मानव अधिकार पालनका लागि सबै पक्ष जिम्मेवार रहनुुपर्नेमा प्रदेश प्रमुख भट्टकाे जाेड

पोखरा ।  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरक रहेको बताउनुभएको छ । मानव अधिकारको विषय सामान्य जस्तो लाग्ने तर अत्यन्त गम्भिर विषय रहेको बताउँदै भट्टले यसको पालनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुुपर्ने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले प्रकाशन गरेको प्रदेश कार्यालयको वार्षिक गतिविधि पुस्तिका– २०८०÷८१ ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापना कालदेखि नै महत्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
राष्ट्रिय मानव अधिकार कार्यालय पोखराका प्रमुख प्रमुख नितु गड्तौलाले प्रदेश प्रमुख भट्टलाई वर्ष पुस्तक हस्तान्तरण गर्नुभयो ।  टोलीले कार्यालयको प्रतिवेदन हस्तान्तरणका साथै मानव अधिकारको समसामयिक अवस्थाका बारेमा जानकारी पनि गराएको थियो ।
‘मानव अधिकार सबैको लागि हो । तर, विशेष रुपले आवाजविहिन र सीमान्तकृत समुदायको लागि मानव अधिकारको मुद्दाले खास अर्थ राख्दछ । अब हाम्रो मुख्य ध्यान यसै दिशामा केन्द्रित हुनुपर्छ ।’ – प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘मानव अधिकार उल्लंघन सूचकांकमा गण्डकी प्रदेश मध्यम स्थानतिर छ । तर, यस्ता घटना हुनै नदिनेतर्फ हामी सजग हुनुपर्नेछ ।’
उहाँले राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार सदैव प्रतिवद्ध रहनुपर्ने भन्दै आयोगलाई भौतिक, साधन र आवश्यक पर्ने बजेट बिनियोजनमा ध्यान दिनुपर्ने पनि बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग जस्ता आयोगको सिफारिसहरु कार्यान्वयन गर्न प्रतिवद्ध रहनुपर्नेमा पनि भट्टले जोड दिनुभयो । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन गर्न नहुने उहाँको भनाई छ ।
टोलीमा मानव अधिकार अधिकृत टंकप्रसाद खनाल र सरोज गौली, लेखा अधिकृत मुक्तिराम सुवेदी, नायव सुब्बा मुकेश घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।

तालचोक बेगनास सडक निर्माणका क्रममा देखिएका विवादहरू एक साता भित्र समाधान गर्ने समझदारी

  पाेखरा । निर्माणाधीन तालचोक बेगनास सडकमा देखिएका समस्याहरूको बारेमा स्थानीय सरोकारवालाहरूसँग छलफल गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थितिमा सम्पन्न छलफलमा सडक निर्माणका क्रममा देखिएका समस्या र विवादहरू एक साता भित्र समाधान गर्ने समझदारी भएको छ।
हाल उक्त सडकका चार स्थानमा समस्या देखिएको छ । शिशुवाचोक नजिकै ६० मिटर लम्बाइमा राइट अफ वे, शिशुवा चोक स्थित राइट अफ वे भित्र रहेको पुरानो घर विस्थापन गर्नु पर्ने, देउराली खोलामा बन्ने पुलको उचाइ र त्रिकाङचोकदेखि तल सेन्टर लाइन र राइट अफ वेको समस्या रहेको पाइएको छ ।
यी समस्याहरूको समाधानमा लागि आवश्यक समन्वयका लागि नगर प्रमुख आचार्य, महनागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, दलका नेताहरू दिवसमान प्रधानाङ्ग र राधिका कुमारी शाही योगी, महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङ, वडा नं.३० का वडा अध्यक्ष दुर्गा सुवेदी र वडा नं.३१ का वडा अध्यक्ष ढकनाथ कँडेल, योजनाका फोकल पर्सन इ.नवीन गौतम लगायत रहने गरी एक विवाद समाधान समिति गठन गरिएको छ ।
उक्त समितिले विवादहरूको समाधान गरी निर्माण कार्यमा आवश्यक सहजिकरण गर्नेछ । नगर प्रमुख आचार्यले महानगरको गौरवको आयोजनाको रूपमा रहेको उक्त आयोजनाको म्याद अब धेरै नरहेकाले समयमा नै सम्पन्न गर्नु पर्ने बाध्यता रहेको बताउनुभयो । विश्व बैकको सहयोगमा निर्माण भइरहेको उक्त आयोजना निर्माणमा विलम्ब हुँदा त्यस क्षेत्रका नागरिकहरूले सास्ती खेप्नु परेको उहाँले बताउनुभयो ।
आयोजनाका कारण स्थानीय उपभोक्ताहरूलाई परेको समस्याहरू माथि खुला छलफल गर्न महानगरपालिका तयार रहेको बताउँदै उहाँले अल्पकालीन भन्दा पनि यसको दीर्घकालीन फाइदाहरूका बारेमा सोच्न आग्रह गर्नुभयो ।
आयोजना स्वच्छन्द सपना वल्डवाइड जेभिले निर्माणको ठेक्का पाएको छ ।

पोखरा तेर्सापट्टीको पश्चिमाञ्चल कपास उद्योगमा आगोलागी 

चरक मेमोरियल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

पोखरा । पोखरा नागढुंगास्थित सुविधासम्पन्न चरक मेमोरियल हस्पिटलमा जाँच गर्दा सिटिजन्स् बैंक इन्टरनेशनलका ग्राहकले छुट पाउने भएका छन् । हस्पिटल र बैंकबीच छुट सम्बन्धी समझदारी भएको छ ।

हस्पिटलका तर्फबाट एमडी कपिल पोखरेल र बैंकका तर्फबाट पोखरा ब्राञ्च म्यानेजर अनुप अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सो समझदारी अनुसार कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

सम्झौता अनुसार होल बडी चेकअपमा २० प्रतिशत, बेडमा १० प्रतिशत, ल्याब, रेडियोलोजी र अप्रेशनहरुमा १० प्रतिशत तथा फार्मेसीमा औषधि किन्दा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

पछिल्लो समय सामाजिक योगदानलाई प्राथमिकता दिँदै आएको चरक हस्पिटलले गण्डकी प्रदेशका लगभग सबैजसो जिल्लामा स्थानीय संघसंस्थासँग सहकार्य गरी निःशुल्क स्वास्थ्य शिविर गरिसकेको छ । आवश्यकता अनुरुप ग्रामीण ठाउँहरुमा लक्षित गरी हस्पिटलले निःशुल्क शिविरलाई निरन्तरता दिने एमडी पोखरेलले जानकारी दिए ।

यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बताएको छ ।

बैेंंकले देशैभरी ६० जिल्लामा फैलिएका १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।