सरकारले शान्ति सुरक्षा दिन नसक्दा हत्या, हिंसा तथा बलात्कारका घटना वृद्धि
विराटनगर, २४ असोज नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले शान्ति सुरक्षा दिन नसक्दा हत्या, हिंसा तथा बलात्कारका घटना वृद्धि भएको आरोप लगाउनुभएको छ ।
विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले जनताको सुरक्षाको अनुभूति प्राप्त गर्ने सुरक्षा नीति ल्याउन माग गर्नुभयो ।
उहाँले निर्मला पन्त हत्या काण्डको दोषी छिटो पक्राउ गर्नुपर्ने माग गर्दै सरकारले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो । नेता सिटौलाले सरकारले जनताको हितमा काम गरेमा प्रतिपक्षको हैसियतले समर्थन गर्ने बताउँदै गलत कार्यको सदैव विरोध गर्ने बताउनुभयो । उहाँले महङ्गी नियन्त्रण गरी बढाइएको कर अविलम्ब घटाउनुपर्छ भन्नुभयो ।
कर्तब्य ज्यान मुद्दामा फरार रहेका युवा पक्राउ
बर्दिया, २४ असोज आठ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक युवकलाई आठ वर्षपछि आज प्रहरीले पक्राउ गरेको छ ।
गुलरिया नगरपालिका–१२ भैसाहीका २० वर्ष कैद सजाय तोकिएका ३९ वर्षीय शङ्खर थारुलाई प्रहरीले घरमै लुकिछिपी रहेको अवस्थामा आजे बिहान पक्राउ गरेको हो । सोही ठाउँका ३० वर्षीय छोतेलाल थारुको २०६७ जेठ १४ गते हत्या गरी फरार रहेका थारुलाई सूचनाको अधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो । बर्दिया जिल्ला अदालतले २०७२ माघ १३ गते घटनाका आरोपिलाई दोषी ठहर गरी सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो ।
काङ्ग्रेस बैठक स्थगित
काठमाडौँ, २४ असोज प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्धारित बैठक शीर्ष नेताहरुको व्यस्तताका कारण स्थगित गरिएको छ ।
भोलि असोज २५ गतेका लागि निर्धारित बैठक पार्टीका शीर्ष नेताहरुको काठमाडौँ उपत्यका बाहिरका विभिन्न कार्यक्रममा व्यस्त हुनुपरेकाले स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म स्थगित गरिएको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशाङ्क कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेता विभिन्न जिल्लाका निर्धारित कार्यक्रममा व्यस्त हुनुहुन्छ । असोज २५ गतेको बैठकमा छलफल हुने भनिएको नेपाल विद्यार्थी सङ्घको विधानका सम्बन्धमा अब पार्टीले गठन गरेको निर्देशक समितिमा छलफल हुने बताइएको छ ।
एक थान अमेरिकन पेस्तोल सहित पर्सामा युवक पक्राउ
बिजय चौहान वीरगञ्ज ,
। पर्साको ग्रामिण क्षेत्रबाट पर्सा प्रहरीले स्वाचालित पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ । पर्साको पटेर्वासुगौली गाँउपालिका–४ फरदवाबाट प्रहरीले एक थान पेस्तोल सहित २५ वर्षीय मनोज पाशवानलाई पक्राउ गरेको हो।फरजदवामा रहेको भलुवही खोलाको बगरबाट चेकजाँच गर्नेक्रममा पाशवानलाई मेडईन युएसए लेखिएको स्वाचालित पेस्तोल र सोमा प्रयोग हुँने एक थान म्यागजिन सहित मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए।सुगौली गाउबाट निचुटा तर्फ जाँदै गरेका पाशवनमाथि शंकालागि चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि अवस्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएकोसुचना अधिकृत थापले बताए । पक्राउ परेका पाशवानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ भने उनीमाथि हातहतियार तथा खर खजाना मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।