भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो (फोटोफिचर)

काठमाडौं–राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि नाडा अटो– शो सुरु भएको छ । सवारी साधनहरुको समग्र जानकारी दिने उद्देश्यले नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालले नाडा अटो शो आयोजना गरेको हो । अटो शो को उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ऋण लिएर गाडी खरिद नगर्न व्यवसायीहरुलाई आग्रह गरे । उनले ऋण लिएर गाडी खरिद गर्दा मुलुकको अर्थतन्त्र झनै ओरालो लाग्नेतर्फ व्यवसायीहरुलाई सचेत पनि गराए । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको अटो मोवाइल्स क्षेत्रको प्र्रवद्र्धनमा आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरे । उनले उनले मुलुकको व्यापार घाटालाई कम गर्न पनि अटो मोवाईल्स क्षेत्रले योगदान दिनसक्ने पनि स्मरण गराए । शो मा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्रान्डका २ पाङग्रे सवारी साधनहरु राखिएको छ । अटो शोमा यस वर्ष ७१ वटा कम्पनीहरुको सहभागिता रहेको छ । ६ दिनसम्म चल्ने शोमा १ सय ४ वटा स्टल रहेका छन । अटो मोवाईल्स क्षेत्रले गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा २० प्रतिशत योगदान दिएको छ ।

५ लाखसम्म छुट, ४ करोडसम्म मूल्य : यस्ता छन् नाडा अटो शोमा गाडीहरु

काठमाडौँ । तपाईं गाडी वा मोटरसाइकल खरिद गर्ने सोचमा हुनुहुन्छ ? यदि त्यस्तो हो भने राजधानीको भृकुटीमण्डपमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीको महामेला आजबाट (मंगलबार) शुरु भएको छ ।  १३ औ संस्करणको नाडा अटो शो भदौ ३१ गतेसम्म चल्नेछ । सबै प्रकारका सवारी साधन र अटोसम्बन्धी पार्टपुर्जाहरु एकै छानामुनि पाइने र विशेष छुटसहित बुकिङ गर्न सकिने व्यवस्था मेलामा छ । मेलामा हिरो, टाटा, स्कोडा, फोर्ड, ड्याट्सन, स्याङयोङ, हुण्डाइ लगायतका कम्पनीको गाडीको स्टलमा निकै भिड देखिएको छ । उद्घाटनकै समयमा गाडी खरिद गर्न चाहनेहरुको भिड लागेको छ । हामीले हरेक स्टलमा गएर कुन कम्पनीको चारपाङ्ग्रे सवारीको मूल्य कतिदेखि कतिसम्म (न्युनतम र अधिकतम) निर्धारण गरिएको छ भनेर बुझ्न खोज्यौ । कतिपय स्टलमा ५ लाखसम्मका छुट दिइएको देखिन्छ कसैले २ लाख त कसैले फाइनान्सिङ सुविधामा सहुलियत दिएको देखियो । ६ दिनसम्म चल्ने यो शो मा ६० हजारले अवलोकन गर्ने आयोजकको दाबी छ । नाडा अटो शोमा सबै ब्राण्डले स्थान भने पाएका छै्रनन् । आयोजक ठाउँ अभावका कारण त्यसो भएको दाबी गर्छ । गत आर्थिक वर्षमा सवारीसाधनको आयात १.४९ प्रतिशतले खुम्चिएको थियो । यसबर्ष सरकारले सवारी साधनमा  इन्जिन क्षमता अनुसार करको बृद्धि गरेको छ । यद्यपि, सवारी आयातमा बृद्धि हुने सवारी साधन व्यवसायीहरुको अपेक्षा छ ।

साल्ट ट्रेडिङले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने

काठमाडौं– साल्ट ट्रेडिङ लिमिटेड कर्पोरेशनले दशैं तिहार र छठ पर्वलाई मध्यनजर गर्दै विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । त्यस्तै मोवाइल भ्यानबाट विभिन्न ठाउँमा खाद्य बस्तु पनि बिक्री गर्ने योजना बनाएको पनि साल्टले जनाएको छ । साल्टले आफ्नो ५६ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सो कुराको जानकारी गराएको हो । बुधबार भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले लिमिटेडले आम जनतलाई गुणस्तरीय सामान सुपथ मूल्यमा विक्री गर्दै आएको बताइन् । उनले लिमिटेडले आफ्ना सेवा सातै प्रदेशमा विस्तार गरेको भन्दै कृषि विकासमा सहयोग पुर्याउन अनुदानको मल र कृषि औजार बिक्री गरेको, गहुँको बिउ प्रशोधन गरेर किसानसमक्ष पर्याएको तथा प्रशोधित तोरीको तेल उद्योग स्थापनाको तयारी भइरहेको बताइन् । त्यस्तै उनले ५ सयलाई स्वदेश र आठ जनलाई थाइल्याण्डमा तालिम दिएर दक्ष जनशक्ति तयार गरिरहेको भन्दै कर्पोरेशनबाट वितरण हुने ग्यास र आयोडिनयुक्त नुनको विक्री  बढेको जानकारी पनि दिइन् ।

शेयर बजारः दोहोरो अङ्कको वृद्धि

काठमाडौँ– धितोपत्र बजारमा यस साताकै उच्च वृद्धि आज भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १३.०६ अंकले वृद्धि भई एक हजार २३० बिन्दुमा पुगेको छ । बजारमा दोहोरो अंकको वृद्धि भई कारोवार रकममा समेत वृद्धि भएको छ । मंगलबार एक हजार २१७ बिन्दुमा रहेको शेयर आज १३.०६ अंकको वृद्धि सँगै अर्को उचाइमा पुगेको हो । कूल १६५ कम्पनीको रु ४३ करोड २९ लाख ५७ हजार ६८ मूल्यबराबरको शेयर किनबेच भएको थियो । स्टकका अनुसार आज होटल १.४१, फाइनान्स र उत्पादन समूह क्रमशः २.२३ र २.६८ बिन्दुले घटे पनि अरु उपसमूहको शेयर भने वृद्धि भएको छ । स्टकका अनुसार बैंकिङ १३.९८, विकास बैंक १४.८४, जलविद्युत् ४.८१, निर्जीवन बीमा ११३.५२, अन्य ७.१९, माइक्रोफाइनान्स १५.८८ र निर्जीवन बीमा समूह ३.९८ बिन्दुले बढेका छन् । कारोवारका आधारमा यस दिन एनआइसी एशिया बैंकको शेयर कारोवार आज अग्रस्थानमा छ । सो बैंकको रु चार करोड ८९ लाखको कारोवार हुँदा मूल्य प्रतिकित्ता शेयर मूल्य रु ४०७ कायम हुन पुगेको छ । ग्लोबल आइएमई बैंकको रु तीन करोड ६९ लाखबराबरको शेयर कारोवार भएको छ । रिडी हाइड्रोपावर कम्पनी र मल्टी पर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ५.२ प्रतिशतले बढेको स्टकले जनाएको छ । बजार उच्च बिन्दुले बढ्दासमेत आइसिएफसी फाइनान्सका शेयर लगानीकर्ताले सबैभन्दा धेरै अर्थात् ५.७ प्रतिशत गुमाएका छन् ।