राजदेवीमा १५ हजार बोका बलि

  जनकपुरधाम,  शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ । यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ । गत वर्ष १२ हजार ४४७ बोकाको बलि चढाइएको थियो । विभिन्न सङ्घसंस्थाको विरोधले गत वर्ष बलि चढाउने सङ्ख्यामा कमी आए पनि यस वर्ष बलि चढाउनेको सङ्ख्यामा पुनः वृद्धि भएको देखिएको छ । महावीर युवा कमिटीका अनुसार सो मन्दिरमा २०७३ सालमा १४ हजार ६१७ बोकाको बलि चढाइएको थियो । जनकवंशी राजाको कुलदेवी सो मन्दिरमा असत्यमा सत्य, अधर्ममा धर्म, अँध्यारोमा उज्यालो प्राप्ति तथा कार्यसिद्धि र मनोकामना पूर्णताका लागि बोकाको बलि दिने चलन छ । राजदेवीलाई महादुर्गा, महाकाली, महासरस्वती, महामाया चण्डिका, पार्वती, कौशिकी, जानकी र किशोरी नामले पनि पूजार्चना गर्ने परम्परा छ । अनिकालले गर्दा परेको विकट सङ्कटबाट मुक्तिका लागि राजदेवीको स्थापना गरिएको जनविश्वास पाइन्छ ।

डेढ सय महिला–बालबालिका हराए, तस्वीरसहित पत्राचार र खोजी तीव्र

  काभे्रपलाञ्चोक,  काभे्रपलाञ्चोकबाट तीन वर्षमा करीब १५० महिला तथा बालबालिका हराएका छन् । सो अवधिमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेलले जनाएको छ । केन्द्रको तथ्याङ्कमा आर्थिक वर्ष २०७२÷०७३ देखि हालसम्म ३९६ महिला तथा बालबालिका हराएको उल्लेख छ । यसमध्ये १४५ जना फेला परेका छैनन् । आव २०७२÷०७३ देखि यही असोज अन्तिम सातासम्म २७९ महिला, ३३ बालक र ८० बालिका हराएकाले आफन्तले खोजी गरिदिन केन्द्रमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । उहाँका अनुसार आव २०७२÷०७३ मा १११ , २०७३÷०७४ मा १०९, आव २०७४÷०७५ मा १६१ तथा चालू आवको असोज अन्तिम सातासम्म १५ महिला तथा बालबालिका हराएको निवेदन आएको छ । हराएका ३९६ महिला तथा बालबालिकामध्ये महिला १५८, बालक २६ र बालिका ५७ जना फेला परेका हुन् । प्रनाउ गिरीले हराएकाहरुको खोजी गर्न जिल्लास्थित माहतहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरेको र खोजी तीव्र पारिएको बताउनुभयो । उहाँका अनुसार हराउने महिला तथा बालबालिकामध्ये आधाजसो प्रहरीको सक्रियतामा भेटिन्छन् भने अन्य आफन्तकै पहलमा भेटिएका छन् । पछिल्ला केही वर्षदेखि काभे्रपलाञ्चोकबाट महिला तथा बालबालिका हराउने क्रम बढिरहेकाले प्रहरीले हराएकाहरुको खोजी गर्ने छुट्टै एकाइ बनाउनुपर्ने जिल्लास्थित मानवअधिकारकर्मी भोजराज तिमल्सिना बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्रहरीले यस्तो युनिट बनाओस् जसले हराएकाको मात्रै खोजी गरोस् ।” –––

आज महानवमी पर्ब ,नबदुर्गा भवानीको पूजाअर्चना गरि मनाइँदै,तलेजु मन्दिर खुल्ला

पोखरा ।आज महानवमी पर्ब, देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ । प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ । सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिँदै छ । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । बिहीबार बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जङ्गी निसानपूजा तथा कोतपूजा भइरहेको छ । यसै दिन सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ ।

सडक दुर्घटना न्यूनीकरणको लागि जिपको छत हटाइए

0
दार्चुला । जिल्लामा महाकाली लोकमार्ग र विभिन्न शाखा सडकमा सञ्चालनमा रहेका ७६ जिपको छत ट्राफिक प्रहरीले हटाउन लगाएको छ । चाडपर्वका बेला सडक दुर्घटना न्यूनीकरणको लागि भन्दै महाकाली लोकमार्ग तथा शाखा सडकमा सञ्चालनमा रहेका जिपको छत तथा पछाडिको सिट हटाइएको हो । यातायात कार्यालयबाट पाँच सिट पास भएका जिपले पछाडि र छतमा यात्रु बोक्न थालेपछि छत र पछाडिको सिट हटाउनुपरेको ट्राफिक प्रहरीका सहायक निरीक्षक धनसिंह नगारीले जानकारी दिए । उनीहरूलाई पाँच सिटमा मात्रै यात्रु बोक्न निर्देशन गरिएको छ । जिल्लाका कच्ची तथा साँघुरा सडकमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न थालेपछि विनापासका सिट हटाइएको प्रहरीले जनाएको छ । सवारी धनीले यातायात कार्यालयबाट पाँच सिटको मात्रै पास बनाउने तर १२ देखि २५ सम्म यात्रु बोक्न थालेपछि प्रहरीले दुर्घटना न्यूनीकरण गर्न विनापासका सिट हटाउन लगाइएको हो । साथै प्रहरीले यात्रु र गाडीको सुरक्षार्थ हरेक ठाउँमा यात्रु सहायता कक्षा स्थापना गरेको छ । यात्रुलाई दशैँ, तिहारमा सुरक्षित यात्रा गर्न सहज होस् भन्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।