काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक नेपाल विद्यार्थी सङ्घ र पार्टीको विधान तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न आज बस्दैछ ।
बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, नेविसङ्घको संशोधित विधान, बजार मूल्य वृद्धि र समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विधान संशोधन मस्यौदा समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले सो मस्यौदा तयारीबारेमा जानकारी गराउनुहुनेछ । सङ्घीय संरचनाअनुसार पार्टीका सङ्गठनात्मक संरचनालाई पुनः संरचना गर्न काङ्ग्रेसले विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न महामन्त्री खड्काको संयोजकत्वमा गत भदौ ७ गते पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले हालसम्म विधान संशोधन मस्यौदा तयारीका लागि पार्टीका विभिन्न निकाय, भ्रातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समितिलगायत सरोकारवालाबाट सुझाव लिइसकेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । समितिले संशोधित विधान सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिएको छ ।
महामन्त्री खड्का संयोजकत्व समितिले सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सांसद, प्रदेशसभा सदस्य र भ्रातृ संस्थाका प्रमुखको सुझाव लिएको हो । काङ्गे्रसले असोज ८ देखि १३ गतेसम्म सातै प्रदेशमा अन्तक्रिया कार्यक्रम गरी विधान संशोधन गर्न सुझाव सङ्कलन गरेको थियो । सङ्कलित रायसुझाव समावेश गरेर असोज २५ भित्र मस्यौदालाई अन्तिम रूप दिने गृहकार्य भइरहेको छ । सुझावको अध्ययनपछि अन्तिम मस्यौदा तयार गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पेश गरिनेछ । केन्द्रीय समितिले पारित गरेको विधान मस्यौदा महासमिति बैठकमा पेश हुनेछ ।
गत भदौ ९ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्न महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।
११ जना एसएसपीहरुको बढुवा सिफारिस
११ जना एसएसपीहरुको बढुवा सिफारिस
नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको प्रहरी नायव महानिरीक्षक डिआइजी बढुवामा सिफारिस भएको छ ।बढुवा सिफारिस हुने एससपीहरुमा विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुर ज्ञवाली, पूर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कुमार कार्की, हरिभक्त प्रजापती र सूर्य प्रसाद उपाध्याय रहेका छन् ।
शनिबार गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बढुवाको सिफारिस गरेको हो ।
बडादशैंका लागि नयाँ नोट सटही सुरु
नेपालीहरुको महान पर्ब बिजया दशमी नजिकिदै गर्दा, नेपाल राष्ट्र बैंकले आइतबारदेखि विभिन्न दरका नयाँ नोट सटही गर्ने जनाएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो। बैंक तथा वित्तीय संस्थाले आइतबारदेखि नै नयाँ नोट वितरण सुरु गर्दैछन् ।२७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न सकिने बैकले जनाएको छ बडादशैंका लागि नयाँ नोट सटही सुरु भएको हो ।
नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
आफूलाई पायक पर्ने नजिकको बैंकबाट असोज २९ गतेसम्म नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
स्थानीय तहमा सहकारी ऐन नबन्दा समस्या
बैतडी, २१ असोज रासस बैतडीका स्थानीय तहहरूले समयमै सहकारी ऐन बनाउन नसक्दा सहकारी संस्था अलमलमा परेका छन् । डिभिजन सहकारी कार्यालय खारेज भएसँगै कार्यालयले सबै स्थानीय तहमा सहकारी हस्तान्तरण गरेको भए पनि सहकारी ऐन, कानून र कर्मचारीको अभावमा सहकारीसम्बन्धी काम अघि बढ्न नसकेको स्थानीय तहले जनाएका छन् ।
केही स्थानीय तहले सहकारी ऐन निर्माणका लागि शुरुवात गरेका भए पनि धेरैजसो ठाउँमा सहकारी ऐन निर्माणको काम नै शुरु हुनसकेको छैन । सहकारी ऐन निर्माणका लागि कर्मचारीको अभाव रहेको डिलाशैनी गाउँपालिकाका कृषि शाखा प्रमुख जनकबहादुर सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा सहकारी संस्था हस्तान्तरण भएका भए पनि ऐन भने बन्न सकेको छैन”, सहकारी संस्था दर्ताका लागि अहिलेसम्म कोही नआएको र ऐनसमेत नबनेको दशरथचन्द नगरपालिकाका प्रवक्ता चक्रप्रसाद शर्माले बताउनुभयो। उहाँले भन्नुभयो, “नगरपालिकाले सहकारी ऐन बनाउने तयारी गरिरहेको छ ।”
जिल्लाका १० वटै स्थानीय तहमा सहकारी ऐन बन्न सकेको छैन । स्थानीय तहमा सहकारी हस्तान्तरण भए पनि प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेका साविकको डिभिजन कार्यालयका तत्कालीन प्रमुख दुर्गासिंह धामीले जानकारी दिनुभयो । स्थानीय तहमा सहकारी ऐन नहुँदा सहकारीलाई अप्ठयारो भएको सुनौलो बचत तथा ऋण सहकारी संस्था पाटन बैतडीका अध्यक्ष केशव विष्टले बताउनुभयो रासस