यौन तथा नैतिक शिक्षालाइ प्राथामिक तहको पाठ्यक्रममा समाबेश गर्नु पर्नेमा जोड

0
यौन तथा नैतिक शिक्षालाइ प्राथामिक तहको पाठ्यक्रममा समाबेश गर्नु पर्नेमा जोड सरिता तिम्सिना पगेनी समाजमा बढ्दो हत्या हिंसा र बलत्कारका घटनालाई न्युनिकरन गर्न यौन तथा नैतिक शिक्षालाइ प्राथामिक तहको पाठ्यक्रममा समाबेश गरिनु पर्नेमा जोड दिइएको छ ।परिबर्तनका लागि कार्य नेपालले छोरी बचाँउ अभियान अन्र्तगत पोखरामा बढ्दो महिला हत्या,हिंसा र बलत्कार बिरुद्ध सरोकारवाला संग गरिएको अन्तरक्रिया कार्यक्रममा कानुनको अनबिज्ञता,नैतिक शिक्षाको कमी, ,गरिबी,पारिवारिक बिखण्डन, जाँड रक्सी तथा लागुपदार्थ को प्रयोग,नैतिक शिक्षाको अभाब,पुरुष सत्ताले महिला सत्तालाइ अस्विकार गर्ने प्रबृत्ति , बढ्दो नास्तिक प्रबृत्ति ,दण्डहिनता ,अपराधमा राजनितिकरण ,प्रहरी प्रशासनको हेलचक्रयाइ,लगाएतका कारणले समाजमा हत्या हिंसा र बलत्कार जस्ता घटनाहरु बढिरहेको सरोकारवालाहरुले बताए । कार्यक्रममा बोल्दै पुर्ब सभासद शारदा पौडेलले समाजमा बालिका देखि जेष्ठ नागरिक महिला सम्म असुरक्षित बन्दै गएको भन्दै बढ्दो हत्या,हिंसा र बलत्कार रोक्न सरोकारवाला बिचको सहकार्य र एकता आबश्यक रहेको बताइन ।उनले टोलटोलमा महिलाहरु संगठित भएर प्रतिकार समुह गठन गर्न समेत सुझाब दिइन । पोखरा महानगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाका महिला बिकास अधिकृत कल्पना साप्कोटा ले महिला हिंसाको सवालमा सबै सरोकारवालाहरु जिम्मेवार भएर लाग्नु पर्ने बताउदै ,प्रहरीको साथ भयो भने पिडितलाइ तुरुन्तै न्याय दिन सकिने बताइन ।जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरिक्षक जगदिश रेग्मीले पछिल्लो समय स्कुले बालबालिका बढि हिंसामा परेको जानकारी दिदै ,यस बिषयमा अभिभाबक थप सचेत हुन पर्ने बताए। आफ्ना छोराछोरीले गरेका क्रियाकलाप प्रति अभिभाबकले निगरानी राख्नु पर्नेमा जोड दिदै उनले ,हिंसामा परेमा १०० र बालबालिका हराएमा १०४ नम्बरमा तुरुन्त सम्पर्क गर्न समेत आग्रह गरे ।नागरिक समाजका पुर्ब संयोजक राम बहादुर पौडेलले राजनितिको आडमा अपराधिलाइ संरक्षण दिन प्रबृत्ति रहेको भन्दै यसका बिरुद्ध नागरिक समाजले सधै खबरदारी गर्न आबश्यक रहेको बताए। कार्यक्रममा संस्थाका सल्लाहाकार अधिबत्ता शालिकराम भट्टराइ, सामाजिक अभियान्ताहरु अञ्जु केसी, माया गुरुङ्ग, बिबि बिष्ट, सुस्मा पौडेल,लालीमाया रेग्मी,मीना ढकाल,साबीत्री शर्मा,बिण्णु पौडेल,निशा नाजबुन खाँन लगाएतले बोलेका थिए ।परिबर्तनका लागि कार्य नेपालका अध्यक्ष गीता लामिछाने को अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण छोरी बचाँउ अभियानका प्रबत्ता क्रियाशिल पत्रकार महिला कास्की का अध्यक्ष सरिता तिम्सिना पगेनीले गरेकी थिइन ।

भूकम्पबाट अझै पनि एक हजार वेपत्ता

0
पालु, इन्डोनेसिया, १९ असोज इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी अझै पनि एक हजारभन्दा बढी व्यक्ति वेपत्ता भएको इन्डोनेसियाका सरकारी अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक हजारभन्दा बढी घरहरु सुनामीका कारण डुबानमा परेको खोजी तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफले जानकारी दिनुभयो । बलारोआ क्षेत्रमा रहेको एक सरकारी भवनमा पुरिएको आशंकामा खोजी र उद्धार कार्य जारी रहेको छ । उक्त भवनमा कति व्यक्ति थिए भन्ने अझै थाहा हुन सकेको छैन । तर, भूकम्पमा फसेका व्यक्तिको जीवितै उद्धार गर्ने सम्भावना अब कम हँुदै गएको मानवीय सहायतामा जुटेको संयुक्त राष्ट्रसङ्घको भनाइ छ । इन्डोनेसियाको तटीय शहर पालुमा गत शुक्रबार ७।५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पलगत्तै आएको सुनामीमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ५५८ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोले शुक्रबार बताउनुभएको छ । भूकम्पबाट तटीय शहर पालु सबैभन्दा बढी प्रभावित भएको छ । यस भूकम्पका कारण करिब दुई लाख व्यक्तिलाई मानवीय सहयोग आवश्य परेको र त्यसमा हजारौँ बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । यसैवर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९।१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण इन्डोनेसियामा मात्र एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो । रासस एएफपी

बलात्कारपछि हत्या गर्ने युवकलाई जन्मकैद

0
बैतडी, १९ असोज किशोरीलाई बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई आज सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार भीमप्रसाद भुसालका अनुसार डिलासैनी गाउँपालिका–४ पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई जन्मकैदको फैसला सुनाइएको हो । जोशीलाई जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले आज सजाय सुनाएको हो। जोशीले २०७४ फागुन १७ गते साली नाता पर्ने पुर्चौडी नगरपालिका–१ हाटकी १७ वर्षीया डम्बरा भट्टलाई जबर्जस्ती करणी गरी हत्या गरेको थियो । पुर्चौडीमा व्यवसाय गरिरहेका जोशीले विद्यालयबाट घर फर्किरहेकी किशोरीलाई आफ्नै कोठामा जबर्जस्ती करणी गरी हत्या गरेको पुष्टि भएको छ । यस्तै मेलौली नगरपालिका–२ का २९ वर्षीय किशोरराम ओडले एक महिलालाई जबर्जस्ती करणी गरेको पुष्टि भएपछि आजै जिल्ला अदालतले उनलाई आठ वर्ष कैद र रु ४० हजार क्षतिपूर्तिको फैसला सुनाएको छ । ओडले गत जेठ ८ गते जबर्जस्ती करणी गरेको थियो । रासस

भारतलाई पराजित गर्दै नेपाल फाइलनमा

नेपाल भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय एक÷एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगको थियो । पेनालटीमा नेपालकी गोलकिपर अन्जना रानामगरको उत्कृष्ट प्रदर्शनले नेपाल फाइनल पुग्न सफल भयो । रानामगरले भारतको तीन पेनाल्टी रोकिन् भने एक गोल गर्न सफल भइन् । यसअघि रश्मीकुमारी घिसिङको गोलबाट १६ औँ मिनेटमा अग्रता लिएको नेपालले ६३ औँ मिनेटमा गोल खाएको थियो । भारतकी समीक्षाले ६३ औँ मिनेटमा गर्दै खेल बराबरीमा ल्याइन् । नेपालले फाइनलमा बङ्गलादेश र भुटानबीचको विजेतासँग खेल्नेछ । आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र बङ्गलादेश प्रतिस्पर्धा गर्दैछन् । नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा राना मगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन् । हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकास वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन् । रासस