आज महानवमी पर्ब ,नबदुर्गा भवानीको पूजाअर्चना गरि मनाइँदै,तलेजु मन्दिर खुल्ला

पोखरा ।आज महानवमी पर्ब, देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ । प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ । सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिँदै छ । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । बिहीबार बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जङ्गी निसानपूजा तथा कोतपूजा भइरहेको छ । यसै दिन सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ ।

सडक दुर्घटना न्यूनीकरणको लागि जिपको छत हटाइए

0
दार्चुला । जिल्लामा महाकाली लोकमार्ग र विभिन्न शाखा सडकमा सञ्चालनमा रहेका ७६ जिपको छत ट्राफिक प्रहरीले हटाउन लगाएको छ । चाडपर्वका बेला सडक दुर्घटना न्यूनीकरणको लागि भन्दै महाकाली लोकमार्ग तथा शाखा सडकमा सञ्चालनमा रहेका जिपको छत तथा पछाडिको सिट हटाइएको हो । यातायात कार्यालयबाट पाँच सिट पास भएका जिपले पछाडि र छतमा यात्रु बोक्न थालेपछि छत र पछाडिको सिट हटाउनुपरेको ट्राफिक प्रहरीका सहायक निरीक्षक धनसिंह नगारीले जानकारी दिए । उनीहरूलाई पाँच सिटमा मात्रै यात्रु बोक्न निर्देशन गरिएको छ । जिल्लाका कच्ची तथा साँघुरा सडकमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न थालेपछि विनापासका सिट हटाइएको प्रहरीले जनाएको छ । सवारी धनीले यातायात कार्यालयबाट पाँच सिटको मात्रै पास बनाउने तर १२ देखि २५ सम्म यात्रु बोक्न थालेपछि प्रहरीले दुर्घटना न्यूनीकरण गर्न विनापासका सिट हटाउन लगाइएको हो । साथै प्रहरीले यात्रु र गाडीको सुरक्षार्थ हरेक ठाउँमा यात्रु सहायता कक्षा स्थापना गरेको छ । यात्रुलाई दशैँ, तिहारमा सुरक्षित यात्रा गर्न सहज होस् भन्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

राष्ट्रपति भण्डारीले सर्वसाधारण र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने

  काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको दिन सर्वसाधारण र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने भएकी छिन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार आगामी कात्तिक २ गते दिउँसो १ देखि २ बजेसम्म विशिष्ट व्यक्तित्व तथा २ देखि ४ बजेसम्म सर्वसाधारणलाई टीकाका लागि राष्ट्रपति कार्यालय शीतल निवासको ढोका नं १ खुला रहनेछ । राष्ट्रपतिबाट टीकाग्रहण गर्न इच्छुक व्यक्तित्व, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व र सर्वसाधारणलाई टीकाका लागि समय तोकिएको हो । यस्तै निजामती, जङ्गी, प्रहरी तथा राष्ट्रसेवकलाई पनि समय निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ

आज महाअष्टमी पर्व,महाकाली,महालक्ष्मी र महासरस्वतीको बिशेष पुजाआजा गरी मनाइँदै,

  पोखरा, आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज  महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ ।यस दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ । यसै दिन पोखराका शक्तिपीठ  बिन्दुबासीनी ,भद्रकाली,अकलादेबी,शितलादेबी, काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा,  उपत्यका बाहिरका नुवाकोटका देवीघाट र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । “सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो”, उनले भने । ब्राह्मणका लागि भने पशुबलि वर्जित गरिएको अध्यक्ष गौतमले बताए । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको उनको भनाइ छ । दुर्गा शप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताउँछन् । “राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ”, उनले भने । यी तीन शक्ति दुर्गाबाट मात्र प्राप्त गर्न सकिन्छ । यसै दिन राति पशुबलिको विधि र पूजाआजासहित कालरात्रि मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ । यस दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रूपमा मानी पूजा गरिन्छ । देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ । पशुबलि नचढाउनेले भने आज पूजाकोठामा काँक्रो, घिरौँला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् । राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।