बलात्कारपछि हत्या गर्ने युवकलाई जन्मकैद

0
बैतडी, १९ असोज किशोरीलाई बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई आज सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार भीमप्रसाद भुसालका अनुसार डिलासैनी गाउँपालिका–४ पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई जन्मकैदको फैसला सुनाइएको हो । जोशीलाई जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले आज सजाय सुनाएको हो। जोशीले २०७४ फागुन १७ गते साली नाता पर्ने पुर्चौडी नगरपालिका–१ हाटकी १७ वर्षीया डम्बरा भट्टलाई जबर्जस्ती करणी गरी हत्या गरेको थियो । पुर्चौडीमा व्यवसाय गरिरहेका जोशीले विद्यालयबाट घर फर्किरहेकी किशोरीलाई आफ्नै कोठामा जबर्जस्ती करणी गरी हत्या गरेको पुष्टि भएको छ । यस्तै मेलौली नगरपालिका–२ का २९ वर्षीय किशोरराम ओडले एक महिलालाई जबर्जस्ती करणी गरेको पुष्टि भएपछि आजै जिल्ला अदालतले उनलाई आठ वर्ष कैद र रु ४० हजार क्षतिपूर्तिको फैसला सुनाएको छ । ओडले गत जेठ ८ गते जबर्जस्ती करणी गरेको थियो । रासस

भारतलाई पराजित गर्दै नेपाल फाइलनमा

नेपाल भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय एक÷एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगको थियो । पेनालटीमा नेपालकी गोलकिपर अन्जना रानामगरको उत्कृष्ट प्रदर्शनले नेपाल फाइनल पुग्न सफल भयो । रानामगरले भारतको तीन पेनाल्टी रोकिन् भने एक गोल गर्न सफल भइन् । यसअघि रश्मीकुमारी घिसिङको गोलबाट १६ औँ मिनेटमा अग्रता लिएको नेपालले ६३ औँ मिनेटमा गोल खाएको थियो । भारतकी समीक्षाले ६३ औँ मिनेटमा गर्दै खेल बराबरीमा ल्याइन् । नेपालले फाइनलमा बङ्गलादेश र भुटानबीचको विजेतासँग खेल्नेछ । आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र बङ्गलादेश प्रतिस्पर्धा गर्दैछन् । नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा राना मगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन् । हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकास वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन् । रासस

नेपाल–प्यालेस्टाइनबीचको खेल शनिबार

डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो खेलमा शनिबार प्यालेस्टाइनसँग प्रतिष्पर्धा गर्दैछ । बुधबार भएको समूह चरणको पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न शनिबारको खेल जित्नै पर्नेछ । शनिबार बङ्गलादेशको सिल्हेट डिस्ट्रिक रङ्गशालामा साँझ ६ः१५ बजे शुरु हुने खेलमा नेपाल सेमिफाइनलमा पुग्न प्यालेस्टाइनलाई २–० गोलभन्दा बढीको अन्तरमा पराजित गर्नुपर्नेछ । अघिल्लो खेलमा तीन डिफेन्डर घाइते भएपछि नेपाल थप दबाबमा छ । ताजकिस्तानविरुद्धको खेलमा नेपालका कप्तान विराज महर्जन, अनन्त तामाङ र आदित्य चौधरी घाइते भएका थिए । उनीहरु तीनैजना प्यालेस्टाइनविरुद्धको खेलमा मैदान बाहिरै रहने छन् । समूह ‘ए’मा नेपालसहित प्यालेस्टाइन र ताजकिस्तान छन् । समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । साविक विजेताका नाताले नेपालले यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको हो । यसअघि प्यालेस्टाइनले बिहीबार भएको आफ्नो पहिलो खेलमा ताजकिस्तानलाई २–० गोलले हराएको थियो । यो अवस्थामा नेपाललाई सेमिफाइनल पुग्न प्यालेस्टाइनलाई कम्तीमा २–० गोलले हराउनुपर्ने बाध्यता छ । समूह ‘ए’मा रहेको नेपालले शून्य अङ्क हुँदा प्यालेस्टाइन र ताजकिस्तानको समान तीन तीन अङ्क रहेको छ । प्यालेस्टाइनसँग बराबरी मात्र भए नेपाल समूह चरणबाटै बाहिरिनेछ । नेपालले प्यालेस्टाइनलाई २–० गोलले हराए समूहका तीन टिमकै समान तीन÷तीन अङ्क हुनेछ । यस्तो अवस्थामा फेयर प्ले वा टस गरेर अन्तिम चारमा पुग्ने दुई टोलीको छिनोफानो हुनेछ । फिफा बरियतामा नेपालभन्दा निकै माथि रहेको प्यालेस्टाइनलाई पराजित गर्न नेपाललाई कठिन हुने देखिन्छ । नेपाल १६० औँ स्थानमा रहँदा प्यालेस्टाइन एकसयौँ स्थानमा छ । नेपाल र प्यालेस्टाइनबीच पछिल्लो पटक सन् २०१२ को एएफसी च्यालेन्ज कपमा प्रतिस्पर्धा भएको थियो । दशरथ रङ्गशालामा भएको खेलमा नेपाललाई प्यालेस्टाइनले २–० गोलले हराएको थियो । नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलान न्यौपाने, विशाल श्रेष्ठ, डिफेण्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, मिडफिल्डरमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का, तेज तामाङ र फरवार्डमा भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ तथा अन्जन विष्ट छन् । रासस  

साफ यू–१८ महिला फुटबलमा नेपाल–भारत भिड्दै

  काठमाडौँ, १९ असोज  भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो भूटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा ३ः१५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र बङ्गलादेश प्रतिस्पर्धा गर्नेछन् । समूह चरणमा एक खेलमा जित र एक खेलमा हार व्यहोर्दै नेपाल सेमिफाइलनमा पुगेको हो । समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० ले पराजित गरेको थियो भने बङलादेशसँग २–१ गोलले पराजित भएको थियो । नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा रानामगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन् । हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकास वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास छन् ।रासस