हेमजामा आलु महोत्सव सुरु
श्रीभद्र पौडेल
पोखरा ।आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।
त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव शुभारम्भ गर्नुहुँदै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले महानगर किसानको पक्षमा रहेको स्पष्ट पार्नुहुँदै कृषि उपजका नाममा महोत्सव गरिनु आफैमा महत्वपूर्ण भएको औँल्याउनुभयो । उहाँले आलु महोत्सवलाई महानगरले अपनत्व लिइरहेको उल्लेख गर्नुहुँदै सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले क्लवको निर्माणधिन बहुउद्देश्यीय भवनलाई पूर्णता दिन महानगर तयार रहेको स्पष्ट पनि पार्नुभयो ।
गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था मन्त्रालयका सचिव वासुदेव रेग्मीले हेमजामा खेतीयोग्य जमिन क्रमश घडेरीकरण हुँदै जानु दुःखद् भएको औँल्याउँनुहुँदै आलुको उत्पादन तथा उत्पादकत्व बृद्धितर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले औधोगिक आलु उत्पादनको महत्वमाथि प्रकाश पार्नुहुँदै कृषि उपजको आयात दर घटाउन सके देश क्रमशः समृद्ध बन्दै जाने स्पष्ट पार्नुभयो । पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहनुभएका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले विष्णुपादुका क्लव हेमजाको पहिचान स्थापित क्लव भएको स्पष्ट्र पार्नुहुँदै क्लवले आलु महोत्सव मार्फत हेमजा र समग्र पोखरा क्षेत्रलाई नै ब्राण्डिङ गर्न भूमिका खेलेको जनाउनुभयो ।
महोत्सवले कृषि पेशामा लाग्न कृषकहरुलाई हौसला थप्ने उहाँको भनाई छ । क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले सबैको साथ सहयोगले आलु महोत्सवले निरन्तरता पाइरहेको उल्लेख गर्नुहुँदै क्लवले सामाजिक उत्तरदायित्वपूर्ण गतिविधिलाई निरन्तरता दिने जनाउनुभयो । उद्घाटनकै अवसरमा हलगोरु पाल्ने कृषक विजय रानामगर, हरीकुमार परियार र गंगाबहादुर कार्कीलाई नगद रु. १० हजार सहित सम्मान गरियो ।त्यस्तै हेमजामा जन्मिएर नेपाली भाषा साहित्यको क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुभएको भन्दै भाषाविद् मुकुन्दशरण उपाध्याय पनि सम्मानित हुनुभयो ।
त्यस्तै हालै निर्माण सम्पन्न गरिएको सुविद्यासम्पन्न शौचालयको पनि उद्घाटन भयो । महोत्सव सुरु हुनुपुर्व बाजागाँजा, कृषि झाँकी सहित विष्णुपादुका माइस्थानबाट शोभायात्रा सुरु भएकोमा उक्त शोभायात्रा मिलनचोक, नहरचोक, साँझाचोक, सोतीपसल हुँदै महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेको थियो । वि.सं. २०७८ को जनगणना अनुसार हेमजामा कुल ३ हजार ५ सय १७ घरमा २२ हजार ५ सय ३२ मानिस वसोबास गर्दछन् । हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ ।
त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आउनुभएको छ । त्यहाँ प्रति रोपनी आलुको औसत उत्पादन लागत रु.१८ हजार ५ सय ५७ रहेकोमा औषद उत्पादन ७ सय ५ केजी प्रतिरोपनी रहेको तथ्याङकमा उल्लेख छ ।
महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलुको कारोवार भइरहेको छ ।आजदेखि सुरु महोत्सव यहि वैशाख ३ गतेसम्म संचालन हुनेछ। मूल समारोह समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम महासचिव हिक्मत थापा तथा संचारकर्मी परशुराम अधिकारीले संयुक्त रुपमा संचालन गर्नुभयो
सराङकोट महायज्ञबाट करिव साढे २ करोड बचत
पोखरा । यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा करिव साढे २ करोड बचत भएको छ । आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले आज बिहीबार एक कार्यक्रमका बीच महायज्ञको आय व्यव विवरण सार्वजनिक गरेको हो ।जसअनुसार यज्ञमा रु.३ करोड १ लाख ९२ हजार, ३ सय ५५ दान संकलन भएकोमा ५३ लाख ९४ हजार ६ सय २८ खर्च कटाई रु.२ करोड ४७ लाख ९७ हजार ७ सय २७ बचत हुन आएको महायज्ञका सहमहासचिव भेकबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँले त्यसमध्ये ५५ लाख अक्षयकोषवापत प्राप्त हुन आएको पनि स्पष्ट पार्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महायज्ञका प्रमुख वाचक भागवत् भाष्कर पण्डित कमलनयन गौतमले सबैको साथ सहयोगले यज्ञ सफल भएको जनाउनु हुँदै अझै पनि सहयोग आउनेक्रम जारी रहेको बताउनुभयो। उहाँले दानको महत्वमाथि प्रकाश पार्नुहुँदै आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको क्रियाशिलताको प्रशम्सा गर्नुभयो । समितिका अध्यक्ष प्रेमबहादुर जिसीले यज्ञमा खट्नुहुने सबैप्रति आभार प्रकट गर्नुहुँदै २० वर्षसम्मको निरन्तर साधानाका कारण सराङकोटमा हालसम्मका संरचना निर्माण गर्न सफल भएको औँल्याउनुभयो ।उहाँले सराङकोटको स्तरबृद्धिमा सहयोग गर्ने पोखरा महानगर, गण्डकी प्रदेश सरकार, पोखरा क्षेत्रका स्थानीयवासी लगायत सबै भक्तजनप्रति धन्यवाद समेत प्रकट गर्नुभयो । वडा सदस्य समेत रहनुभएकी महायज्ञ मूल आयोजक समितिकी सहअध्यक्ष कल्पना ढकाल क्षत्रीले सराङकोट पोखरा क्षेत्रकै प्रसिद्ध धाम रहेको उल्लेख गर्नुहुँदै उक्त धामलाई अझै व्यवस्थित गर्दै लैजानुपर्ने स्पष्ट पार्नुभयो। कार्यक्रमका बीच महायज्ञमा सहयोग पु¥याउनुहुने आमा समूह, युवा क्लव, भजन समूह, वाजा समूह लगायत विभिन्न संघ संस्था एवम् व्यक्तिलाई सम्मान गरियो।
सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य कल्पना ढकाल क्षत्रीले स्वागत तथा महायज्ञका सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गर्नुभयो । सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन्
। ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ । यही फागुन १४ गते सराङकोट धामको राष्ट्रपति रामचन्द्र पौडेलले एक समारोहका बीच उद्घाटन गर्नुभएको थियो ।
मन्त्री केसीले दिए संसदमा उठेका प्रश्नको जवाफ
पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले संसदमा आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नको जवाफ दिएका छन् । गण्डकी प्रदेश सभामा सांसदहरूले शून्य समयमा उठाएका प्रश्नको जवाफ दिने क्रममा आइतबार मन्त्री केसीले समयमा काम नगर्ने निर्माण व्यवसायीलाई नियमअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने बताए । ठेक्काबमोजिम काम नगर्ने ठेकदारलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा डाकेर काम अगाडी बढाउन निर्देशन दिइएको उनले सुनाए । साथै निर्धारित समयभित्र काम सक्न ताकेता गरेका मन्त्री केसीले बताए ।
निर्माण व्यवसायीलाई निर्माण कार्य अगाडी बढाउन निरन्तर प्रगति मूल्यांकन पेश गर्न पत्राचार गरिएको एवं समयभित्र सडक निर्माण सम्पन्न हुन नसके कानुनबमोजिम पत्राचार गर्ने उनको भनाइ थियो । गत आ।व २०८०र८१ को वार्षिक विकास कार्यक्रममा न्यून बजेट विनियोजन भएको कारण वहुवर्षीय योजनामा रकम अपुग भएकोमा सालबसाली योजनाहरुको ठेक्का व्यवस्थापनबाट बचत हुन आएको रकम काम भएका वहुवर्षीय योजनामा रकमान्तरका लागि आर्थिक मामिला मन्त्रालयमा पेश भएको उनले जानकारी दिए । तर हालसम्म रकमान्तर नभएको कारणले निर्माण स्थलबाट निर्माण व्यवसायीले निर्माण कार्य बन्द गरेको अवस्था रहेको मन्त्री केसीले बताए । म्याग्दीका विभिन्न खण्डमा पहिरो गई फाफरखेत सडक अवरुद्ध भएकोमा मर्मत सम्भार शीर्षकमा विनियोजित बजेटबाट सडक खुलाई आवागमनलाई सहज गर्न मन्त्रालय सफल भएको उनले दाबी गरे । मन्त्री केसीले प्रदेशमा भएका सडकलाई सुरक्षित बनाउन सडकको लागत इस्टिमेट गर्दै सुरक्षासम्बन्धी ट्राफिक संकेत चिन्ह एवं आवश्यक स्थानमा क्यार्स व्यारियर जडान गर्ने कामका लागि रकम विनियोजनको व्यवस्था गरिएको मन्त्री केसीले सुनाए । क्षति भएका र मर्मत गर्नुपर्ने सडकलाई स्वीकृत बजेटको परिधिभित्र रहेर क्रमश प्राथमिकताको आधारमा सम्बन्धित पूर्वाधार विकास कार्यालयको सिफारिसमा मर्मत गर्दै आएको उनले जानकारी गराए ।
केही क्षतिग्रस्त सडकहरुको सम्बन्धमा आफू मन्त्री भएर आउनुभन्दा अघि नै बजेट विनियोजन एवं खर्च भएको मन्त्री केसीले सभालाई सुनाए । कामको प्रगतिको आधारमा भुक्तानी गरी निर्माण व्यवसायीलाई निर्माणमा सहजीकरण गर्ने मन्त्री केसीले बताए ।
प्रगतिशील लेखक संघ गण्डकीमा प्रा. डा.यदुनन्दन उपाध्याय
पोखरा । प्रगतिशील लेखक संघ गण्डकीको शनिबार पोखरामा सम्पन्न तेस्रो अधिवेशनले प्राध्यापक डा. यदुनन्दन उपाध्यायलाई संघको अध्यक्षमा चयन गरेको छ। सर्बसम्मत रुपमा निर्बाचित कार्यसमितिको उपाध्यक्षमा कल्पना पौडेल र निर्मल सापकोटा, सचिवमा रुपिन्द्र प्रभावी जोशी तथा कोषाध्यक्षमा गीता तिवारी चयन भएका छन ।
त्यसैगरी अधिवेशनले बाबुराम सुवेदी, श्रीभद्र पौडेल, भोलाप्रसाद बस्ताकोटी, नारायण लम्साल, युवराज पौडेल, शम्भु अर्याल, अर्जुनप्रसाद सुवेदी, लोकनाथ पुडासैनी, रञ्जना खत्री, भरत बाग्लुङे, गणेश अधिकारी, छन्दमणि त्रिपाठी, निर्मल पौडेल, लक्ष्मी सिग्देल, नेपालप्रकाश अधिकारी, शोभासिंह ठकुरी र आकाश अधिकारीलाई कार्यसमितिको सदस्यको जिम्मेवारी दिएको छ ।
त्यस्तै संघका गोर्खा अध्यक्ष विश्वेश्वर कट्टेल, लमजुङ अध्यक्ष बासुदेव थापा, तनहुँ अध्यक्ष विनोदकुमार विक, स्याङजा अध्यक्ष अनन्त अर्याल, कास्की अध्यक्ष छवि सुवेदी विजयी, नवलपुर अध्यक्ष काशीराम गैरे, पर्वत अध्यक्ष आनन्द रिमाल, वाग्लुङ अध्यक्ष विजय राना तथा म्याग्दी अध्यक्ष लीला गाउँले कार्यसमितिमा पदेन सदस्य बनेका छन ।
अधिबेशनको एक शत्रमा सङ्घको आवधिक प्रकाशन गण्डक आलोक भाग- २ निबन्ध विशेषाङ्कको परिचर्चा गर्नुको साथै सङ्घका संस्थापक अध्यक्ष लोकबहादुर थापालाई गण्डक साहित्य पुरस्कारबाट सम्मानित गरियो ।
अधिवेशन उद्घाटन गर्दै सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इञ्चार्ज समीर सिंहले प्रगतिशील साहित्य आन्दोलनलाई साझा बनाउनुपर्नेमा जोड दिए उनले साहित्यकारले आफ्ना सिर्जनामा निखारता ल्याउनुपर्ने खाँचो औंल्याए । स्रष्टाले आफू कति प्रगतिशील भएँ भनेर समीक्षा गर्नुपर्ने उल्लेख गर्दै उनले नेपालको वामपन्थी आन्दोलनलाई चलायमान बनाउन प्रगतिशील लेखक सङ्घको भूमिका महत्त्वपूर्ण रहँदै आएको स्पष्ट पारे ।
प्रगतिशील लेखक सङ्घका केन्द्रीय महिला उपाध्यक्ष नमुना शर्मा, एमाले गण्डकीका सचिव धनञ्जय दवाडी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नारायण अधिकारी, नेपाल कम्युनिस्ट पार्टीका सावित्रा दुरा, पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख डा.यमनाथ तिमिल्सिना, राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष शङ्कर बराल, मार्क्सवादी अध्यययन स्रोत केन्द्रका अध्यक्ष झलकपाणि तिवारी, नेकपा (माओवादी केन्द्र) गण्डकीका शिवजी लामिछाने, नेकपा क्रान्तिकारी गण्डकी प्रदेशका सचिव नारायण अधिकारी, समीक्षकद्वय लोकबहादुर थापा र डा. भूमिराज बस्ताकोटी, वामपन्थी बुद्धिजीवी रामराज रेग्मी लगायतले प्रगतिशील लेखनको महत्वबारेमा चर्चा गरेका थिए ।
सङ्घका अध्यक्ष यादवराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धुव्रलाल शर्माले स्वागत गरेका थिए भने कोषाध्यक्ष निर्मल सापकोटाले कार्यक्रम सञ्चालन गरेको पत्रकार श्रीभद्र पौडेलले जानकारी दिए ।