सम्मानपूर्वक बाँच्न पाउनुपर्ने अधिकारबाट वञ्चित हुनु परेको  ज्येष्ठ नागरिककाे  गुनासो

पाेखरा । सम्मानपूर्वक   बाँच्न पाउनुपर्ने अधिकारबाट वञ्चित हुनु परेको  ज्येष्ठ नागरिकले गुनासो गरेका छन ।  बिहीबार जेष्ठ नागरिक दिवसको अबसरमा पाेखरामा आयोजना गरिएको जेष्ठ नागरिककाे लागि कानुनी संरक्षण विषयक कास्की जिल्ला स्तरीय अनुशिक्षण कार्यक्रमका सहभागीले नागरिकको मौलिक अधिकारअन्तर्गतको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका साथै आरक्षणका नाममा उपलब्ध सेवा सुविधाबाट आफूहरू वञ्चित भएको गुनासो गरेका हुन् । कार्यक्रममा बाेल्दै पाेखरा महानगरपालिका वडा नम्बर १७ का वडा सदस्य शिवराम भण्डारीले जेष्ठ नागरिकका सवालमा काम गर्न वडा कार्यलय सधैं प्रतिवद्ध रहेको बताउनुभयो । जेष्ठ नागरिक संघ कास्कीका अध्यक्ष केशव ढकालले  यातायात साधनमा परिचयपत्र देखाउँदा वेवास्ता गरिने र छुटको कुरा गर्दा दुर्व्यवहार समेत व्यहोर्नु परेको बताउनुभयाे । सार्वजनिक यातायात साधनमा ज्येष्ठ नागरिक छुट र सुविधा दिने कार्यविधि २०७० को दफा ३ को १ मा ६० वर्ष उमेर पार गरेका व्यक्तिलाई परिचयपत्रका आधारमा आरक्षण तथा छुट दिइने व्यवस्था उल्लेख छ । जसमा एक सवारी साधनमा बढीमा दुई जनालाई उक्त सुविधा दिइने व्यवस्था छ तर, उक्त व्यवस्था अनुसार सार्वजनिक यातायातका साधनमा सुविधा नपाएको  उहाँले बताउनुभयाे ।
 उहाँले नेपालको संविधानकोे धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनिएको छ । हाल राज्यले ज्येष्ठ नागरिकलाई मासिक ४ हजार भत्ता दिएको जानकारी गराउनुभयाे ।

पोखरा १५ मा माघ २ गतेदेखि ‘बृहत् खेलकुद महोत्सव’

पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि बृहत खेलकुद महोत्सव गर्ने भएको छ । वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो तेस्रो संस्करण हो । माघ ६ गतेसम्म पाँच दिन चल्ने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकसी, दौड, साइक्लिङ, युनी हक्की लगायतका खेलमा प्रतिष्पर्धा हुने खेल महोत्सव संयोजक एवं वडा सदस्य आशिष भण्डारीले जानकारी दिए । ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल संख्या र पुरस्कार राशीमा वृद्धि गरिएको छ । वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानका साथै वडा स्थित विभिन्न संघसंस्थाका खेलकुद स्थलमा प्रतियोगिता सञ्चालन हुनेछ । वडा अध्यक्ष तोरणबहादुर बानियाँले वड़ा खेलकुद महोत्सवको अवधारणा स्थानीय तहमा खेलकुदको माध्यमवाट समुदायको सर्वांङ्गिण विकास गर्न केन्द्रित रहेको बताए । ‘खेलकुद मनोरञ्जन वा प्रतिस्पर्धा मात्र नभई शारीरिक र मानसिक स्वास्थ्य सुधार, सामाजिक रूपान्तरण र समावेशीकरणको प्रभावकारी माध्यम हो ।’ वडाध्यक्ष बानियाँले भने– ‘यो महोत्सवले स्थानीय स्तरमा खेलकुदको महत्वलाई स्थापित गर्न तथा समुदायमा सकारात्मक सोच र अनुशासनको विकास गर्न योगदान पु¥याउने ठानेका छौँ । स्थानीय युवाहरूलाई सकारात्मक क्रियाकलापमा सक्रिय गराउनुका साथै उनीहरूको प्रतिभा पहिचान र विकास गर्दै राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको निर्माण गर्ने यसको मुख्य उद्देश्य रहेको बानियाँले बताए । विभिन्न समुदायबीच आपसी सद्भाव, सहयोग र सहिष्णुतालाई प्रवद्र्धन गर्दै समावेशी समाजको निर्माणमा महत्वपूर्ण योगदान दिने लक्ष्य पनि लिइएको छ । खेल संयोजक आशिष भण्डारीले स्थानीय प्रतिभाहरूको पहिचान गरी तिनीहरूको क्षमता विकास गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउन विगत तीन वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको बताए । ‘अघिल्ला वर्षहरुमा पाएको सफलता र थप अनुभवले यस संस्करणमा खेलकुदको विधा थप्दै पुरस्कार राशीमा पनि वृद्धि गरेका छौँ ।’ उनले भने – ‘करिब दुई हजार खेलाडी विभिन्न खेलमा प्रतिष्पर्धा गर्नेछन् । यो खेलकुदको महोत्सव नै हो ।’ फुटबलतर्फ पुरुष विधामा विजेताले ४० हजार तथा उपविजेताले ३३ हजार ४ सय, विद्यालय स्तरीय छात्र फुटबलतर्फ विजेताले २६ हजार ७ सय, उपविजेताले २० हजार प्राप्त गर्नेछन् । यस्तै, भलिबल तर्फ पुरुष र महिला दुवैतर्फका विजेताले २६ हजार ७ सय, उपविजेताले २० हजार, विद्यालयस्तरीय युनी हक्की छात्र छात्रा दुवै तर्फ विजेताले १० हजार, उपविजेताले ६ हजार र तेस्रो हुनेले ६ हजार पाउनेछ । विद्यालयस्तरीय छात्र साइक्लिङतर्फ प्रथम हुनेले ८ हजार, दोस्रो हुनेले ६ हजार, तेस्रो हुनेले ४ हजार र सान्त्वना हुने २ जनाले २ हजार प्राप्त गर्नेछन् । सडक दौड पुरुष, महिला, छात्र र छात्रा सबै चार वटै विधातर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ८ हजार, तेस्रो हुनेले ६ हजार र सान्त्वना हुने २ जनाले ५ हजार नगद पुरस्कार पाउनेछन् । ब्याडमिन्ट डबल महिला र पुरुषतर्फ प्रथम हुनेले ८ हजार, दोस्रो हुनेले ६ हजार, सिंगलतर्फ महिला र पुरुष दुवै विधामा प्रथम हुनेले ५ हजार र दोस्रो हुनेले ४ हजार पाउनेछ । महिला रस्साकसीमा प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ८ हजार, तेस्रो हुनेले ६ हजार पाउनेछन् । ह्विलचेयर बास्केटबलमा विजेताले १० हजार र उपविजेताले ८ हजार तथा ह्वीलचेयर दौडमा प्रथम हुनेले ६ हजार ७ सय, दोस्रो हुनेले ५ हजार ५ सय, तेस्रो हुनेले ४ हजार र सान्त्वना २ जनाले २ हजार ७ सय पाउने आयोजकले जनाएको छ । विभिन्न विधामा सर्वोत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिने खेल संयोजक भण्डारीले जानकारी दिए । नेपाली यू १९ महिला राष्ट्रिय क्रिकेट टीमकी सदस्य सिद्ध माविमा कक्षा ११ मा अध्ययनरत रचना चौधरीलाई ३४ हजार नगद पुरस्कारसहित सम्मान, खेलाडी प्रोत्साहन अन्तर्गत खेल्छ गण्डकीमा ग्रासरूट टेनिस खेलमा वडाको अमिनतराबाट छनौट भई निरन्तर प्रशिक्षणमा रहेका १० जना खेलाडीहरूलाई प्रोत्साहन स्वरूप पौष्टिक सामाग्री वितरण गरिएको छ । हिमालयन लाईफ नेपाल र राइट फर चिल्ड्रेनको थप आर्थिक तथा प्राविधिक सहयोग पनि खेलकुद महोत्सवमा मिलेको वडाले जनाएको छ । पत्रकार सम्मेलनमा कार्यपालिका सदस्य तथा वडा सदस्य मन्दिरा गौतम, वडा सदस्य बलराम पौडेल, वडा सदस्य सेतीमाया गुरुङको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव युवराज पौडेलले गरेका थिए ।

पोखरामा ह्योल्मो भाषाको प्रशिक्षण सुरु

पोखरा। नेपाल ह्योल्मो समाज सेवा समिति, पोखराको आयोजनामा एक महिने ह्योल्मो भाषा प्रशिक्षण कक्षा शुभारम्भ भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान सँगको सहकार्यमा सञ्चालन भएको प्रशिक्षणमा कास्कीका विभिन्न भागमा बसोबास गर्ने ३० जना ह्योल्मो समुदायका व्यक्तिहरूको सहभागी रहेको छ । भाषा प्रशिक्षण कक्षाको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले नेपाल बहुभाषिक, बहु जातीय मुलुक भएको उल्लेख गर्दै मुलुकको विविधतालाई बचाउन विभिन्न समुदायमा सदियौँ देखि प्रचलनमा रहिआएका भेसभुसा, कला, संस्कृति तथा भाषा जस्ता महत्त्वपूर्ण पक्षहरूको संरक्षण तथा संवर्धन आवश्यक रहेकोमा जोड दिए । कार्यक्रमका विशेष अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेश भित्र १०६ वटा भाषाहरू प्रचलनमा रहेको उल्लेख गर्दै सबै भाषाहरूलाई जोगाउँदै गण्डकी प्रदेशलाई भाषा तथा सांस्कृतिक रूपमा उदाहरणीय बनाउन प्रज्ञा प्रतिष्ठान सक्रिय रहेको जानकारी दिए। कार्यक्रममा खेन्पो फुन्छोग लामा, भाषा प्रशिक्षक मिङ्मार ह्योल्मो, पोखरा ह्योल्मो गुम्बा समितिका अध्यक्ष सुमित्रा ह्योल्मो लगायतले ह्योल्मो भाषा पुरानो तथा उत्कृष्ट रहेको र लवज एवं व्याकरण समेत उत्कृष्ट रहेकाले यसको जगेर्ना गर्नुपर्नेमा जोड दिए । नेपाल ह्योल्मो समाज सेवा समिति पोखराका अध्यक्ष क्याप्टेन पूर्ण बहादुर ह्योल्मोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत ह्योल्मो आमा समूह कास्कीका अध्यक्ष रिता ह्योल्मोले गर्नुभएको थियो भने सञ्चालन पूर्ण ह्योल्मोले गर्नुभएको थियो ।  

किष्णप्रसाद भट्टराई (किसुनजी)को जन्मजयन्तीको अवसरमा पोखरामा  विचार गोष्ठी

पोखरा ।  नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्री सन्त नेता किष्णप्रसाद भट्टराई (किसुनजी)को १०१ औं जन्मजयन्तीको अवसरमा विचार गोष्ठी सम्पन्न भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशको आयोजनामा भएको गोष्ठी पूर्व मन्त्री दिपकुमार उपाध्यायले पानसमा बत्ति वालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै पूर्वमन्त्री उपाध्यायले किसुनजीको जीवनीको वारेमा व्याख्या गरेका थिए । आध्यात्मिक व्यक्ति समेत रहेका किसुन जीमा स्वार्थको भाव नरहेको र आफू हारेर पनि पार्टी र देशको फाइदाको लागि सधै लडेको जानकारी गराएका थिए । राजनीतिमा हार र जीतले कुनै प्रभाव नपार्ने बताउँदै जीत र हार भन्दा माथी आफूलाई राख्नुपर्ने कथ्य सिकाएको बताए । अहिलेको राजनीति अनैतिकता छलछाम, स्वार्थमा वगेको देखिएको बताउदै डन र धनको संस्कृति मौलाएर गम्भिर रोगको शिकार बन्न पुगेको छ । उनले भने, ‘अब रोगलाग्यो यसलाई सर्जरी नै गर्नुपर्ने अवस्था आएको छ, अरुलाई दोष दिने होइन सत्यको खोजी गरेर असत्यलाई चिर्ने प्रयास गरिएन भने पार्टी खतराको अवस्थामा आइपुगेको छ ।’ पूर्वमन्त्री उपाध्यायले भने, ‘किसुन जी भन्नुहुन्थ्यो सत्ता प्राप्ती मेरो रुची होइन मोक्ष नै मेरो लक्ष्य हो, चरित्रमा इमान्दारिता भयो भने सबै झुक्नुपर्छ । किसुनजीले अबसर आएपछि अन्तरिम संविधान र निर्वाचन समयमानै काम गरेर साहस देखाउनुभएको, आर्थिक पारदर्शिता देखाउनुभएको, भाषणमा नभई व्यवहारमा देखाएका कामहरुले उहाँलाई सदा अमर राखेको छ ।’ त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले किसुनजी लगायतका नेताहरुको त्याग तपस्याका उहाँहरु आजपनि आदर्श पुरुष कहलिएको बताए । सभापति शर्माले राज्यको जिम्ेवारी पदमा हुदा वा नहुँदा पनि आफुलाई नचुकाएको आदर्श पुरुष रहेको बताउँदै वीपीलाई समेत किसुनजीले आफूलाई लागेको कुरा राखेर आफूतर्फ आकर्षण गराएका तथ्यहरु रहेको जानकारी गराए । उनले सत्य र निष्ठाको राजनीति गरेमा कहिल्यैपनि शीर झुकाउनु नपर्ने र पार्टी र संगठन बलियो हुने बताए । सभापति शर्माले ‘प्रजातन्त्र विना जनता र राज्यको जीवन स्तर सकरात्मक परिवर्तन असम्भव भएको बताउँदै प्रजातन्त्रमा जनता मालिक, कार्यकर्ता पार्षद र नेताहरु सेवक हुन्छन् । आज ठीक उल्टो भएको छ ।’ सबै विरासत छोडेर म नै सर्वव्यापी हो भनेर आउँदा आज पार्टी र देशको अवस्था नाजुक बन्न पुगेको उल्लेख गरेका थिए । किसुनजी लगायतको अग्रज नेताहरुको योगदान कार्यक्रममा होइन व्यवहारमा उतार्ने बेला आएको बताउँदै शर्माले जनता र राज्यको हितमा काम गरे पहिलाको विरासत पुन स्थापित हुने जानकारी गराएका थिए । प्रजातन्त्र स्थापनाका लागि कृष्णप्रसाद भट्टराईले १८ वर्ष जेल जीवन बिताएको र सदैब नेपाली जनताको जीवनस्तर उकास्न चिन्तित रहने गरेको बताए । किसुनजी जस्तो नेता संसारमा बिरलै मात्र पाउन सकिन्छ भन्दै गिरिजाबाबु, गणेशमान, सुबर्ण शमशेर सहित नेताहरुलाई मिलाएर कांग्रेसलाइ बलियो बनाउन किसुनजीको योगदान महत्वपुर्ण रहेको सभापति शर्माले बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले गण्डकी प्रदेशले गरेको गोष्ठीले किसुनजीको जीवनीलाई कार्यकर्ता माझ पुर्याउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका थिए । भट्टराईले कांग्रेस भित्रबाट गिरिजाबाबु र किसुनजीको बिचमा द्वन्द बढाउन खोज्ने केहि नेताहरु समेत रहेको बताउंदै आँफु किसुनजीको प्रेरणाबाट राजनीतिमा सक्रिय बनेको समेत स्पष्ट पारे। उनले घर परिवारको माया मोह र सबै दवाब र प्रभावबाट मुक्त भएर देश र जनताको लागि सदैब क्रियाशील रहने प्रेरणा किसुनजी बाट नै मिल्ने भएकोले कांग्रेसजनले किसुनजीको इतिहास पढ्नुपर्नेमा जोड दिए। नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्वमन्त्री यज्ञबहादुर थापाले किसुनजीले सिकाएको निष्ठा र त्याग सदा अमर रहने बताउँदै काँग्रेसलाई जनतामाझ लोकप्रिय बनाउनुपर्छ भनेर सदैब लागिपर्ने नेताको रुपमा किसुनजी रहेको स्पष्ट पारे । नेपाली कांग्रेस कास्कीका अध्यक्ष किशोरदत्त बरालले पार्टीलाई उत्पादन जोड्नुपर्ने जानकारी गराएका थिए भने प्राडा कुशुमाकर न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेको गोष्ठी सहमहामन्त्री कोपिला रानाभाटले स्वागत र प्रवक्ता माधव बास्तोला (मधु)ले धन्यबाद व्यक्त गरेको गण्डकी प्रदेश सदस्य एव प्रचार विभाग उपप्रमुख शिरोमणी बरालले जानकारी दिए।