दिँदै आएका थिए । अफगानिस्तानमा आज बिहान ७ बजेदेखि नै संसदीय निर्वाचन शुरु भएको थियो । तालिवान आतङ्ककारी समू्ह शनिबार बिहानबाट मतदान केन्द्र, प्रहरी चौकी र सेनाको इलाकालाई लक्षित १६६ वटा आक्रमण गरेका छन् । कुन्दुज प्रान्तमा पनि तीन वटा रकेट आक्रमण गरिएको र तर यसबाट मानवीय क्षति भने नभएको बताइएको छ । स्थानीय समयानुसार शनिबार बिहान ७ बजेदेखि शुरु भएको यस निर्वाचनमा तालिावान आतङ्ककारी समूहको चेतावनीको बाबजुद पनि लाखौँको सङ्ख्यामा सर्वसाधारण मतदानमा भाग लिएका थिए । लामो समयको प्रतिक्षापछि संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा २४९ सिटका लागि दुई हजार ५०० जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा हत्याहिंसा मच्चाउने प्रतिज्ञा गरेर बसेका तालिवान आतङ्ककारीका कारण यस निर्वाचनमा ५० हजारभन्दा बढी सुरक्षा अधिकारी तैनाथ गरिएको थियो । यस निर्वाचनका लागि ३० लाख महिलासहित करिब ९० लाख व्यक्तिले मतदाता नामवलीमा आफ्नो नाम दर्ता गरेका थिए । यस निर्वाचनका लागि एक करोड २० लाख व्यक्ति मतदानयोग्य मतदाता रहेका र सोमध्ये ९० लाखले मात्र आफ्नो नाम दर्ता गरेका थिए । अफगानिस्तानको तल्लो सदनमा निर्वाचित सदस्यको पाँच वर्षको अवधि हुने गरेको छ । अफगानिस्तानमा तालिवान र इस्लामिक स्टेट्स् आतङ्ककारी समूहका कारण आम निर्वाचनमा हत्या र हिंसाको अत्यन्त डरलाग्दो स्थिति रहेको पाइन्छ । –––

आज बडादशैंको बाह्रौं दिन, आफन्त र मान्यजनहरुबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी

  पोखरा, बडादशैँको आज बाह्रौ दिन तथा दशैंको टीकाको तेस्रो दिन आज आइतबार  पनि आफन्त र मान्यजनहरुबाट टीका र जमरा लगाई आशीर्वाद लिने गरिन्छ । आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ। शुक्रबार विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका लगाउँदैछन् । विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ । आज बिहानैदेखि टीका लगाउन आफन्तकहाँ जानेहरुका कारण पोखरामा गाडीको चहपहल केही बढेको छ ।