एक थान अमेरिकन पेस्तोल सहित पर्सामा युवक पक्राउ

बिजय चौहान वीरगञ्ज , । पर्साको ग्रामिण क्षेत्रबाट पर्सा प्रहरीले स्वाचालित पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ । पर्साको पटेर्वासुगौली गाँउपालिका–४ फरदवाबाट प्रहरीले एक थान पेस्तोल सहित २५ वर्षीय मनोज पाशवानलाई पक्राउ गरेको हो।फरजदवामा रहेको भलुवही खोलाको बगरबाट चेकजाँच गर्नेक्रममा पाशवानलाई मेडईन युएसए लेखिएको स्वाचालित पेस्तोल र सोमा प्रयोग हुँने एक थान म्यागजिन सहित मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए।सुगौली गाउबाट निचुटा तर्फ जाँदै गरेका पाशवनमाथि शंकालागि चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि अवस्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएकोसुचना अधिकृत थापले बताए । पक्राउ परेका पाशवानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ भने उनीमाथि हातहतियार तथा खर खजाना मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।

हनुमान ढोकासहित देशभर घटस्थापना

हनुमानढोकास्थित दशैँ घरमा बिहान ७ः१५ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ । हनुमानढोकामा पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डाले दशैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो । घटस्थापनासँगै आज यहाँ राखिएको जमरा विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि प्रसादका रुपमा राष्ट्रपति कार्यालयमा लैजाने गरिन्छ । गणतन्त्र स्थापना हुनु अघि हनुमानढोका दशैँ घरको घडाको जल, जमरालगायत टीका प्रसाद राजदरबार लगिन्थ्यो । हनुमानढोकाको दशैँ घरमा राखिएको जमरालगायत टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि वितरण गर्ने गरिएको छ । हनुमानढोका दरबारको दशैँ घरसँगै नेपालीले आआफ्ना घरको पूजाकोठा वा दशैँघरमा घटस्थापना गरेका छन् । घटस्थापनासँगै आजैदेखि नेपालीको महान् पर्व बडादशैँ शुरु भएको छ । कुनै स्थान र समुदाय विशेषमा भने आश्विन शुक्ल द्वितीयाको रातिको जून हेरेर मात्र घटस्थापना गरी जमरा राख्ने प्रचलन रहेको छ । पहिलो दिन शैलपुत्रीको आराधना नवरात्रको पहिलो दिन आज नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ । देवीले महासरस्वती, महाकाली र महालक्ष्मीको रुप लिएर फरकफरक काम गर्ने शास्त्रीय मान्यता छ । तीन रुप लिएर काम गर्न नवदुर्गा, अष्टमातृका, कुमारी आदिले सहयोगको भूमिका निर्वाह गर्ने भएकाले पहिलो दिन आज शैलपुत्री देवीको पूजा आराधनाको विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । पहिलो दिन आज दुई वर्षकी कन्यालाई कुमारीका रुपमा पूजा गरिन्छ । दोस्रो दिनदेखि तीन, चार गरेर महानवमीका दिन १० वर्षकी कन्याको पूजा गर्ने विधि रहेको पनि उहाँले बताउनुभयो । नवरात्र शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । नवरात्र शक्ति उपासनाका लागि विशेष पर्वका रुपमा मनाइन्छ । उपत्यकाका गुह्येश्वरी, नक्साल र शोभाभगवती, कालिकास्थान, भद्रकालीलगायत देवीस्थानमा भक्तजनको भीड लागेको छ । आजदेखि आश्विन शुक्ल नवमीअर्थात् महानवमीका दिनसम्म प्रत्येक दिन छुट्टाछुट्टै देवीको विशेष आराधना गर्ने विधि छ । स्थान विशेष र समुदायअनुसार कतै आश्विन शुक्ल सप्तमी, कतै महाअष्टमीका दिनदेखि विशेष रुपमा देवीको पूजा आराधना गर्ने परम्परासमेत छ । वर्षमा चार नवरात्र परे पनि आश्विन शुक्ल पक्षमा विशेष आराधना गर्ने भएकाले यसलाई बडादशैँ भनिन्छ । पुस, चैत र असारमा पर्ने नवरात्रलाई लुप्त पर्वका रुपमा मनाउने गरिन्छ । यसमध्ये चैतमा पर्ने नवरात्रमा भने चैतेदशैँ मनाउने परम्परा छ ।

मछिन्द्र र च्यासलबीच खेल हुँदै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल हुँदैछ । यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको लिग आजदेखि पुनः सञ्चालन हुन लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज दिउँसो ३ बजे मछिन्द्र र च्यासलबीच खेल हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो । एन्फाले असोज २४, २५ र २६ गतेभित्र पहिलो चरणको खेल सम्पन्न गर्ने तथा त्यसपछि दशैँ, तिहार र छठ अवधिभर लिग स्थगित गर्ने जनाएको छ । असोज २५ गते फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच तथा सोही दिन जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । असोज २६ गते एन्फा मैदानमै हिमालयन शेर्पा क्लब र एपिएफबीच तथा अर्को खेल ब्रिगेड ब्वाइज क्लब र मनाङ मस्र्याङ्दीबीच हुनेछ । उद्घाटन खेलमा न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मीले अङ्क बाँडेका थिए भने अर्को खेलमा सरस्वती युथ क्लबलाई पराजित गर्दै सङ्कटा क्लब विजयी भएको थियो । लिगका खेल तेह्र चरणसम्म खेलाइनेछन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचाँैले रु सात लाख र छैटौँले रु पाँच लाख पुरस्कार पाउनेछ । फेयर प्ले टिमले रु एक लाख तथा प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार र म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।

स्थानीय तहमा आर्थिक अनियमितता लगायतका विषयमा धेरै उजुरी परे

0
पोखरा, २४ असोज अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले स्थानीय तहमा आर्थिक अनियमिततालगायतका विषयमा धेरै उजुरी पर्ने गरेको बताउनुभएको छ । ।उहाँले सङ्क्रमणकालीन समयका नाममा कसैलाई भ्रष्टाचार गर्ने छुट नभएको स्पष्ट पार्नुभयो । भ्रष्टाचार निवारणमा सबैको एकताबद्ध प्रयास आवश्यक हुने उहाँको भनाइ छ । आयोगको पोखरा कार्यालय भवनको शिलान्यास गर्दै उहाँले जनताले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन सुशासन अपरिहार्य हुने धारणा राख्नुभयो । भ्रष्टाचार नियन्त्रण कार्यलाई नियन्त्रण गर्न आयोग सक्रियताका साथ लागेको बताउँदै उहाँले कुनै पनि विकास निर्माणका काम गुणस्तरीय र पारदर्शी भए÷नभएको, कानूनको पालना भए÷नभएको जस्ता विषयमा अध्ययन अनुसन्धान भइरहेको उल्लेख गर्नुभयो । पोखरामा निर्माणाधीन कार्यालय भवनले यहाँबाट हुने आयोगको कामलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पु¥याउने उहाँको भनाइ छ । आयोगका सचिव महेश्वर न्यौपानेले सङ्घीय संरचनाअनुरुप आयोगको केन्द्रसहित सबै प्रदेशमा भौतिक पूर्वाधारका साथै जनशक्ति व्यवस्थापन गरिएको बताउनुभयो । मुलुकको उन्नतिमा भ्रष्टाचार प्रमुख बाधक भएको उल्लेख गर्दै आयोगको कामको प्रभावकारिताका लागि जनशक्तिलाई तालीम प्रदान गरिएको बताउनुभयो । गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले तीन तहका सरकार गठन भई काम थालिसकेको वर्तमान अवस्थामा सुशासनका लागि आयोगको निगरानी आवश्यक हुने बताउनुभयो । आयोगको पोखरा कार्यालयका प्रमुख काशीराज दाहालले नवनिर्मित भवन कूल रु १४ करोड ७२ लाख ३६ हजार ५७३ लागतमा ठेक्का सम्झौता भई काम अघि बढेको जानकारी दिनुभयो ।