“पेन्सन पट्टा” को मौलिक गीत ‘जुनी जाला’ पोखरामा सार्वजनिक

पोखरा । आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’ को मौलिक गीत ‘जुनी जाला’ पोखरामा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। पोखराको मिडटाउन सिनेमाजमा आयोजित कार्यक्रममा चलचित्रको निर्माण टोली, कलाकार, गुरुङ समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा चलचित्र कर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सार्वजनिक गरिएको ‘जुनी जाला’ गीतले गुरुङ समुदायको मौलिक संस्कृति, भेषभूषा, संगीत र जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ । कार्यक्रममा प्रदर्शन गरिएको गीतलाई उपस्थित दर्शकले निकै रुचाएका छन् भने गीतको दृश्य, संगीत र सांस्कृतिक प्रस्तुतिको खुलेर प्रशंसा गरेका छन् । गीतमा हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत रहेको छ । राजबहादुर गुरुङ, सरुन गुरुङ, उषा गुरुङ र प्रिया गुरुङले स्वर दिएको गीतमा चलचित्रका प्रमुख कलाकार दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, माया गुरुङ, विश्वास गुरुङ, पशुपति राई लगायतले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । गीतको छायाङ्कन कास्कीको रमणीय गाउँ ताङतिङ मा गरिएको हो भने कोरियोग्राफी कमल गुरुङले गरेका छन् । चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङले ‘पेन्सन पट्टा’ गुरुङ समुदायको मौलिक जीवन, परम्परा र सामाजिक यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको भए पनि यसको कथा सम्पूर्ण नेपाली दर्शकले आत्मसात गर्न सक्ने विश्वास व्यक्त गरे । गुरुङ समुदायको परिवेशमा आधारित भए पनि चलचित्रको भाव, कथा र सन्देश सबै समुदायका दर्शकलाई छुने गरी तयार गरिएको उनको भनाइ छ । उनले सार्वजनिक गरिएको ‘जुनी जाला’ गीतले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गर्दै चलचित्रको सफलतामा गीतले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरे। गीत सार्वजनिक भएसँगै चलचित्रको प्रचारप्रसारलाई अझ सशक्त बनाइने जानकारी पनि उनले दिएका छन् । चलचित्रकी निर्माता सपना गुरुङले चलचित्रको कथावस्तुले आफूलाई गहिरो रूपमा प्रभावित पारेपछि लगानी गर्ने निर्णय गरेको बताइन्। समाजको यथार्थ चित्रण गर्ने विषयवस्तु भएकाले चलचित्रप्रति आफ्नो विश्वास बढेको उल्लेख गर्दै उनले मौलिक संस्कृति झल्काउने गीतले पनि दर्शकको मन छुने विश्वास व्यक्त गरिन्। कार्यक्रममा गुरुङ समुदायसँग आबद्ध विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले चलचित्र पेन्सन पट्टाले गुरुङ समुदायको भाषा, संस्कृति, परम्परा र जीवनशैलीलाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। यतिबेला निर्देशक माओत्से गुरुङ चलचित्रको प्रचारप्रसारमा देशका विभिन्न स्थानमा सक्रिय छन्। निर्माण टिमले गीत सार्वजनिक भएसँगै प्रचार अभियानलाई थप तीव्र बनाउने तयारी गरेको जनाएको छ। ‘पेन्सन पट्टा’ आगामी भदौ २६ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ । चलचित्रले गुरुङ समुदायको मौलिक कथा र सामाजिक यथार्थलाई नेपाली चलचित्रमार्फत दर्शकमाझ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

राेम विधान पारित गर्न अधिकारकर्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

पोखराका ११ स्थानमा विश्वकप फुटबल फाइनल प्रत्यक्ष देखाउने

पाेखरा । पोखरा महानगरपालिकाले विश्वकप फुटबलको फाइनल खेल    पोखराका ११ स्थानमा ठूलो एलईडी स्क्रिनमार्फत सामूहिक रूपमा हेर्ने व्यवस्था गर्ने भएको छ । जुलाई २० मा हुने अर्जेन्टिना र स्पेनबीचको विश्वकप फुटबल फाइनल पृथ्वीचोक, हल्लनचोकसहित पोखराका ११ स्थानमा प्रत्यक्ष प्रसारण गरिने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी गराएका छन् । मेयर आचार्यले पायक पर्ने ठाउँमा   सम्पूर्ण फुटबल प्रेमी दिदीबहिनी तथा दाजुभाइहरूलाई आफ्ना परिवार, साथीभाइसँग उपस्थित भई विश्व फुटबलको  ऐतिहासिक क्षण सँगै अनुभव गर्न आग्रह गरेका छन् । खेलप्रेम, उत्साह र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक स्थानमा फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्न लागिएको महानगरले जनाएको छ। ठूलो पर्दाबाट खेल हेर्न मिल्ने ११ स्थानको विस्तृत सूची भने महानगरपालिकाले छिट्टै सार्वजनिक गर्ने मेयर आचार्यले बताएका छन् ।

डा. टीकाराम पोखरेललाई डायमनशमशेर राणा प्रतिभा सम्मान

काठमाडौं । उपन्यासकार डायमनशमशेर राणाको १०९औँ जन्मजयन्तीको अवसरमा डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानले साहित्य तथा अनुसन्धानका क्षेत्रमा योगदान पुर्‍याएका  स्रष्टा  डा. टीकाराम पोखरेललाई ‘डायमनशमशेर राणा प्रतिभा सम्मान  प्रदान गरेको छ। प्रतिष्ठानले डायमनशमशेर राणाका ऐतिहासिक उपन्यासमाथि विद्यावारिधि गरेका डा.पोखरेललाई सम्मानस्वरूप  नगद रु.२५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो। डा. पोखरेलले डायमनशमशेरका ऐतिहासिक उपन्यासमा इतिहास र कल्पनाको प्रयोग, ऐतिहासिकता, औपन्यासिक शिल्प तथा इतिहास र साहित्यबीचको सन्तुलनको सैद्धान्तिक अध्ययन गर्दै वि.सं. २०६६ मा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए। कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले डायमनशमशेर राणाले ऐतिहासिक उपन्यास लेखनमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए। उनले नेपालमा प्रजातन्त्र स्थापना तथा पुनःस्थापनामा राणा परिवारको भूमिकासमेत महत्त्वपूर्ण रहेको चर्चा गर्दै ऐतिहासिक उपन्यास लेखनमा डायमनशमशेरसँग तुलना गर्न सकिने अर्को उपन्यासकार नेपालमा नभएको धारणा व्यक्त गरे। साहित्यकार डा। तुलसीप्रसाद भट्टराईले प्रजातन्त्रका लागि संघर्षका क्रममा डायमनशमशेरको सम्पत्ति सर्वस्वहरणमा परे पनि उनको साहित्यिक योगदान आजसम्म उत्तिकै चर्चित रहेको बताए। समालोचक प्रा। डा। गोविन्दराज भट्टराईले डायमनशमशेरको ‘गृहप्रवेश’ उपन्यास चामत्कारिक यथार्थवाद ९म्याजिक रियालिजम० को प्रभावमा लेखिएको कृति भएको उल्लेख गरे। सम्मानित व्यक्तित्व डा. टीकाराम पोखरेलले डायमनशमशेरका उपन्यासमा ऐतिहासिक तथ्य र औपन्यासिक कलाको सन्तुलित समन्वय भएकाले उनका कृतिहरू नेपाली ऐतिहासिक उपन्यासका क्षेत्रमा शिखर स्थानमा रहेको बताए।