पोखरामा पानको व्यापार फस्टाउँदै
पोखरा, १५ असोज । पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात ंं….!’ गीतको रचयिताले पानको पातसँग प्रेमको तुलना गरेर आफ्नो मायालाई गीतको माध्यमबाट वर्णन गर्न खोजेको छ ।
‘हो, रहेछ !’ पानको पातसँग जोडेर प्रेमीले जसरी प्रेमीकासमक्ष आफ्ना व्यथा प्रस्तुत गरेका छन् । यसलाई अर्को रुपमा भन्दा जसरी प्रेमको वियोगमा प्रेमी छटपटाइरहन्छन्, त्यसरी नै प्रेममा डुबेका व्यक्ति मुखमा पान चपाउन नपाउँदा मायामा छटपटाइ रहन्छन् । तराईमा पान सहज रुपमा पाइने तर, कतिपय पहाडी जिल्लामा पान नपाउँदा, पानको मायामा छटपटाउनु स्वभाविक हो ।
अन्नपूर्ण र माछापुच्छे« हिमालको काखमा अवस्थित पर्यटकीय नगरी पोखरा पानको पातसँग माया गाँसेर यसको व्यवसायमा आफ्नो पहिचान स्थापित गरेकाले पानका लागि छट्पटाउनुपर्ने अवस्था भने यहाँ छैन् । तराईमा अतिथि र साथीसँग बजारमा वा घरमा भेटघाट हुँदा पान खुवाएर सत्कार गर्ने चलन छ । पानको महत्व पूजापाठदेखि अतिथि सत्कारमा सीमिति नरही र यो रोजगारको दरिलो माध्यम पनि बनेको छ ।
कम पूँजीमा बढी मुनाफा दिने व्यापारको रुपमा पानको व्यवसायलाई लिन सकिन्छ । पसल थाप्न सानो ठाउँ भए पुग्छ । पानका सामग्रीका लागि बढीमा पाँच हजारको लगानीमा यसको व्यापार गर्न सकिन्छ । पोखराको मुख्य बजार र चोक चौराहामा पानको व्यापार फस्टाएको छ । महानगरको पृथ्वीचोक, सिर्जना चोक, महेन्द्रपुल चोक, चिप्लेढुङ्गा, सिद्धार्थ चोक, गैरापाटन, बागलुङ बसपार्कनजिक, विरौटा, रत्नचोक, बसपार्क, राष्ट्रबैंक चोक, शान्तिचोक, लेकसाइड, रामबजार, बगर र अमरसिंह चोक गरी दुई दर्जनभन्दा बढी पान पसल छन् ।
यसका साथै, काठको घर्राजस्तोमा डोरी बाँधेर गर्धनमा झुण्ड्याइ पोखरा बजारका सडकमा घुम्दै पानको ब्यापार गर्ने एक दर्जनको हाराहारीमा छन् । पर्यटकीय नगरी पोखराका स्थायी बासिन्दाबीच पानप्रति त्यति मोह नभए पनि तराईका बासिन्दाका साथै पोखरा घुम्न आउने भारतको उतरप्रदेश र बिहारका मानिस नै बढी पान खाने गरेका छन् ।
तराईका बजारमा पान पसल खोज्न भौँतारिनुपर्दैन । पोखरामा पान पसलको स्थल थाहा नभएको अवस्थामा भौँतारिनुपर्ने अवस्था छ । सप्तरी घर भई हाल पोखरामा व्यापार गर्दै आउनुभएका सत्यनारायण मण्डल दैनिक रुपमा पान खाने गरेको बताउनुहुन्छ । पोखरामा दैनिक रु एक लाखभन्दा बढीको पान बिक्री हुने अनुमान गरिएको छ । दैनिक रुपमा एउटा पान पसलेले न्यूनतम ५० खिल्ली पान बिक्री गरेको अवस्थामा सो रकम बराबरको पान बिक्री भएको अनुमान गरिएको हो । प्रतिखिल्ली रु १५ देखि रु ६० सम्ममा पान बिक्री हुनेगरेको छ ।
पानका अर्का पारखी ललनकुमार झा पोखरामा पानको व्यवसाय राम्रो रहेको र आपूm दिनमा तीन–चार खिल्ली पान खाने गरेको बताउनुहुन्छ । सिर्जना चोकमा विगत बीस वर्षदेखि पानको व्यापार गर्दै आउनुभएका राकेश कुमार पानको व्यापारबाट सन्तुष्ट हुनुहुन्छ । “सबै दिन एकनासको बिक्री हुँदैन,” उहाँले भन्नुभयो । व्यापारबाट आपूm सन्तुष्ट भएको उहाँ बताउनुहुन्छ । पानको व्यापारबाट राजश्वसमेत प्राप्त हुन्छ । वर्षेनी आन्तरिक राजश्व कार्यालय, नगरपालिकालगायतमा रु १० हजारसम्म कर तिर्ने गरिएको उहाँले बताउनुभयो ।
पोखरामा तीन थरीको पानको पातको व्यापार हुने गर्दछ । बङ्गलापता, मीठापता र पहेँलो रङ्गको पात । भारतको कोलकातालगायत ठाउँबाट वीरगञ्ज र भैरहवा भएर पानको पात पोखरा भित्रिने गर्दछ । थोक बिक्रेताले अधिकांश पसलमा पान पु¥याउने गर्छन् । पानका अन्य सामग्री कत्था र सुपारी नेपालकै हो । मीठा पानमा प्रयोग हुने सामग्रीका साथै जर्दा, चुना, पिलापतिलगायतका सामग्री भारतबाट आयात गरिन्छ ।
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह
१५ आश्विन २०७५, सोमबार
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकसित रहेका अथाह ज्ञान, सीप र अनुभवलाई देश विकासमा लगाउनुपर्ने आँैल्याउनुभएको छ । राष्ट्रपति कार्यालयद्वारा २८आँै ज्येष्ठ नागरिक दिवसका अवसरमा आज राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकमा रहेका ज्ञानको पुञ्जले नै समुन्नत समाजको निर्माण गर्न सकिन्छ भन्नुभयो । उहाँले मानिसको जीवनचक्रानुसारको भौतिक संरचना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकलाई दया र मायाका पात्रबाट होइन, राष्ट्र निर्माणका धरोहरका रुपमा लिन आग्रह गर्दै सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा विशेष ध्यान जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजका कला, साहित्य, राजनीति, पत्रकारिता, प्रशासन, चिकित्सा, इतिहास, वैदेशिक मामिलालगायत क्षेत्रका अग्रणी ज्येष्ठ नागरिकसित भलाकुसारीसमेत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश नं ३ का प्रमुख अनुराधा कोइराला, वरिष्ठ साहित्यकार वैरागी काइँला, तारानाथ शर्मालगायतको सहभागिता थियो । सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले संविधान जारी भएपछि तीनै तहको निर्वाचनबाट राजनीतिक स्थिरता आएको हुँदा अब यसलाई अवसरका रुपमा लिई सबै मिलेर देश विकास गर्नुपर्छ भन्नुभयो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सरकारलाई सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालनमा गर्न आग्रह गर्नुभयो । वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले ज्येष्ठ नागरिकले आफ्नो हातखुट्टा चलेसम्म आफ्ना ज्ञान र सीपलाई उपयोगमा ल्याइरहनुपर्छ भन्नुभयो । नागरिक अगुवा डा गौरीशङ्करलाल दास प्रधानले आफ्ना ज्ञान, सीप र अनुभवलाई उपयोगमा ल्याउन सरकारसँग आग्रह गर्नुभयो । महिला मन्त्रालयका सहसचिव वीरबहादुर राईले ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधनका क्रममा रहेको जानकारी दिनुभयो । यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ’ भन्ने छ । पछिल्लो तथ्याङ्कानुसार नेपालमा ६० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकको सङ्ख्या करीब २५ लाख छ ।एसिसी यू–१९ एसिया कप क्रिकेट नेपाल समूह चरणबाटै बाहिरियो
१५ आश्विन २०७५, सोमबार
पोखरा । नेपाल बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । आज अफगानिस्तानसँग तीन विकेटले पराजित हुँदै नेपाल एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले १३१ रन मात्र बनाएको थियो । १३२ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३७ ओभर ३ बलमा सात विकेट गुमाएर पूरा ग¥यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर ३ बलमा अलआउट हुँदै १३१ रन बनाएको थियो । नेपालका लागि रोहितकुमार पौडेलले ४९ रन जोडे पनि टोलीको उच्च स्कोर बन्न सकेन । नेपालका लागि राशिद खानले २९ तथा कप्तान आरिफ शेखले २० रन जोडे । ऋत गौतमले १० रन जोड्दा नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।
नेपाललाई १३१ रनमै समेट्ने क्रममा अफगानिस्तानका अजमातुल्लाह ओमरजाईले चार विकेट लिए । कैस अहमद र अब्दुल रहमानले समान दुई÷दुई विकेट लिएका थिए । अङ्क तालिकामा नेपाल र युएईले खाता खोल्न सकेका छैनन् ।
भारत र अफगानिस्तान दुई–दुई खेल जित्दै समान चार÷चार अङ्क जोडेर सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि असोज १३ गते भएको पहिलो खेलमा नेपाल भारतसँग १७१ रनले पराजित भएको हो । नेपालले मङ्गलबार युएईसँग खेल्नेछ ।
धनगढीमा जारी आमहड्ताल स्थगित
धनगढी । प्रदेश नम्बर ७ को प्रदेश सभाले राजधानी र नाम तोकेको निर्णय विरुद्ध धनगढीमा जारी आमहड्ताल स्थगित गरिएको छ । नागरिक समाज संघर्ष समिति धनगढीले प्रेस विज्ञप्ति जारी गर्दै आमहड्ताललाई स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गरेको जनाएको छ ।
नेपालीहरुको महान चाड बडादशैं नजिकिए संगै धनगढीस्थित विभिन्न संघ संस्थाहरुको आग्रह र बिद्यार्थीहरुको परीक्षालाई असर पर्न जाने हुँदा तल्काललाई आमहड्ताल स्थगित गरी आन्दोलनको स्वरुप परिबर्तन गरिने विज्ञप्ति मार्फत जनाइएको छ ।
आन्दोलनलाई बदनाम पार्न सरकारले घुस पैठ गर्ने तयारी गरेको बुझिएपछि आन्दोलनको स्वरुप परिवर्तन गर्नु परेको जनाइएको छ । आन्दोलनका भावी कार्यक्रम सोमबार घोषणा गरिने जनाइएको छ ।
प्रदेश सभाले प्रदेश नम्बर ७ को राजधानी गोदावरी २ र ४ मा पर्ने तेघरीस्थित अन्तरास्ट्रिय मोहना जैविक मार्गमा राख्ने प्रस्ताव पेश गरिए लगत्तै धनगढीमा आन्दोलन सुरु भएको थियो ।
प्रस्तावित राजधानी र नामको बिषयमा धनगढी र डोटीमा असन्तुष्टि जनाउँदै आन्दोलन गरिए पनि प्रदेश सभाले दुई तिहाई बहुमतले प्रस्ताव पारित गरि चुरेको फेदमै रहेको जैविक मार्गमै राजधानी तोकेको थियो ।
प्रदेश नम्बर ७ को मुख्य ब्यापारिक नाका धनगढीमा गरिएको हडतालका कारण जनजीवन नराम्ररी प्रभावित बन्न पुगेको थियो ।
सोमबार राति ८ बजे धनगढी उपमहानगरपालिकाभित्र १ घण्टा ब्ल्याक आउट गर्ने निर्णय गरिएको संघर्ष समितिले विज्ञप्तिमार्फत जनाएको छ ।