साल्ट ट्रेडिङले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने

काठमाडौं– साल्ट ट्रेडिङ लिमिटेड कर्पोरेशनले दशैं तिहार र छठ पर्वलाई मध्यनजर गर्दै विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

त्यस्तै मोवाइल भ्यानबाट विभिन्न ठाउँमा खाद्य बस्तु पनि बिक्री गर्ने योजना बनाएको पनि साल्टले जनाएको छ ।

साल्टले आफ्नो ५६ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सो कुराको जानकारी गराएको हो ।

बुधबार भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले लिमिटेडले आम जनतलाई गुणस्तरीय सामान सुपथ मूल्यमा विक्री गर्दै आएको बताइन् ।

उनले लिमिटेडले आफ्ना सेवा सातै प्रदेशमा विस्तार गरेको भन्दै कृषि विकासमा सहयोग पुर्याउन अनुदानको मल र कृषि औजार बिक्री गरेको, गहुँको बिउ प्रशोधन गरेर किसानसमक्ष पर्याएको तथा प्रशोधित तोरीको तेल उद्योग स्थापनाको तयारी भइरहेको बताइन् ।

त्यस्तै उनले ५ सयलाई स्वदेश र आठ जनलाई थाइल्याण्डमा तालिम दिएर दक्ष जनशक्ति तयार गरिरहेको भन्दै कर्पोरेशनबाट वितरण हुने ग्यास र आयोडिनयुक्त नुनको विक्री  बढेको जानकारी पनि दिइन् ।

शेयर बजारः दोहोरो अङ्कको वृद्धि

काठमाडौँ– धितोपत्र बजारमा यस साताकै उच्च वृद्धि आज भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १३.०६ अंकले वृद्धि भई एक हजार २३० बिन्दुमा पुगेको छ ।

बजारमा दोहोरो अंकको वृद्धि भई कारोवार रकममा समेत वृद्धि भएको छ । मंगलबार एक हजार २१७ बिन्दुमा रहेको शेयर आज १३.०६ अंकको वृद्धि सँगै अर्को उचाइमा पुगेको हो । कूल १६५ कम्पनीको रु ४३ करोड २९ लाख ५७ हजार ६८ मूल्यबराबरको शेयर किनबेच भएको थियो । स्टकका अनुसार आज होटल १.४१, फाइनान्स र उत्पादन समूह क्रमशः २.२३ र २.६८ बिन्दुले घटे पनि अरु उपसमूहको शेयर भने वृद्धि भएको छ ।

स्टकका अनुसार बैंकिङ १३.९८, विकास बैंक १४.८४, जलविद्युत् ४.८१, निर्जीवन बीमा ११३.५२, अन्य ७.१९, माइक्रोफाइनान्स १५.८८ र निर्जीवन बीमा समूह ३.९८ बिन्दुले बढेका छन् । कारोवारका आधारमा यस दिन एनआइसी एशिया बैंकको शेयर कारोवार आज अग्रस्थानमा छ । सो बैंकको रु चार करोड ८९ लाखको कारोवार हुँदा मूल्य प्रतिकित्ता शेयर मूल्य रु ४०७ कायम हुन पुगेको छ ।

ग्लोबल आइएमई बैंकको रु तीन करोड ६९ लाखबराबरको शेयर कारोवार भएको छ । रिडी हाइड्रोपावर कम्पनी र मल्टी पर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ५.२ प्रतिशतले बढेको स्टकले जनाएको छ । बजार उच्च बिन्दुले बढ्दासमेत आइसिएफसी फाइनान्सका शेयर लगानीकर्ताले सबैभन्दा धेरै अर्थात् ५.७ प्रतिशत गुमाएका छन् ।

कृषि प्रधान मुलुकमा बाहिरबाट मगाएर खानु दुर्भाग्य : मन्त्री यादव

काठमाडौं– उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका यादवले कृषि प्रधान मुलुकमा सवै खाद्यबस्तु बाहिरबाट मगाएर खानुपर्ने अवस्था आउनु दुर्भाग्य भएको बताएका छन् । उनले यसबारेमा सवैपक्षबीच छलफल गर्न ढिला गर्नू नहुने पनि बताए ।

साल्ट ट्रेडिङ कर्पोरेशनको ५६ औं बार्षिकोत्सव समारोहलाई बुधबार काठमाडौमा सम्बोधन गर्दै मन्त्री यादवले ठुलो मात्रामा खाद्यबस्तु आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको भन्दै त्यसका लागि सवैको सहयोग अनिवार्य रहेको धारणा राखे ।

‘सम्बृद्ध नेपाल सुखी नेपालीको नारा अहिले चलिरहेको छ । यसका लागि सरकारले गरेरमात्रै हुदैन सवै एकजुट भएमात्रै सम्भव हुन्छ’ मन्त्री यादवले सम्बोधनका क्रममा भने, ‘एउटै घरमा कहिलेकाहीं ठाकठुक पर्छ, मजदुर साथीहरुले सरकारी काम कहिले जाला घाम जस्तो गर्नुहुन्न । सेवामुलक ढंगले काम गर्नुपर्छ । सरकारले गर्नुपर्ने सहयोग गर्न तयार छौ ।’

मन्त्री यादवले साल्ट ट्रेडिङले उदेश्य अनुरुप काम गरिरहेको भन्दै ग्याँस, मल चिनी उपभोक्तासम्म पुर्याउने काम भइरहेको बताए । उनले दुई संस्थाले मल कारोबार गर्ने जिम्मा लिएपनि अभाव भएकोमा असन्तुष्टि जनाए ।

काठमाडौँमा उच्च क्षमताको प्रसारण लाइन बनाउँदै प्राधिकरण

– रमेश लम्साल 

काठमाडौँ– काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति प्रणाली सुधार गर्न दीर्घकालीन लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले उच्च क्षमताको प्रसारण प्रणाली बनाउने भएको छ ।  त्यस्तो प्रसारण प्रणालीलाई काठमाडौँ उपत्यकका प्रसारण ‘रिङ’ नाम दिइएको छ । आगामी दिनमा हुने विद्युत् मागको व्यवस्थापनका लागि उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई समेट्ने गरी २२० केभी डबल सर्किट प्रसारण लाइनको रिङ निर्माण गर्न लागिएको हो ।

हाल उपत्यकामा १३२/६६ र ६६/११ केभी प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति भईरहेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले निर्माण गर्ने बाहिरी चक्रपथसँगै प्रसारण लाइन पनि निर्माण गरिने प्राधिकरणले जनाएको छ ।

बाहिरी चक्रपथसँगै बन्ने प्रसारण लाइनको लम्बाइ ७५ किलोमिटर र आयोजनाको अनुमानित लागत १५ करोड अमेरिकी डलर छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक/दुई वर्षभित्रमै उपत्यकामा विद्युत आपूर्ति गर्न अहिलेको संरचनाले धान्न गाह्रो हुने भएकाले उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण काम अगाडि बढाइएको जानकारी दिए ।

सो लाइनसँगै उपत्यकाका तीन जिल्लामा २२०/१३२ र १३२/११ केभी क्षमताका एक/एक वटा सबस्टेसनसमेत निर्माण गर्ने तयारी छ । ‘बढ्दो सहरीकरणले उपत्यकामा जग्गा अधिग्रहण गर्न ज्यादै जटिल रहेकाले बाहिरी चक्रपथसँगै प्रसारण लाइन निर्माण गर्ने योजना अगाडि सारिएको हो’, कार्यकारी निर्देशक घिसिङले भने ।

प्राधिकरणअन्तर्गतको आयोजना व्यवस्थापन निर्देशनालयले आयोजनाको अध्ययन शुरु गरेको छ । लगानीका लागि एशियाली विकास बैंकलाई अनुरोध गर्ने योजना प्राधिकरणले बनाएको छ । चरम समस्याका रुपमा रहेको विद्युत् कटौती अन्त्य भएपछि काठमाडौँ उपत्यकामा विद्युत्को माग बढ्दै गएको छ । प्राधिकरणको विद्यमान संरचनाले माग र आपूर्तिको सन्तुलनलाई धान्न सक्दैन ।

अहिलेको प्रसारण तथा वितरण लाइन क्षमता कम तथा जीर्ण रहेकाले विद्युत् ट्रिपिङ हुने, ट्रान्सफर्मर जल्नेलगायतका समस्या व्यहोरिरहेको छ । दोलखामा निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित त्यस क्षेत्रमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा भित्र्याउन प्राधिकरणले अहिले खिम्ती–बाह्रबिसे ४००/२२० केभी प्रसारण लाइन निर्माण गरिरहेको छ । यसका लागि काठमाडौँको लप्सीफेदीमा २२०/१३२ केभी र भक्तपुरको चाँगुनारायणमा १३२/११ केभीको सबस्टेसन निर्माण गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजना करीब २० वर्षदेखि अलपत्र छ । ललितपुरका चापागाउँवासीसँग मुआब्जा र क्षतिपूर्तिमा सहमति जुट्न नसक्दा प्रसारण लाइनको निर्माण अवरुद्ध भएको हो ।

थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइनको काठमाडौँ र भक्तपुरतर्फको निर्माण सकिएको छ । तर मुआब्जामा चापागाउँवासीसँग सहमति जुट्न नसक्दा ललितपुरमा पर्ने करीब १५ किलोमिटर प्रसारण लाइन निर्माण हुन सकेको छैन । आयोजनाको काम आर्थिक वर्ष २०५५/५६ मा शुरु भएको थियो । यसले गर्दा पनि उपत्यकाको विद्युत् आपूर्तिमा समस्या छ ।

आयोजना र स्थानीयवासीबीच १३२ केभीको प्रसारण तारमुनि पर्ने नौ मिटर दायाँ र नौ मिटर बायाँको अधिकार क्षेत्र (राइट अफ वे) मा पर्ने जग्गाको मुआब्जामा सहमति हुन सकेको छैन । स्थानीय बासिन्दाले प्रसारण लाइनको बाटो नै परिवर्तन गर्नुपर्ने माग गर्दै आएका छन् । प्राधिकरणले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने योजना बनाई सोहीअनुसार काम गरिरहेको छ ।

नयाँ प्रसारण प्रणालीको निर्माणपछि काठमाडौँ उपत्यकाका नागरिकले मागेभन्दा बढी विद्युत् उपलब्ध गराउन सकिने प्राधिकरणको भनाइ छ । आगामी वर्षदेखि नै बढी विद्युत् खपत गर्न उपभोक्तालाई आग्रह गर्नुपर्ने अवस्था छ । सोही स्थितिलाई ध्यानमा राखेर प्रसारण प्रणालीमा सुधार गर्न लागिएको हो ।