बारामा ६ वर्षिय बालकको अपहरणपछि हत्या, दुई पक्राउ

मुकेश यादव,बारा  । बारामा  मा एक ६ वर्षिय बालकको अपहरण पछि हत्या भएको छ । बाराको सिम्रौनगढ नगरपालिका ३ नयकाटोलका धनेश्वर प्रसाद यादवको छ वर्षीय छोरा गोलु भन्ने दिपक प्रसाद यादवको अपहरण पछि घांटी थिचेर हत्या भएको छ । असोज २४ गते बुधबारका दिन सांझ चारबजे देखि बेपता भएका दिपकको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटस्थापनाको दिन देखि नै बेपता भएको दिपकको स्थानीय बांही जंगलमा हत्या गरिएको अवस्थामा शनिबार राति शव फेला परेको प्रहरीले जनाएको छ । दिउँसो चार बजेदेखि बेपता भएको बालक सांझसम्म पनि घर नफर्केपछि आफन्तजनहरुले खोजतलाश गरेका थिए । खोज तलाश गर्दा पनि दिपकको पत्ता नलाग्दा सांझ सात बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई जानकारी गराएका थिए । अपहरणकारीहरुले दिपकको आफन्तजनसंग १० लाखको फिरौती मांग गरेपछि फिरौतीको जोहो गर्न लाग्दा हत्या गरिएको शव फेला परेको स्थानीयहरुले बताएका छन । हत्या गरिएको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाराले आइतबार पत्रकार सम्मेलन गरी दुई जनालाई सार्वजनिक गरेको छ । सिम्रौनगढ नपा ३ नयकाटोलका गगनदेव कुशवाहाका १७ वर्षीय छोरा हरेन्द्र कुमार कुशवाहा र नयकाटोलकै सुखल बैठाको छोरा २३ वर्षीय श्याम बैठालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक रन्जित सिंह राठौरले बताए । एक महिना अगाडी धनेश्वर प्रसाद यादवस“ग दुई लाख रुपैया सापटी मांग गरेको र यादवले सापटी नदिएको कारण यादवको छोरा दिपक यादवको अपहरण गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा प्रनाउ राठौरले बताए ।  

बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

0
  धनुषा,  धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो । पक्राउ पर्ने दुवै मृतक बालिकाका छिमेकी हुन् । उपरीक्षक थपलियाका अनुसार प्रलोभनमा पारेर शुक्रबार साँझ मनिकालाई घर बाहिर लगी बलात्कारपछि हत्या गरिएको हो । मुखियालाई जनकपुरबाट र पण्डितलाई गाउँबाटै शनिबार पक्राउ गरिएको थपलियाले बताउनुभयो । मुखिया यसअघि पनि गोली प्रहार तथा लुटपाटसम्बन्धी मुद्दामा १० वर्ष जेल सजाय काटिसकेका व्यक्ति हुन् । आरोपितले मनिकालाई गाउँमै लागेको दुर्गा पूजाको मेला हेर्न र चाउमिन खुवाउने प्रलोभन देखाएको प्रारम्भिक अनुसन्धानमा थाहा भएको प्रहरीले बताएको छ । शुक्रबारदेखि छोरी हराइरहेको भनी मृतक बालिकाको अभिभावकले छोरी हराएको उजुरी गर्न इलाका प्रहरी कार्यालय औरही पुगेपछि बालिकाको खोजीकार्य शुरु गरिएको थियो । स्थानीयवासीले मनिकाको शव धानबालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको प्रकृति मुचुल्का उठाइ शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको जनाएको छ । –––

धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना , तिमिल्सिना

  बागलुङ,  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताउनुभएको छ । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताउनुभयो । उहाँले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा गरीब भएको भन्दै अहिलेको सरकारले देशलाई विकासतर्फ उन्मुख गराउने विश्वास व्यक्त गर्नुभयो । “नेपाल बहुरङ्गको फूलबारी हो”, तिमिल्सिनाले भन्नुभयो, “अरू देशमा जस्तो धार्मिकयुद्ध नेपालमा नहुनु विश्वलाई सुःखद् सन्देश हो ।” सरकारले नेपालमा भएको प्राकृतिक स्रोत साधनको उचित व्यवस्थापन गरी देशलाई समृद्ध बनाउने उहाँको भनाइ थियो । शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बागलुङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यको समेत उपस्थिति रहेको थियो । –––

श्रद्धाञ्जलिका लागि काङ्ग्रेसका नेता स्वर्गीय बास्तोलाको पार्थिव शरीर सानेपामा

  काठमाडौँ, नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १ः३० देखि ४ बजेसम्म ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहनुभएका बास्तोलाको हिजो राति निधन भएको थियो । उहाँका श्रीमती र दुई छोरी हुनुहुन्छ । शनिबार नै उहाँको स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको थियो । तर उपचार सम्भव नभएपछि पुनः निवासमा लगिएको थियो । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज यहाँ जारी विज्ञप्तिमा स्वर्गीय बास्तोलाको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । उहाँ पूर्वपराराष्ट्रमन्त्री, नेकाका केन्द्रीय सदस्य एवम् भारतका लागि नेपालका राजदूतसमेत हुनुहुन्थ्यो । यसैबीच, मूल्यवृद्धि एवम् करका विषयमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत केन्द्र एवम् प्रदेश सरकारलाई आज बुझाउने भनिएको ज्ञापनपत्र कार्यक्रम स्थगित भएको पार्टीले जनाएको छ । –