दशैं पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य घट्यो

पाेखरा ।यसवर्ष च्याङग्राको मूल्य घट्यो दशैं पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन् । गतवर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका ब्यापारी टसी छेवाङ गुरुङले यसपाली ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताए । ‘ठाउँ अनुसार पाँच देखि १० हजार कम मूल्यमा च्याङग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएका हौ,’ उनले भने, ‘गत वर्ष काठमाडौ पोखरामा प्रतिगोटा ५५ हजार रुपैयाँसम्म परेको च्याङग्राको मूल्य यसपाली रु. ४० हजार भन्दा कम हुन्छ ।’ गतवर्ष बजारमा ल्याएको च्याङग्रा महंगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान व्यहोरेको गुनासो गरेका थिए।

छेवाङ सहित डोल्पाका चार जना व्यापारीले मुस्ताङ हुँदै पाँच दिन हिडेर दुई सय ५० च्याङग्रा बिक्री गर्न पोखरा लैजानका लागि शुक्रबार म्याग्दीको घोडेपानी पुग्नुभएको छ । मुस्ताङका साथै डोल्पा र मुगुबाट ल्याइएका च्याङग्राहरु दसैमा बिक्रीका लागि म्याग्दी हुँदै देशका विभिन्न सहर बजारमा पुग्न थालेका छन् । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत ठाउँबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारीहरु मुस्ताङ पुगेर फर्किन थालेका हुन् । जडिवुडीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । दसैं तिहारमा हिमाली च्याङग्राको मासुको खपत बढी हुने गर्छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमख लालमणी अर्यालका अनुसार बुधबार सम्म सात हजार च्याङग्रा जोमसोम देखि म्याग्दीतर्फ झरेका छन्। यसवर्ष दसैंका लागि मुस्ताङबाट दश हजार च्याङग्रा बिक्री हुने अनुमान गरिएको छ । मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुई देखि तीन दिन हिँडाएर ल्याएका च्याङग्रा बेनीदेखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ । तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएका छन् । उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङग्रापालन भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका कृषक डिण्डुप गुरुङले बताए । विसं २०८० मा सात हजार, २०७९ मा छ हजार आठ सय, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।

बडादसैँ आजदेखि सुरु , घटस्थापनाको साइत ९ः१६ बजे

पाेखरा ।  प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

जमरामा जौँबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन्। कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौँसित रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

घटस्थापनाको साइत ९ः१६ बजे

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

आज घटस्थापनाको साइत बिहान ९ः१६ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यताअनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

दुर्गादेवीका तीन वटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा  महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भु, निशुम्भ र रक्तबीजलगायतका राक्षसलाई वध गर्न लिएका नौ वटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ ।

दसैं, तिहारको अवसरमा बुद्व बिशाल बजारमा २५ प्रतिशतसम्म छुट पाइने


पोखरा । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ ।
बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई बुद्व विशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म छुट दिने ब्यवस्था गरीएको बताए ।

“उपहार पहिले पहिले नगद ५ देखी २५ प्रतिशत सम्म छुट अहिले” भन्ने नाराका साथ वुद्व विशाल बजारका हरेक पसलहरूमा यो छुटको ब्यवस्था मिलाइनुको साथै बुद्ध बिशाल बजार भित्र सामान खरिद गर्ने ग्राहकहरुलाई निःशुल्क पार्किङको व्यवस्था गरिएको बुद्व बिशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालले बताए ।
एसोसिएसनका उपाध्यक्ष बुद्धी बहादुर कुवंरले असोज १२ गते बाट शुरु भएको यो छुट योजना मंसिर ३० गतेसम्म सञ्चालन हुने बताउदै कुवंरले छुटको फाइदा लिन ग्राहकलाई आग्रह गरे । बुद्ध विशाल बजारभित्र करिब दुईसय सटरहरुमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल,मोवाइल पसल, वित्तीय संस्था, रेष्टुरेन्ट, सारी तथा कुर्तालगायतका पसलहरु सञ्चालनमा रहेको एसोसिएसनका महासचिव राजु केसीले बताए ।

चाडपर्वको अवसरमा अन्डर ग्राउड पार्किङ सन्चालनमा
यसै बिच असोज १३ बाट बुद्व बिशाल बजारमा अन्डर ग्राउड पार्किङ सन्चालनमा ल्याईएको छ । हाल करीब २०० वटा मोटर साईकल राख्न सकिने उक्त पार्किङ आगामी दिनमा अभैm बिस्तार गरिने एसोसिएसनका प्रवक्ता मनोहरि पौडेलले बताए । हाल बुद्व बिशाल बजारमा दुई ठाउमा गरि करीव २५० वटा मोटरसाईकल राख्न मिल्ने पार्किङ रहेकोमा यो पार्किङ सन्चालनमा आए सगै दुई पाङग्रे सवारी साधनको लागी पार्किङ समस्या समाधान हुने बताउदै प्रवक्ता पौडेलले बुद्व बिशाल बजारको तिन ठाँउमा रहेका पार्किङमा अब करीब ४५० वटा दुई पाङग्रे सवारी साधान पार्किङ गर्न मिल्ने बताए ।

मुलुक विकासको बाधक भ्रष्टाचारः प्रदेश प्रमुख भट्ट

पाेखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष ०८०÷८१ को ३४ औं वार्षिक प्रतिवेदन पेस गरेको छ ।

संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका पोखरा कार्यालय प्रमुख अस्मान तामाङले सोमबार ६ परिच्छेद र ५२४ पृष्ठ रहेको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गर्नुभयो ।

प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताउनुहुँदै मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेकोमा खुशी व्यक्त गर्नुभयो ।

मुलुकको विकासको वाधक नै भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न सामान्य व्यक्तिदेखि राज्यको उपल्लो ओहदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यालय प्रमुख तामाङले आयोगले नेपालको संविधानले व्यवस्था गरे बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा प्राप्त उजुरीको प्रारम्भिक छानविन एवं विस्तृत अनुसन्धान गर्ने, भ्रष्टाचार देखिएका उजुरीउपर विशेष अदालतमा आरोपपत्र दायर गर्ने तथा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने कार्य सम्पादन भइरहेको जानकारी गराउनुभयो ।

आयोग पोखरा प्रमुख तामाङले आर्थिक वर्ष २०८०÷८१ मा आयोगमा २६ हजार ९ सय १८ उजुरीहरु प्राप्त भएको जानकारी गराउँदै अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २ सय ६८ गरी कूल ३६ हजार १ सय ८६ कारबाही गर्नुपर्ने संख्या रहेको जानकारी दिनुभयो । यसमध्ये ७६.५९ प्रतिशत उजुरी स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फछ्र्यौट भएको बताउनुभयो ।

आयोगको पोखरा कार्यालयबाट गत वर्ष १ हजार ३ सय १५ उजुरी प्राप्त भएकोमध्ये अघिल्लो वर्षको ४ सय ५५ सहित १ हजार ७ सय ७० उजुरी रहेकोमा १ हजार ६ सय १५ अर्थात् ९१.०२ प्रतिशत उजुरी फछ्र्यौट भएको जानकारी दिनुभयो ।

देशभरको तुलनामा प्रदेशगत हिसाबमा गण्डकीमा उजुरी संख्या सबैभन्दा कम भएपनि स्थानीय तहमध्ये  सबैभन्दा बढी पोखरा महानगरपालिकामै परेको तामाङले बताउनुभयो ।

आयोगको केन्द्रीय कार्यालय टंगाल काठमाडौं एवं मातहतका आठ वटा कार्यालयहरूबाट आयोगका कार्यहरू सम्पादन हुँदै आइरहेका छन् । ३३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई अनुसन्धानसम्बन्धी अधिकार प्रत्यायोजन गरिएको छ । हाल आयोगमा कुल ९९० कर्मचारीको दरबन्दी रहेको कार्यालयले जनाएको छ ।