नेपाल–प्यालेस्टाइनबीचको खेल शनिबार
डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो खेलमा शनिबार प्यालेस्टाइनसँग प्रतिष्पर्धा गर्दैछ ।
बुधबार भएको समूह चरणको पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न शनिबारको खेल जित्नै पर्नेछ ।
शनिबार बङ्गलादेशको सिल्हेट डिस्ट्रिक रङ्गशालामा साँझ ६ः१५ बजे शुरु हुने खेलमा नेपाल सेमिफाइनलमा पुग्न प्यालेस्टाइनलाई २–० गोलभन्दा बढीको अन्तरमा पराजित गर्नुपर्नेछ ।
अघिल्लो खेलमा तीन डिफेन्डर घाइते भएपछि नेपाल थप दबाबमा छ । ताजकिस्तानविरुद्धको खेलमा नेपालका कप्तान विराज महर्जन, अनन्त तामाङ र आदित्य चौधरी घाइते भएका थिए । उनीहरु तीनैजना प्यालेस्टाइनविरुद्धको खेलमा मैदान बाहिरै रहने छन् ।
समूह ‘ए’मा नेपालसहित प्यालेस्टाइन र ताजकिस्तान छन् । समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । साविक विजेताका नाताले नेपालले यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको हो ।
यसअघि प्यालेस्टाइनले बिहीबार भएको आफ्नो पहिलो खेलमा ताजकिस्तानलाई २–० गोलले हराएको थियो । यो अवस्थामा नेपाललाई सेमिफाइनल पुग्न प्यालेस्टाइनलाई कम्तीमा २–० गोलले हराउनुपर्ने बाध्यता छ ।
समूह ‘ए’मा रहेको नेपालले शून्य अङ्क हुँदा प्यालेस्टाइन र ताजकिस्तानको समान तीन तीन अङ्क रहेको छ । प्यालेस्टाइनसँग बराबरी मात्र भए नेपाल समूह चरणबाटै बाहिरिनेछ । नेपालले प्यालेस्टाइनलाई २–० गोलले हराए समूहका तीन टिमकै समान तीन÷तीन अङ्क हुनेछ । यस्तो अवस्थामा फेयर प्ले वा टस गरेर अन्तिम चारमा पुग्ने दुई टोलीको छिनोफानो हुनेछ ।
फिफा बरियतामा नेपालभन्दा निकै माथि रहेको प्यालेस्टाइनलाई पराजित गर्न नेपाललाई कठिन हुने देखिन्छ । नेपाल १६० औँ स्थानमा रहँदा प्यालेस्टाइन एकसयौँ स्थानमा छ ।
नेपाल र प्यालेस्टाइनबीच पछिल्लो पटक सन् २०१२ को एएफसी च्यालेन्ज कपमा प्रतिस्पर्धा भएको थियो । दशरथ रङ्गशालामा भएको खेलमा नेपाललाई प्यालेस्टाइनले २–० गोलले हराएको थियो ।
नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलान न्यौपाने, विशाल श्रेष्ठ, डिफेण्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, मिडफिल्डरमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का, तेज तामाङ र फरवार्डमा भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ तथा अन्जन विष्ट छन् । रासस
साफ यू–१८ महिला फुटबलमा नेपाल–भारत भिड्दै
काठमाडौँ, १९ असोज भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ ।
नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो भूटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा ३ः१५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ ।
आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र बङ्गलादेश प्रतिस्पर्धा गर्नेछन् । समूह चरणमा एक खेलमा जित र एक खेलमा हार व्यहोर्दै नेपाल सेमिफाइलनमा पुगेको हो ।
समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० ले पराजित गरेको थियो भने बङलादेशसँग २–१ गोलले पराजित भएको थियो ।
नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा रानामगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन् । हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकास वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास छन् ।रासस
बसमा पत्रकारलाई पनि आरक्षित सिट
काठमाडौँ, १९ असोज नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ ।
साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा राखेको हो ।उपत्यकाभित्र लामो दूरीको सञ्चालन अनुमति पाएको उक्त कम्पनीका ४० सिट क्षमताका सबै बसमा सिट नं। १ र २ पत्रकार लागि छुट्याइएको छ । उक्त कम्पनीले अन्य बसहरूमा जस्तै महिला, ज्येष्ठ नागरिक, असक्त, बच्चा–आमा र अपाङ्गता भएका व्यक्तिका लागि पनि प्राथमिकताका साथ दुई–दुई सिट छुट्याएको बा५ख ६३९३ का चालक लीलाबहादुर कार्कीले जानकारी दिनुभयो ।
दक्षिणकाली र साँखुबाट एकैसाथ बिहान ४ः३० देखि साँझ ५ः३० सम्म प्रत्येक १५ मिनेटमा छुट्ने उक्त कम्पनीले तीनवटा रुटमा बस सञ्चालनको अनमुति पाएको छ । पहिलो रुटमा साँखु, जोरपाटी, चावहिल, कोटेश्वर बल्खु हुँदै दक्षिणकाली, दोस्रो रुट साँखु, जोरपाटी, चक्रपथ, कलङ्की, बल्खु हुँदै दक्षिणकाली र तेस्रो रुट साँखु, जोरपाटी, चावहिल, रातोपुल, ज्ञानेश्वर डिल्लीबजार, रत्नपार्क, त्रिपुरेश्वर, बल्खु हुँदै दक्षिणकालीसम्म कायम गरिएको छ । साँखुदेखि दक्षिणकालीसम्मको भाडा रु ९८ तोकिएकोे छ ।
पत्रकारलाई किन प्राथमिकता दिएर सिट आरक्षणको व्यवस्था गर्नुभयो भन्ने ज्ञिजासामा लगानीकर्तासमेत रहनुभएका चालक कार्की भन्नुहुन्छ, “क्यामेरा, डायरी, झोला बोकेर सधैँ हतार–हतारमा हिँडेर काम गर्नुपर्ने भएकाले बोकेका सामग्रीको सुरक्षा र राष्ट्रको चौँथो अङ्गका रुपमा रहेका पत्रकारलाई यात्रामा सुविधा होस् भनेर आरक्षणको व्यवस्था गरेका हौँ ।”
रासस
बलेवा विमानस्थल पुनः सञ्चालनमा
बलेवा, १९ असोज तीन महीनासम्म सञ्चालन भएर रोकिएको बागलुङको बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । कच्ची विमानस्थलमा वर्षाका बेला ट्वीनअटर विमानलाई समस्या भएकाले हवाई सेवा रोकिएको थियो । वर्षा रोकिएको र बिग्रिएका धावनमार्ग मर्मत गरिएकाले यही असोज २५ गतेदेखि पुनः हवाई सेवा सञ्चालन हुन लागेको बागलुङ नगरपालिकाले जनाएको छ ।
नेपाल एयरसँग रहेका दुई ट्वीनअटर विमानमा समस्या आएकाले मर्मतमा समय लागेको र तारा एयरका विमान दुर्घटनामा परेका कारण नियमित उडान रोकिएकोमा अब पुनः उडान सञ्चालन हुने बलेवा विमानस्थलका स्टेशन म्यानेजर कमलप्रकाश पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार असोज २५ गते बिहीबारका दिन नेपाल एयरको विमान काठमाडौँबाट यात्रु बोकेर बलेवामा अवतरण गर्नेछ । विमानस्थल पुनः सञ्चालनमा आउने भएपछि यात्रुको चापसमेत बढेको छ । तारा एयरको उडान तत्काल नहुने भए पनि नेपाल एयरले हरेक बिहीबार नियमित उडान भर्नेछ । असोज २५ गते बिहीबार काठमाडौँबाट आउने नेपाल एयरको विमानका सबै सिट बुकिङ भइसकेको बताइएको छ ।
“अहिले बागलुङदेखि काठमाडौँसम्म पुग्नका लागि ठाउँ–ठाउँको जाम र सडक निर्माण तथा मर्मतले धेरै यात्रु हैरानीमा परेका छन्, अबदेखि त्यस्तो हैरानी भोग्नु नपरोस् भनेर विमानस्थल नियमित सञ्चालनका लागि प्रयास गरिरहेका छौँ”, पौडेलले भन्नुभयो ।दुई दशकभन्दा लामो समयदेखि प्राय बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनका लागि विमान कम्पनीहरू तयार नभएपछि उक्त नगरपालिकाले यात्रुको सङ्ख्याका आधारमा कम्पनीलाई वित्तीय सुरक्षाको प्रत्याभूति दिलाएकाले उडान भर्न तयार नेपाल एयर र तारा एयर पुनः तयार भएका हुन् । नगर प्रमुख जनक पौडेलले जानकारी दिनुभयो ।