बसमा पत्रकारलाई पनि आरक्षित सिट
काठमाडौँ, १९ असोज नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ ।
साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा राखेको हो ।उपत्यकाभित्र लामो दूरीको सञ्चालन अनुमति पाएको उक्त कम्पनीका ४० सिट क्षमताका सबै बसमा सिट नं। १ र २ पत्रकार लागि छुट्याइएको छ । उक्त कम्पनीले अन्य बसहरूमा जस्तै महिला, ज्येष्ठ नागरिक, असक्त, बच्चा–आमा र अपाङ्गता भएका व्यक्तिका लागि पनि प्राथमिकताका साथ दुई–दुई सिट छुट्याएको बा५ख ६३९३ का चालक लीलाबहादुर कार्कीले जानकारी दिनुभयो ।
दक्षिणकाली र साँखुबाट एकैसाथ बिहान ४ः३० देखि साँझ ५ः३० सम्म प्रत्येक १५ मिनेटमा छुट्ने उक्त कम्पनीले तीनवटा रुटमा बस सञ्चालनको अनमुति पाएको छ । पहिलो रुटमा साँखु, जोरपाटी, चावहिल, कोटेश्वर बल्खु हुँदै दक्षिणकाली, दोस्रो रुट साँखु, जोरपाटी, चक्रपथ, कलङ्की, बल्खु हुँदै दक्षिणकाली र तेस्रो रुट साँखु, जोरपाटी, चावहिल, रातोपुल, ज्ञानेश्वर डिल्लीबजार, रत्नपार्क, त्रिपुरेश्वर, बल्खु हुँदै दक्षिणकालीसम्म कायम गरिएको छ । साँखुदेखि दक्षिणकालीसम्मको भाडा रु ९८ तोकिएकोे छ ।
पत्रकारलाई किन प्राथमिकता दिएर सिट आरक्षणको व्यवस्था गर्नुभयो भन्ने ज्ञिजासामा लगानीकर्तासमेत रहनुभएका चालक कार्की भन्नुहुन्छ, “क्यामेरा, डायरी, झोला बोकेर सधैँ हतार–हतारमा हिँडेर काम गर्नुपर्ने भएकाले बोकेका सामग्रीको सुरक्षा र राष्ट्रको चौँथो अङ्गका रुपमा रहेका पत्रकारलाई यात्रामा सुविधा होस् भनेर आरक्षणको व्यवस्था गरेका हौँ ।”
रासस
बलेवा विमानस्थल पुनः सञ्चालनमा
बलेवा, १९ असोज तीन महीनासम्म सञ्चालन भएर रोकिएको बागलुङको बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । कच्ची विमानस्थलमा वर्षाका बेला ट्वीनअटर विमानलाई समस्या भएकाले हवाई सेवा रोकिएको थियो । वर्षा रोकिएको र बिग्रिएका धावनमार्ग मर्मत गरिएकाले यही असोज २५ गतेदेखि पुनः हवाई सेवा सञ्चालन हुन लागेको बागलुङ नगरपालिकाले जनाएको छ ।
नेपाल एयरसँग रहेका दुई ट्वीनअटर विमानमा समस्या आएकाले मर्मतमा समय लागेको र तारा एयरका विमान दुर्घटनामा परेका कारण नियमित उडान रोकिएकोमा अब पुनः उडान सञ्चालन हुने बलेवा विमानस्थलका स्टेशन म्यानेजर कमलप्रकाश पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार असोज २५ गते बिहीबारका दिन नेपाल एयरको विमान काठमाडौँबाट यात्रु बोकेर बलेवामा अवतरण गर्नेछ । विमानस्थल पुनः सञ्चालनमा आउने भएपछि यात्रुको चापसमेत बढेको छ । तारा एयरको उडान तत्काल नहुने भए पनि नेपाल एयरले हरेक बिहीबार नियमित उडान भर्नेछ । असोज २५ गते बिहीबार काठमाडौँबाट आउने नेपाल एयरको विमानका सबै सिट बुकिङ भइसकेको बताइएको छ ।
“अहिले बागलुङदेखि काठमाडौँसम्म पुग्नका लागि ठाउँ–ठाउँको जाम र सडक निर्माण तथा मर्मतले धेरै यात्रु हैरानीमा परेका छन्, अबदेखि त्यस्तो हैरानी भोग्नु नपरोस् भनेर विमानस्थल नियमित सञ्चालनका लागि प्रयास गरिरहेका छौँ”, पौडेलले भन्नुभयो ।दुई दशकभन्दा लामो समयदेखि प्राय बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनका लागि विमान कम्पनीहरू तयार नभएपछि उक्त नगरपालिकाले यात्रुको सङ्ख्याका आधारमा कम्पनीलाई वित्तीय सुरक्षाको प्रत्याभूति दिलाएकाले उडान भर्न तयार नेपाल एयर र तारा एयर पुनः तयार भएका हुन् । नगर प्रमुख जनक पौडेलले जानकारी दिनुभयो ।
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक स¥यो
काठमाडौँ, १८ असोज नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि सरेको छ ।
काङ्ग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार बोलाएकोमा विशेष कारणवश बैठक असोज २२ गते सोमबार दिँउसो १ बजेसम्मका लागि सारिएको हो ।
काङ्ग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
काङ्ग्रेसले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितीका लागि अनुरोधसमेत गरेको छ । रासस
चाडपर्वहरुको पुर्ब सन्ध्यामा जिल्ला प्रहरी कार्यलय कास्कीको सुरक्षा ब्यबस्था बलियो
हिन्दुहरुको महान चाड बिजया दशमी, शुभ दिपावली, नेपाल संवत तथा ल्होसार लगायतका चाडपर्वहरुको पुर्ब सन्ध्यामा जिल्ला प्रहरी कार्यलय कास्कीले सुरक्षा ब्यबस्था बलियो बनाएको जनाएको छ ।
बिहिबार जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरेर विभिन्न ठाउँमा १८ प्रकारको चकिङ गर्ने ५ सय ८६ जनशक्ति सुरक्षाको लागि परिचालित गर्ने जानकारी दिएका छन् । चाडपर्वको समयमा हुन सक्ने संभावित अपराधिक घटना तथा सवारी दुर्घटनाहरुलाई नियन्त्रण गर्न प्रभावकारी ढंगबाट प्रहरी परिचालन गरी कास्कीमा रहेका पोखरा महानगरपालिका, गाउँपालिका लगाएत विभिन्न ठाउँमा सुरक्षा ब्यवस्था थप गरिएको बताए ।
राजमार्ग गस्ती, मोटरसाईकल गस्ती, मोवाईल गस्ती, पैदल गस्ति, बिशेष चेकिङ, सरप्राईज चेकिङ, एम्बुसिङ, लगायतका कुराहरुको परिचालन गरिने र उक्त योजना अनुसार २० गते देखि सुरक्षालाई कडा पारिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले जानकारी दिए । अपराध नियन्त्रण र घटित अपराधको प्रभावकारी अनुसन्धानको व्यवस्था मिलाउने, प्रहरी जनशक्ति र साधनहरुलाई समन्वयात्मक रुपमा परिचालन गरी पोखरा महानगरका र ग्रामिण इलाकामा रहेको सम्पूर्ण क्षेत्रहरुको सुरक्षा अवस्था सामान्य कायम राख्ने रानाले जानकारी दिए ।
मादक पदार्थ सेवन गरी सवारी चलाउनेमा वृद्दि रहेको, पटेका, प्रज्वनशिल जस्ता क्रियाकलाप भएको, देउसी भैलोको नाममा रातभरि होहल्ला गर्ने जस्ता घटनाहरु रोक्ने रानाको भनाई छ । कोत्रे, गगनगौडा, बिजयपुर र तालचोक, याम्दी, हेम्जा, कालिमाटी, खाडेखोला लगायतका ठाउँमा कुकुरको सहयोगले चेकिङ गर्ने प्रहरीको योजना रहेको कुरा जानकारी दिए ।