माछापुच्छ्रे गाउँपालिकामा नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ ।
स्वीजरल्याण्डका किसानहरुको संस्था एहमान फाउण्डेसनको रु पाँच करोड आर्थिक सहयोगमा बनेको ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’्र निर्माण गरिएको हो । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो केन्द्रको उद्घाटन गर्नुभएको छ ।
दाताहरुको सहयोगबाट बनेको सेवा केन्द्र भवन आमा स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । सेवा केन्द्रको सञ्चालन अब प्रतिष्ठानले गर्ने प्रतिष्ठानका संस्थापक अध्यक्ष वसन्तराज दवाडीले बताउनुभयो ।
सेवा केन्द्रका चार वटा भवन छन् । प्रतिष्ठानको पहलमा स्वीजरल्याण्डका दाताबाट सो सहयोग रकम प्राप्त भएको थियो । सेवा केन्द्रमा ६५ वर्ष उमेर माथिका असहाय, गरीब तथा विपन्न नागरिकहरुलाई आवासीय सुविधा सहित राखिने प्रतिष्ठानका संस्थापक दवाडीले बताउनुभयो ।
सेवा केन्द्रमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै भवन रहेका छन् । त्यसैगरी एउटा कर्मचारी र किचन तथा अर्को भवनमा क्लिनिक तथा पाहुनाका लागि व्यवस्था गरिएको छ ।
गरीव, विपन्न र असहायः वृद्धवृद्धाका लागि लक्ष्य गरिएपनि सेवा केन्द्रलाई आत्मनिर्भर बनाउनका लागि शुल्क तिरेरपनि वृद्धवृद्धा राख्न सकिने दवाडीले बताउनुभयो । सेवा केन्द्र सञ्चालनका लागि सुरुआती तीन वर्षको सम्पूर्ण खर्च इहमान फाउण्डेशनलेनै बेर्होने बताइन्छ ।
दवाडीले भन्नुभयो,“हामीले गरीव तथा असहाय र दिनदुखीका लागिनै आवासीय सेवा केन्द्र सञ्चालनमा ल्याएका हौँ । यसका साथै कसैले शुल्क तिरेर सेवा केन्द्रमा राख्न चाहनुहुन्छ भने पनि राख्न सकिन्छ । सेवा केन्द्रलाई आत्मनिर्भर बनाउन यसबाट मद्धत पुग्नेछ । नहुनेलाई सहयोग गर्ने र पैसा हुनेले तिरेर बस्ने हो । ”
सेवा केन्द्रमा आश्रित ज्येष्ठ नागरिकहरुलाई क्लिनिक र फार्मेसी सहितको नर्सिङ सेवा, परामर्श सुविधा, पुस्तकालयको सुविधा रहेको छ ।
यसैगरी अडियो–भिजुअल ल्याब, योग र ध्यान कार्यक्रम तथा एकल, डबल वा साझा कोठा, स्नान गृहको व्यवस्था गरिएको प्रतिष्ठानका सचिव सुवासचन्द्र लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार अबको तीन महिनाभित्रमा सेवा केन्द्र पूर्ण रुपमा सञ्चालनमा आउनेछ । “भवन पूर्ण रुपमा तयार भइसकेको छ । केहीमा झ्याल ढोकाको काम बाँकी छ भने किचनका सामानहरु किन्नुपर्ने र ज्येष्ठ नागरिक राख्नका लागि प्रक्रिया पूरा गर्दा सञ्चालनमा आउन तीन महिना समय लाग्छ ।” लम्सालले भन्नुभयो ।
सेवा केन्द्र निर्माणका लागि नाना गुरुङ र मोहन गुरुङको स्मृतिमा उहाँका परिवारजन कर्र्णबहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ, बरबहादुर गुरुङ र छोरी शुकमाया गुरुङले चार रोपनी जमिन दान गर्नुभएको थियो ।
कार्यक्रममा जग्गादाता तथा एहमान फाउण्डेसनका प्रतिनिधि माथियाज मारिया डोल्डलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष दिननाथ लम्साल, प्रमुख संरक्षक रविलाल पोखरेल, सल्लाहकार सूर्यप्रसाद लम्साल लगायतले सेवा केन्द्रबाट ज्येष्ठ नागरिकले लाभ लिने बताउनुभएको थियो ।
आमा स्मृति प्रतिष्ठानले घाचोकमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गरिरहेको छ। जसमा विहान १० बजेदेखि अपराह्न ५ बजेसम्म वृद्धवृद्धाहरु आएर बस्ने गरेका छन् ।
होटल पौवाले अंग्रेजी नयाँ वर्षको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम गर्ने
पुस १६ साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने
पोखरा । पोखरा लेकसाईडमा रहेको होटल पौवाले अंग्रेजी नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भका अवसरमा होटलले पुस १६ साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने होटल पौवा पोखराका प्रबन्धक केशव भण्डारी जानकारी दिए । कार्यक्रममा गायक सुरज थापा एण्ड ब्याण्डको साँगितिक प्रस्तुति रहने उनले बताए । गायक थापासँगै रितु केसी, तबला मादल बादक रिसु नेपाली, गितारिस्ट प्रविन श्रेष्ठ र विजय बज्राचार्यका साथमा बाँसुरी बादक किरण बरालको सहभागिता रहने उनको भनाइ थियो । कार्यक्रममा प्रवेश निःशुल्क रहेको होटलले जानकारी दिएको छ ।
नयाँ वर्षको अवसरमा होटल पौवाका अन्य शाखामा पनि साँस्कृतिक कार्यक्रम आयोजना हुने होटल पौवा प्रालिका प्रमुख सञ्चालन अधिकृत कृष्ण गौतमले जानकारी दिए । पोखरासँगै रुपन्देही भैरहवा, दाङको भालुवाङ, दाङकै घोराही र नवरपुरको गैडाकोटमा रहेका शाखामा पनि १६ गते नै सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।
‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली आतिथ्य सहितको सेवा दिने उद्देश्यले देशभर शाखा विस्तारमा तिब्रता दिएको प्रमुख संचालन अधिकृत गौतमले बताए । निकट भविष्यमै १०० शाखा बनाउने लक्ष्य लिएको होटल पौवाको अहिले देशभर १७ शाखा रहेको उनले जानकारी दिए ।
होटल पौवाको शाखाहरु कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशमा दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिंगे, रुपन्देहीको योगीकुटी, भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुंगामा रहेको छ । गण्डकी प्रदेशको पोखरा र नवलपुरमा होटलले शाखा विस्तार गरिसकेको छ । बागमती प्रदेशमा काठमाडौंको गौशाला, सिन्धुलीको मुलकोट र चितवनको भरतपुरमा पौवाको शाखा छ । कोशी प्रदेशमा खोटाङको हलेसीमा यसले सेवा विस्तार गरेको छ । छिट्टै बाँकेको नेपालगन्जमा पाँच तारे स्तरको होटल पौवा सञ्चालनको तयारीमा रहेको अधिकृत गौतमले बताए ।
होटल पौवाले नेपाल मै रोजगारी सिर्जना गरी युवा जनशक्ति पलायन रोक्ने लक्ष्य लिएर अघि बढेको अधिकृत गौतमले सुनाए । होटलको अर्को उद्देश्य भनेको रैथाने खाना र नेपाली मौलिक परम्परा जोगाउनु रहेको उनले बताए । सोही अनुरुप होटलले नेपालीहरुले परम्परादेखि मनाउँदै आएको चाडपर्वमा विशेष कार्यक्रम गर्दै आएको छ ।
पोखरा सडक महोत्सवमा विभिन्न प्रतियाेगिता सम्पन्न
पोखरा । रेवान पोखराको आयोजनामा शनिबारदेखि शुरु भएको २६ औँ पोखरा सडक महोत्सवको दोस्रो दिन विभिन्न मनोरञ्जनात्मक खेल प्रतियोगिता र सडक संवाद कार्यक्रम भएका छन ।
आइतबार भएको वेटर रेस तर्फ व्यन्जन रेष्टुरेण्टका सुबास सिर्पाली प्रथम, आइरिस पवका विनोद श्रेष्ठ दोस्रो र चिल्ली बारका अविश्यक सेन तेसो भए भने वेट्रेस रेस तर्फ व्यन्जन रेष्टुरेण्टका सिमा मल्ल प्रथम , मोनिका नेपाली दोस्रो र प्याराडिस्कोका पुजा रसाइली तेस्रो भइन । वेटर वेट्रेस तर्फका प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश नगद रु ५ हजार , ३ हजार , २ हजार सहित प्रमाण पत्र प्राप्त गरे । विजेतालाई रेवानका अध्यक्ष विश्वराज पौडेल र होटल एशोसिएसन गण्डकीका अध्यक्ष लक्ष्मण सुवेदीले पुरस्कार प्रदान गरे । खहरेस्थित चिल्लीबार रेष्टुरेण्ट अगाडीबाट शुरु भएको दौडमा सहभागिहरुले ट्रे मा पानीको बोत्तल र ग्लासमा पेय पदार्थ लिएर दौडिएका थिए ।
मःम खाने प्रतियोगितामा पुरुष तर्फ सम्राट सुवेदी प्रथम र धन बहादुर वुढाथोकी दोस्रो भए भने महिला तर्फ सरला अधिकारी प्रथम र भिमा क्षेत्री दोस्रो भए ।
त्यस्तै सडक महोत्सव मै पहिलो पटक सेफ प्रतियोगिता आयोजना गरिएको खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिए । सेफ प्रतियोगिता तर्फ ३६० स्काइ लजका राजु नेपाली प्रथम , चिल्ली बारका जितु मगर द्वितिय र मेड५ रेष्टुरेण्टका शंकर मगर तृतीय भएका छन् ।
यस्तै जारी महोत्सवमा पोखरा भ्रमण वर्ष २०२५ चुनौती र अवसर शिर्षकमा सडक संवाद कार्यक्रम सम्पन्न भएको छ । जस्को मुख्य वक्ताको रुपमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य , वक्ताका रुपमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपक राज जोशी, पाटा नेपाल च्यप्टर अध्यक्ष खेम लकै , पोखरा पर्यटन परिषदका संस्थापक अध्यक्ष अशोक पालिखे र पर्यटन उद्यमी शिव ढकाल रहेका थिए । अम्मटमा भोलि पनि पर्यटन प्रवद्वनका लागि खाना, संस्कृति र साहसिक खेल शिर्षकमा सडक संवाद कार्यक्रम हुने सडक संवाद कार्यक्रम संयोजक बसन्त गौतमले जानकारी दिनु भयो ।
रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखराले बर्सेनि फेवाताल किनारमा पोखरा सडक महोत्सव आयोजना गरेर आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउँदै आएको छ । अंग्रेजी नयाँ वर्ष–२०२५ स्वागतार्थ २६ औं पोखरा सडक महोत्सव पुष २७ गते सम्म चल्नेछ ।
स्थानिय तह, संरक्षण क्षेत्र र सरोकारवाला निकायहरूसंग अन्तरक्रीया
पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानिय तह ,संरक्षण क्षेत्र र सरोकारवाला निकायहरू संग समन्वय र सहकार्यका बिषयमा अन्तरक्रीया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। पौडेलले संरक्षण क्षेत्र र स्थानीय तहबिच प्रभाबकारी समन्वय स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो। पौडेलले क्षेत्राधिकार लगायत अन्य सरोकारका बिषयमा देखिएको अन्यौलता निराकरण गर्न कार्यक्रम फलदायी भएको बताउनुभयो । नेपाल सरकार ,प्रदेश सरकार , स्थानिय तह र संरक्षण क्षेत्रको प्रभाबकारी र नतिजामुखी परिणाममा कार्यक्रम फलदायी भएको उल्लेख गर्नुभयो । नियम र कानुन कडाइका साथ कार्यान्वयन गर्नुको विकल्प नभएको भन्दै प्रमुख पौडेलले नियम उल्लंघन गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन आग्रह गर्नुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संरक्षणका सबालमा सबै पक्ष गम्भीर हुनुपर्ने उल्लेख गर्दै निरन्तर सहयोग र सहकार्यमा जोड दिनुभयो । संरक्षण क्षेत्रमा हुने कुनै पनि कानुन बिपरितका काम हुन नदिन स्थानीय सहित सरोकारवालाहरू सजगताका साथ लागी पर्नुपर्ने भन्दै प्र जि अ पाण्डेले आगलागी र अन्य मानव सृजित बिपत्ती नियन्त्रणमा जोड दिनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका बन संरक्षण अधिकृत बाबुलाल तिरूवाले संरक्षण क्षेत्रको बर्तमान अबस्था र स्थानीय तह संगको समन्वय र सहकार्यका बिसयमा अबधारणा पत्र पेश गर्नु भएको थियो। कार्यक्रममा कास्कीका पालिका प्रमुख सहित बन कार्यालय र सम्बन्धित सरोकारवाला कार्यालय प्रमुखको उपस्थिति रहेको थियो।। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप- प्रमुख सरिता माल र संचालन शाखा अधिकृत झबिश्वर रेग्मीले गर्नुभएको थियो।