डुडुवा गाँउपालिकाको सार्बजनिक सुनुवाई

डुडुवाको सार्बजनिक सुनुवाई  सम्पन्न नेपालगञ्ज  ।   डुडुवा गाँउपालिकाको सार्बजनिक सुनुवाई  सम्पन्न भएको छ ।डुडुवा गाँउपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा आज गाउँपालिकाको सभाहलमा आयोजित सार्बजनिक सुनुवाई कार्यक्रमबाट ५ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता जाहेर गरिएको छ । जाहेर गरिएका साझा सार्बजनिक प्रतिबद्धताहरुमा, वडा नम्बर ५ को बाटो अधुरो रहेकाले सो बाटो आगामी आर्थिक बर्षमा निर्माण गर्ने, आवागमनका लागि बाटो सहज बनाउन ग्राभेल खसाउने, डुडुवा गाँउपालिका वडा नम्बर ६ हिरमिनियाको मुनासिपुरको सडकमा आगामी आर्थिक बर्षमा ग्राभेल गर्ने, पालिका सँग सम्बन्धित सार्बजनिक सुचना प्रक्रियागत रुपमा माग भएमा आम नागरिकलाई सुचना उपलब्ध गराउने, गाँउपालिकाको सेवा सुबिधा र बिकास निर्माणको गुणस्तरियता थप अभिबृद्धि गर्ने, बिगतमा पालिकामा भएको आगजनीका बिषयमा छानबिन गर्ने लगायतका रहेका छन् । २५० बढि सहभागीहरुको उपस्थिति रहेको उक्त सार्बजनिक सुनुवाईको खुल्ला छलफलमा सुकुम्बासी समस्याको बारेमा, पालिका भित्रको खानेपानी योजनाको अलपत्रताको बारेमा, पालिका भित्रका सडक ग्राभेल गर्नुपर्ने लगायतका बारेमा, वडा नम्बर ५ को स्वास्थ्य चौकीमा ल्याव कर्मचारीको समस्या भएको, पालिकाहरुबाट प्रवाह हुने सुचनाहरु नागरिकहरु सामु नपुग्ने गरेको र वडा नम्बर १ को हिरमिनियाको खडैचा टोलको सडकको अबस्था लगायतका गुनासोहरु कार्यक्रममा उपस्थित सहभागीहरुले प्रश्ण उठाएका थिए । ३ घण्टा सम्म चलेको खुल्ला छलफलमा उठेका प्रश्नहरुको जवाफ कार्यक्रमका प्रमुख सरोकारवाला ब्यक्ति पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले दिएका थिए । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए भने बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले कार्यक्रमको सहजीकरण गरेका थिए ।

विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने काम नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्यले गर्नुभएको बताउनुभएको छ । राष्ट्रिय चेतनाका अग्रदूत तथा नेपाली भाषिक एकताका प्रणेता भानुभक्त आचार्यको २१३ औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान, पोखराले आयोजना गरेको विशेष समारोहमा प्रदेश प्रमुख भट्टले यस्तो बताउनुभएको हो । नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएका भानुभक्त नेपाल र विश्वभरका नेपालीभाषी रहेका क्षेत्रमा हाम्रो भाषा तथा साहित्य फैलाउन सेतु बन्नुभएको उहाँको भनाई छ । ‘भानुको साहित्यिक योगदानले भाषा र समाजबीचको सम्बन्धलाई सुदृढ बनाउँदै नेपालीपनको साझा भावना निर्माणमा उल्लेखनीय भूमिका खेलेको छ । भानुभक्तले नेपालीलाई एउटै भाषिक सूत्रमा बाँध्ने प्रेरणा दिनुभयो ।’ उहाँले भन्नुभयो – ‘भानुको योगदानले राष्ट्रिय एकता, सांस्कृतिक आत्मविश्वास र नेपालीपनको भावनालाई अझ बलियो बनाएको छ । आज विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायले पनि नेपाली भाषा र साहित्यलाई जीवित राखिरहेका छन् । यो आदिकविको योगदानको निरन्तरता नै हो ।’ भानुले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल, सहज र जनबोलीको नेपाली भाषामा रूपान्तरण गरी साहित्यलाई जनसामान्यको जीवनसँग जोड्नुभएको हुँदा यही ऐतिहासिक योगदानले नेपाली भाषालाई साझा सांस्कृतिक चेतनाको माध्यमका रूपमा स्थापित गर्न महत्वपूर्ण आधार तयार गरेको उहाँको भनाई छ । उहाँले थप्नुभयो – ‘भानुभक्तका कृतिहरूमा केवल धार्मिक भावनाको अभिव्यक्ति मात्र छैन; त्यहाँ नैतिकता, मानवता, सामाजिक उत्तरदायित्व, कर्तव्यबोध र लोककल्याणको गहिरो चेतना पनि अभिव्यक्त भएको पाइन्छ ।’ आजको पुस्ताले भानुभक्तलाई केवल पाठ्यपुस्तकभित्र सीमित राख्न नहुने बताउँदै उहाँका कृतिहरूलाई डिजिटल माध्यम, अनुसन्धान, अध्ययन, साहित्यिक विमर्श र सिर्जनात्मक अभ्यासमार्फत नयाँ पुस्तासम्म पुर्‍याउनु आवश्यक रहेकोमा जोड दिनुभयो ।  गण्डकी प्रदेश नेपाली भाषा, साहित्य, कला र संस्कृतिको दृष्टिले अत्यन्त समृद्ध प्रदेश रहेको बताउँदै उहाँले यस प्रदेशमा रहेका साहित्यिक संस्था, अनुसन्धान केन्द्र, शैक्षिक प्रतिष्ठान र स्रष्टाहरूले भाषा तथा साहित्यको संरक्षण र प्रवद्र्धनमा निरन्तर योगदान पुर्‍याइरहेकोमा खुशी पनि व्यक्त गर्नुभयो ।

हर्ट अट्याक भएका ५५ वर्षीय बिरामीको नेपाल मेडिकल कलेजमा सफल एन्जियोग्राफी

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर हर्ट अट्याक भएका ५५ वर्षीय एक बिरामीको नेपाल मेडिकल कलेजमा समयमै गरिएको एन्जियोग्राफी तथा एन्जियोप्लास्टीमार्फत सफल उपचार गरिएको छ । चिकित्सकको तत्परताका कारण मृत्युको मुखबाट फर्किएका बिरामी अहिले पूर्ण रूपमा खतरामुक्त अवस्थामा छन् । कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदी निवासी पदमबहादुर तामाङ (५५) लाई असार २४ गते बिहान अचानक तीव्र छाती दुख्ने, रिंगटा लाग्ने तथा अत्यधिक असहज महसुस हुन थालेपछि परिवारले सुरुमा सामान्य समस्या ठानेका थिए । स्थानीय झाँक्रीसमेत देखाइए पनि स्वास्थ्य अवस्था झन् बिग्रँदै गएपछि उनलाई तत्काल एम्बुलेन्समार्फत नेपाल मेडिकल कलेजको इमरजेन्सी विभागमा ल्याइएको थियो । अस्पताल पुगेलगत्तै चिकित्सकहरूले तत्काल ईसीजी र आवश्यक रक्त परीक्षण गरेपछि उनलाई गम्भीर हर्ट अट्याक भएको पुष्टि भयो । त्यसपछि एक क्षण पनि ढिलाइ नगरी उनलाई क्याथल्याबमा लगिएको थियो । नेपाल मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुर्यराज पाठक नेतृत्वको कार्डियाक टोलीले एन्जियोग्राफी गर्दा मुटुका दुईवटा महत्वपूर्ण धमनी पूर्ण रूपमा बन्द भएको पत्ता लगाए । तत्पश्चात तत्काल एन्जियोप्लास्टी गरी स्टेन्टमार्फत दुवै नसा सफलतापूर्वक खोलिएको थियो । “बिरामी अस्पताल आइपुग्दा अवस्था निकै गम्भीर थियो । समयमै परीक्षण गरेर तुरुन्तै क्याथल्याबमा लग्यौं । एन्जियोग्राफी गर्दा दुईवटा मुख्य नसा बन्द भएको देखियो र तत्काल उपचार गरी रक्तसञ्चार पुनः सुचारु गर्यौं,” डा. पाठकले बताए । उनका अनुसार बिरामी लामो समयदेखि मधुमेहबाट पीडित भए पनि औषधि नियमित रूपमा सेवन नगरेकाले जोखिम बढेको थियो । उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोलको मात्रा बढी हुनु, धुम्रपान, मद्यपान तथा शारीरिक निष्क्रियता हर्ट अट्याकका प्रमुख जोखिम कारक हुन् । “जसलाई उच्च रक्तचाप, मधुमेह वा कोलेस्ट्रोलको समस्या छ, धुम्रपान वा मद्यपान गर्नुहुन्छ अथवा शारीरिक रूपमा सक्रिय हुनुहुन्न, उहाँहरूमा हर्ट अट्याकको जोखिम धेरै हुन्छ । छाती दुख्ने, सास फेर्न गाह्रो हुने, पसिना आउने वा रिंगटा लाग्ने जस्ता लक्षण देखिए तुरुन्त अस्पताल पुग्नुपर्छ,” उनले सुझाव दिए । उपचारपछि स्वास्थ्य लाभ गरिरहेका पदमबहादुर तामाङले घर नजिकै सुविधा सम्पन्न अस्पताल र मुटुरोग विशेषज्ञ उपलब्ध भएकै कारण आफ्नो ज्यान जोगिएको बताए । “हामी सामान्य खेतीपाती गरेर जीविकोपार्जन गर्ने मान्छे हौं । यति छिटो र सहज रूपमा उपचार पाइन्छ भन्ने सोचेको थिइनँ । समयमै अस्पताल ल्याइएकाले आज नयाँ जीवन पाएँ । नेपाल मेडिकल कलेज र उपचारमा संलग्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति म आभारी छु,” उनले भने ।
कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदी निवासी पदमबहादुर तामाङ (५५) लाई असार २४ गते बिहान अचानक तीव्र छाती दुख्ने, रिंगटा लाग्ने तथा अत्यधिक असहज महसुस हुन थालेपछि परिवारले सुरुमा सामान्य समस्या ठानेका थिए । स्थानीय झाँक्रीसमेत देखाइए पनि स्वास्थ्य अवस्था झन् बिग्रँदै गएपछि उनलाई तत्काल एम्बुलेन्समार्फत नेपाल मेडिकल कलेजको इमरजेन्सी विभागमा ल्याइएको थियो । अस्पताल पुगेलगत्तै चिकित्सकहरूले तत्काल ईसीजी र आवश्यक रक्त परीक्षण गरेपछि उनलाई गम्भीर हर्ट अट्याक भएको पुष्टि भयो । त्यसपछि एक क्षण पनि ढिलाइ नगरी उनलाई क्याथल्याबमा लगिएको थियो । नेपाल मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुर्यराज पाठक नेतृत्वको कार्डियाक टोलीले एन्जियोग्राफी गर्दा मुटुका दुईवटा महत्वपूर्ण धमनी पूर्ण रूपमा बन्द भएको पत्ता लगाए । तत्पश्चात तत्काल एन्जियोप्लास्टी गरी स्टेन्टमार्फत दुवै नसा सफलतापूर्वक खोलिएको थियो । “बिरामी अस्पताल आइपुग्दा अवस्था निकै गम्भीर थियो । समयमै परीक्षण गरेर तुरुन्तै क्याथल्याबमा लग्यौं । एन्जियोग्राफी गर्दा दुईवटा मुख्य नसा बन्द भएको देखियो र तत्काल उपचार गरी रक्तसञ्चार पुनः सुचारु गर्यौं,” डा. पाठकले बताए । उनका अनुसार बिरामी लामो समयदेखि मधुमेहबाट पीडित भए पनि औषधि नियमित रूपमा सेवन नगरेकाले जोखिम बढेको थियो । उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोलको मात्रा बढी हुनु, धुम्रपान, मद्यपान तथा शारीरिक निष्क्रियता हर्ट अट्याकका प्रमुख जोखिम कारक हुन् । “जसलाई उच्च रक्तचाप, मधुमेह वा कोलेस्ट्रोलको समस्या छ, धुम्रपान वा मद्यपान गर्नुहुन्छ अथवा शारीरिक रूपमा सक्रिय हुनुहुन्न, उहाँहरूमा हर्ट अट्याकको जोखिम धेरै हुन्छ । छाती दुख्ने, सास फेर्न गाह्रो हुने, पसिना आउने वा रिंगटा लाग्ने जस्ता लक्षण देखिए तुरुन्त अस्पताल पुग्नुपर्छ,” उनले सुझाव दिए । उपचारपछि स्वास्थ्य लाभ गरिरहेका पदमबहादुर तामाङले घर नजिकै सुविधा सम्पन्न अस्पताल र मुटुरोग विशेषज्ञ उपलब्ध भएकै कारण आफ्नो ज्यान जोगिएको बताए । “हामी सामान्य खेतीपाती गरेर जीविकोपार्जन गर्ने मान्छे हौं । यति छिटो र सहज रूपमा उपचार पाइन्छ भन्ने सोचेको थिइनँ । समयमै अस्पताल ल्याइएकाले आज नयाँ जीवन पाएँ । नेपाल मेडिकल कलेज र उपचारमा संलग्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति म आभारी छु,” उनले भने । डा. पाठकका अनुसार नेपाल मेडिकल कलेजमा क्याथल्याब सेवा सञ्चालनमा आएपछि काठमाडौंको उत्तरपूर्वी क्षेत्र तथा आसपासका जिल्लाका मुटुरोगीहरूलाई ठूलो राहत पुगेको छ । पछिल्ला केही महिनायता मुटुरोग तथा विशेषगरी हर्ट अट्याकका बिरामीको संख्या उल्लेख्य रूपमा बढ्दै गएको उनले जानकारी दिए । उनले हर्ट अट्याकको शंका लाग्नेबित्तिकै समय खेर नफाली विशेषज्ञ सेवा उपलब्ध हुने अस्पताल पुग्न आग्रह गर्दै समयमै उपचार पाए अधिकांश बिरामीको ज्यान बचाउन सकिने बताए ।

माछापुच्छ्रे गाउँपालिकालाई मानवअधिकारमैत्री स्थानीय तहका रूपमा विकास गर्न सामूहिक प्रतिबद्धता

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई मानवअधिकारमैत्री, सभ्य र समृद्ध स्थानीय तहका रूपमा विकास गर्न जनप्रतिनिधि, कर्मचारी, मानवअधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

माछापुच्छ्रे गाउँपालिका र मानव अधिकार समूह माछापुच्छ्रेको समन्वयमा  आयोजित दुई दिने ‘मानवअधिकार प्रवर्धन कार्यक्रम’मा सहभागीहरूले भौतिक पूर्वाधारको विकाससँगै मानवीय चेतना, सामाजिक उत्तरदायित्व र मानव संसाधन विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा घरेलु हिंसा, बालविवाह, बोक्सी प्रथा, जातीय विभेद लगायतका सामाजिक विकृति र कुरीतिहरूको अन्त्यका लागि सबै पक्षले आत्मसमीक्षा गर्दै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं मिनबहादुर गुरुङले नागरिक सचेतना अभिवृद्धि बिना समृद्ध समाज निर्माण सम्भव नहुने बताउनुभयो ।

उहाँले नागरिकका हकअधिकारको संरक्षण तथा समृद्धिको यात्रामा गाउँपालिका सधैँ प्रतिबद्ध रहने उल्लेख गर्नुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले मानवअधिकारको अभ्यास आफ्नै घर र परिवारबाट सुरु हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले समाजमा अझै पनि बालविवाह, घरेलु हिंसा र बोक्सी प्रथाजस्ता कुरीतिहरू विद्यमान रहनु चिन्ताजनक रहेको बताउँदै अन्याय सहेर बस्नु पनि गलत प्रवृत्ति भएको उल्लेख गर्नुभयो ।

मुख्य प्रशिक्षक तथा गणेश भण्डारीले नेपालमा मानव अधिकार संरक्षण र सचेतना अभिवृद्धिका लागि इन्सेकले स्थापना कालदेखि निर्वाह गर्दै आएको भूमिकाबारे जानकारी दिनुभयो ।

उहाँले ‘नेपाल मानवअधिकार वर्ष पुस्तक’ मानव अधिकार उल्लङ्घनका घटनाहरूको अभिलेखीकरण तथा न्यूनीकरणका लागि महत्वपूर्ण दस्तावेज बनेको बताउनुभयो ।

त्यसैगरी, विना सिलवालले लैङ्गिक विभेद, महिला हिंसा तथा बालअधिकारसँग सम्बन्धित विषयमा प्रशिक्षण दिँदै समाजमा भइरहेका बलात्कार, घरेलु हिंसा र मानसिक उत्पीडनका घटनाले सामाजिक संरचनामै नकारात्मक असर पारिरहेको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले मानवअधिकार नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विषय भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले मानवअधिकार उल्लङ्घनका घटनाहरू न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सामाजिक विकास शाखा प्रमुख ज्योति पौडेलले पालिकाभित्र आत्महत्या, बालविवाह तथा घरेलु हिंसाका घटना चुनौतीका रूपमा रहेको उल्लेख गर्दै ती समस्यालाई लुकाउने होइन, समाधानका लागि सामूहिक पहल आवश्यक रहेको बताउनुभयो ।

मानवअधिकार समूहका संयोजक कुलप्रसाद अधिकारीले गाउँपालिकाका अधिकांश वडामा मानवअधिकार समूह गठन भइसकेको जानकारी दिँदै समूहले दबाबमूलकभन्दा पनि सहकार्य र समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

उहाँले स्वास्थ्य चौकीमा उपलब्ध निःशुल्क औषधिको जानकारी नागरिकसम्म प्रभावकारी रूपमा पुर्‍याउनुपर्ने तथा स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकअधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मानव अधिकार समूहका पूर्व संयोजक डिल्लीराम भण्डारीले आगामी वर्ष मानवअधिकार प्रवर्धनका कार्यक्रमका लागि थप बजेट विनियोजन हुने अपेक्षा व्यक्त गर्नुभयो ।

मधु पहारीले घरेलु हिंसा तथा बलात्कार पीडितहरूको अवस्था र उपलब्ध सेवाबारे जानकारी दिनुभयो भने अधिवक्ता सरिता तिमल्सिना पङ्गेनीले महिला अधिकार, लैङ्गिक विभेद तथा कानुनी व्यवस्थाबारे प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा वडा नं. ४ का अध्यक्ष मधुसूदन अधिकारी, वडा नं. ५ का अध्यक्ष नारायण पौडेल, शिक्षा तथा खेलकुद शाखा प्रमुख सम्झना पौडेल तथा बालअधिकार फोकल पर्सन सुष्मा अधिकारीले मानवअधिकार प्रवर्धन कार्यक्रमका उपलब्धि र आगामी कार्ययोजनाबारे आ-आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।