डेमाेक्रयाटिक लयर्स एशाेसियसन कास्कीको  अध्यक्षमा  कमलपति शर्मा

पाेखरा । नेपाल डेमाेक्रयाटिक लयर्स एशाेसियसन कास्कीको  अध्यक्षमा  कमलपति शर्मा  निर्वाचित हुनुभएकाे छ ।  एशाेसियसनकाे शनिबार पाेखरामा सम्पन्न  १५ औं साधारण सभा तथा छैटौं अधिबेशन  अन्तर्गत  भएको निर्वाचनमा प्रतिस्पर्धी शिवराज वाग्लेलाई पछि पार्दै शर्मा निर्वाचित हुनुभएको हाे।शर्माले १सय २८ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी वाग्लेले १ सय मत प्राप्त गर्नुभयो ।
त्यसैगरी सचिवमा प्रतिस्पर्धी सन्ताेष अधिकारीलाई पछि पार्दै सन्ताेषमणि लामिछाने विजयी हुनुभएको छ।लामिछानेले १सय ३५ मत प्राप्त गर्दा अधिकारीले ९० मत प्राप्त गर्नुभयो ।

सुनास कास्कीको अध्यक्षमा सिरोज कोइराला

पोखरा । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्की, गण्डकीको अध्यक्षमा सिरोज कोइराला शुक्रबार निर्विरोध चयन भएका छन् । सुनासको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले कोइरालाको नेतृत्वमा निर्विरोध दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा शान्तिकुमारी गुरुङ, सहसचिवमा विष्णुप्रसाद पौडेल र कोषाध्यक्षमा शिवहरि आचार्य निर्विरोध चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मञ्जु गौतम, इन्दिरा भण्डारी, घनश्याम पौडेल र ईन्दिरा दाहाल रहेका छन् । बाँकी दुई सदस्य पछि कार्यसमितिले मनोनयन गर्नेछ । पूर्वअध्यक्ष तथा सल्लाहकार पूण्य पौडेलको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले निर्विरोध कार्यसमिति चयन गरेको हो । जसमा सदस्य भानु पराजुली र कुमारीमुना बाँस्तोला रहेका थिए । कार्यक्रमको उद्घाटन सत्रमा सचिव विष्णुप्रसाद अधिकारीले पेश गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शान्ति गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन भेलाले पास गरेको थियो । नवनिर्वाचित कार्यसमितिलाई निर्वतमान अध्यक्ष रविन्द्र बाँस्तोला, कार्यक्रमका प्रमुख अतिथि सुनासका संस्थापक अध्यक्ष सुरेन्द्र थापा मगर, पूर्वअध्यक्ष चन्द्रकृष्ण कर्माचारी, संस्थाको कार्यकारी अधिकृत भानु पराजुली, पूर्वअध्यक्ष पूण्य पौडेलले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिदैं संस्थाले गरेका कामका बारेमा चर्चा गरेका थिए । नवनिर्वाचित अध्यक्ष कोइरालाले प्रतिवद्धता मन्तव्य राख्दैं आगामी दिनमा अझै सशक्त ढंगले जनताको प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायहरुमा हुने ढिलासुस्ती र भ्रष्टाचारका विषयमा संस्थाले काम गर्ने बताए ।

योगी र बिसीको अर्को सहयात्रा ‘साहिँला दाइ’ स्रोतामाझ

काठमाडौं । धेरै पहिले जनताले चाहेको व्यवस्था फरियो । त्यसपछि पटक पटक सत्ता फेरियो । वर्षमै तीनचारवटा सरकार फेरियो। तर कहिल्यै जनताको अवस्था फेरिएन। र त, आज देशै रित्तिजानेजसरी विदेशिनेको लर्को लागेको छ । युवा मात्रै होइन अधबैंसेलाई पनि देशको अवस्थादेखि झर्को लागेको छ । हो यही भावमा संचारकर्मी तथा गीतकार शिवराज योगीले रचना गरेको ‘साहिँला दाइ’ बोलको गीत सार्वजनिक भएको छ। कोरोना कालमा संगीतकार भिम बिसीसँगको सहकार्यमा ‘ऐना हेरी हेरी’ बोलको गीत रचना गरेका योगीले ‘साहिँला दाइ’ पनि बिसीसँगै सहकार्य गरेका हुन्। सैयौँ गीतमा संगीत दिइसकेका बिसीले ‘साहिँला दाइ’को संगीत पनि शब्दको भावमाथि न्याय हुने गरी निर्माण गरेका रचनाकार योगीले बताए। युद्धकालपछि राजनीति व्यवस्था परिवर्तन भएत देशले मुहार फेर्छ होला, स्वदेशमै धेरैथोक हुन्छ होला भन्ने आम भावनामा झनै ठेस लागेको कुरालाई रचनाकारले भनेका छन्ःः खोर्सिँदैमा साहिँली दिदी जिन्दगी खिइगयो व्यवस्थाले साहिँली दिदी आस मात्रै दिइगयो पीरैपीरकै भिर… जनतालाई आसैआस मात्र अनि राजनीतिक नेपथ्यमा भइरहने एकपछि अर्को बेइमानीले किशोरवयमै हरेक नेपाली देश छोड्न चाहने र त्यसले सामाज तथा पारिवारहरुमा छाएको निराशा समेटिएको गायक शम्भु रैका र प्रेरणा विश्वकर्माले न्यायपूर्ण आवाज दिएका छन् । बुढेसकालकाे सहारा टिकेन आगनमा चरीजस्तै साहिँला दाइ उडीगयाे गगनमा पीरैपीरको भीर गायिका प्रेरणा सुदूरपश्चिमको कञ्चनपुर गुलरिया ५ मा जन्मिएर सांगीतिक क्षेत्रमा होमिएकी नयाँ अनुहार हुन्। उनीे नेपाल आइडल सिजन ५ मा सुदूरपश्चिमबाट पहिलो गोल्डेन माइक पाउन सफल प्रतिभा हुन। नेपाल आइटलको टप १० मा पर्न सफल उनी यतिबेला काठमाडौंमा संगीत प्रशिक्षणसँगै लिङ्कन कलेजमा छात्रवृत्तिमा बिबिएस अध्ययनरत छिन्। शम्भु रैका दुई दशकदेखि सांगीतिक क्षेत्रमा छन्। विभिन्न परिस्थितिले सांगीतिक क्षेत्रबाट केही ओझेल परेका रैका कैलालीको धनगढीका स्थायी बासिन्दा हुन। २०६२ सालमै पहिलो गीत रेकर्ड गराइसकेका रैका २०६४ को सुदूरपश्चिम आइडल गायनमा विजयी प्रतिभा हुन्। एमएसम्मको अध्ययन गरेका उनले चलचित्र र एल्बमहरुमा गरेर तीन दर्जन गीत रेकर्ड गराइसकेका छन्। गीतको भिडियोमा क्रिस बम र निरुता बिष्टको अभिनय । निरुता त्यस्ती नायिका हुन जसका श्रीमान लामो समयदेखि अस्पतालको शय्यामा छन्। उनी हरेक दिन आफ्नो श्रीमानको आवाजका लागि इश्वर पुकारिरहेकी हुन्छिन्। हरेकपल असक्त श्रीमानकाे सेवामा समर्पित भएको कुरा उनले सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेकी हुन्छिन्। हरिभक्त बुढाथोकीको प्रस्तुति रहेको ‘साहिँला दाइ’ गीतको भिडियो निर्देशन तथा निर्माण बिक्रम चौहानले गरेका हुन्। प्रकाश खडकाले खिचेकाे भिडियाे सम्पादन मीन रावलले गरेका हुन। विश्व अधिकारीको एरेन्ज्, सुमन र खुमन रानाले रेकर्ड गरेको म्युजिक भिडियोको मिक्सिड कुमार रानाले गरेका हुन्। गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हाे।

पोउवासंघ लाई राम्रो बनाउन टीम चाहिन्छ, त्यो हामीले लिएर आएका छौं  ः अर्जुन पोखरेल

पोखरा । पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदैछ । यस महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलसहित चुनावी प्रचारप्रसार लागेका छन् । अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल वर्तमान समितिका पदाधिकारी र सदस्यहरुलाई समेटेर प्यानल बनाएर व्यवसायीहरुको घरदैलोमा पुगिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन निर्वाचन समितिले शनिबार पोखरामा उम्मेदवार परिचयात्मक कार्यक्रम समेत आयोजना गरेको थियो । उक्त उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्षका उमेदवार अर्जुन पोखरेलले हारबाट विचलित नभई आफ्नो प्रतिवद्धताहरु पुनः लिएर व्यवसायी माँझ आएको बताए । ‘मलाई स्मरण छ, ३४ औं महाधिवेशनबाट निर्वाचन परिणाम घोषणा हुँदै गर्दा मैले यही फोरमबाट भनेको थिए’, उमेदवार पोखरेलले भने, ‘म हारबाट बिचलित हुँदिन, पुनः एकचोटी आफ्नो अनुभवलाई संघमा नेतृत्व गर्छु भन्ने प्रतिवद्धता लिएको थिए त्यसै अनुरुप आज तपाईहरु समक्ष उभिएको छु ।’ उनले संघलाई राम्रो बनाउन टीम चाहिने भएकाले त्यो टिम आफुहरुले लिएर आएको समेत बताए ।‘हिजो ३४ औं महाधिवेशनमा प्रतिस्पर्धामा रहेका साथीहरु म सँगै लामो समय सहकार्य गरेका साथीहरु थिए’, उनले भने, ‘विगतको हारको अनुभवलाई हेर्दै गर्दा निर्वाचनमा विजयी हुन र संघलाई राम्रो टीम चाहिने भएकाले वर्तमान समितिका पदाधिकारी र सदस्यहरुलाई लिएर निर्वाचनमा होमिएको छु, आशा छ सबै व्यवसायीहरुले हाम्रो टीमलाई विश्वास गर्नुहुनेछ ।’ उनले पोखरा उद्योग वाणिज्य संघ र स्थानीय सरकार पोखरा महानगरपालिकाबीच सहकार्य र समन्वय नहुँदा त्यसको असर व्यवसायीहरुले भोग्न परेको समेत बताए । ‘हिजोका दिनमा पोखरा उद्योग वाणिज्य संघ पोखराको विकासका निम्ति छलफलको थलो बनेको थियो, तर अहिले तीनै तहको सरकारसँग सहकार्य र समन्वय हुन सकेको छैन’, उनले भने, ‘सरकारसँगको सहकार्य र समन्वय नहुँदा पोखराको विकाससँगै व्यवसायीहरु धरापमा परेका छन्, त्यसैले थलिएको पर्यटन र व्यवसायलाई माथि उठाउन हामी टिमसहित आएका छौं ।’ भदौं २८ र २९ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा अर्जुन पोखरेल प्यानलसहित १६ बुँदे प्रतिवद्धतापत्रसहित व्यवसायीहरुको घरदैलोमा पुगिरहेका छन् । अर्जुन पोखरेल प्यानलबाट उत्तममान बुद्धाचार्य (वरिष्ठ उपाध्यक्ष), दिनेशचन्द्र बास्तोला (उद्योग उपाध्यक्ष), बलराम आचार्य (उपाध्यक्ष वाणिज्य), शोभा गौतम (महासचिव), मनोजकुमार श्रेष्ठ (कोषाध्यक्ष पदमा निर्विरोध भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा बन्दना केसी (कर्पोरेट सदस्य), एकनारायण गौतम (औद्योगिक सदस्य), राम कँडेल (कर्पोरेट सदस्य) मा निर्विरोध भएका छन् । उनीहरुलाई निर्वाचन समितिले निर्विरोध घोषणा गर्न बाँकी छ । अर्जुन पोखरेल प्यानलबाट निर्विरोध भएका पदाधिकारीहरुले व्यवसायीहरुको समस्या समाधान र सुस्ताउँदै जान थालेको पर्यटन र व्यवसायलाई चलायन बनाउन आफुहरु लागि पर्ने बताउँदै एकल रुपमा नभएर टीमबाट नै समस्याको समाधान हुने भएकाले प्यानलबाट १६ बुँदे प्रतिवद्धता पत्र लिएर आएको बताएका छन् । अर्जुन पोखरेल प्यानलबाट अध्यक्षमा अर्जुन पोखरेल, उपमहासचिवमा बालकृष्ण कोइराला रहेका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा जीवन प्रकाश श्रेष्ठ, टिकाराम सुवेदी (माधव), दुधमान गुरुङ (आशिष), देवेन्द्र प्रजु, प्रेम प्रसाद सुवेदी, भीम गौतम, यादव प्रसाद पोखरेल, ललित बहादुर कुँवर, लेखनाथ सुवेदी र सौगात थापाको उम्मेदवारी छ ।