व्यवसायी र पोखराको लागि केही गर्न भनेर टिमसहित आएका छौंः उपमहासचिव उम्मेदवार  कोइराला

पोखरा  ।   पोखरा उद्योग वाणिज्यको ३५ औं महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार बालकृष्ण कोइरालाले पोखरा र पोखराको व्यवसायीहरुको लागि केही गर्न पर्छ भन्ने उद्धेश्यसहित आएको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघको ७ पदाधिकारी मध्ये २ पदाधिकारीमा मात्र निर्वाचन हुने पक्का छ । ७ पदाधिकारी मध्ये अध्यक्ष र उपमहासचिव पदमा मात्र निर्वाचन हुनेछ भने, बाँकी तीन उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा पदमा निर्विरोध भएका छन् । अर्जुन पोखरेल प्यानलबाट उपमहासचिव पदका उम्मेदवार कोइरालाले आगमी दिनमा पोखरा उद्योग वाणिज्य संघमा व्यवसायीहरुको आवज बुलन्द गर्ने गरी टिमसहित आएको बताए । ‘पोखरा उद्योग वाणिज्य संघमा हिजो के भयो भएन भनेर अग्रजहरुले बाटो र कोरेका चिजहरु हेरी सकेका छौं, उम्मेदवार कोइरालाले भने, ‘यो संस्थाले पोखराको गरिमालाई बचाएको छ, त्यसैले संघमा व्यवसायीहरुको आवाज बुलन्द गर्न, समस्याको समाधानमा ध्यान दिन, पोखराको विकास र व्यवसायीहरुमा केही गर्न पर्छ हामीले नगरे कसले गर्छ भनेर नै टिम सहित आएका छौं ।’ उनले पर्यटकीय नगरीको अस्तित्व जोगाउने जिम्मेवारी समेत पोखरा उद्योग वाणिज्य संघमा समेत रहेको बताए । ‘पर्यटकीय नगरीमा हामीले गर्नुपर्ने र आफ्नो पोखराको अस्तित्व जोगाउन हाम्रो पनि काम कर्तव्य, अधिकार र जिम्मेवारी छ, उनले भने, ‘हामी केही गर्न पर्छ भनेर बजार झरेका छौं, पेशा र व्यवसायलाई कसरी सफल बनाउने भनेर चुनौती हामीमा छ, त्यो चुनौतीसँगै नेतृत्वदायी भुमिकामा बसेर व्यवसायलाई सहज र सुलभ गर्न सकिन्छ भन्ने विश्वास, भरोसाको साथ अर्जुन पोखरेल प्यानलबाट टिमसहित आएका छौं ।’

अपाङ्गताको क्षेत्र गण्डकी सरकारको  प्राथमिकतामा छ   : मुख्यमन्त्री पाण्डे  

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको बताउँदै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् ।  लक्षित वर्गलाई समेट्न गरी नीति, कार्यक्रममा सरकारले विषेश ध्यान दिएको उनले बताए । ‘प्रादेशिक अपाङ्गता नीति निर्माण भएर कार्यन्वयन भईरहेको छ, अपाङ्गताको क्षेत्र केन्द्रित भएर काम गर्ने गरी अपाङ्गता निर्देशन समिति छ’ बिहिवार राष्ट्रिय अपाङ्ग कोषले आयोजना गरेको ह्विलचेयर वितरण कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भने ‘अपाङ्गता संम्बन्धी ऐनको तयारी भईरहेको छ ।’ प्रदेश सरकारले निर्माण गर्ने संरचना अपाङ्गमैत्री हुनुपर्ने नीति लिइएको बताउँदै उनले कार्यन्वयनकालागि प्रदेश सरकार मातहतका सबै निकायलाई निर्देशन दिइएको बताए । ‘यसअघि बनेका पुराना संरचना धेरैजसो अपाङ्गमैत्री छैनन्, अब बन्ने संरचना अपाङ्गमैत्री बनाउने नीति सरकारको छ ।’ अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण, सशक्तीकरण, क्षमता विकास, सहायता सामग्री वितरण लगायतका काम सामाजिक बिकास तथा युवा खेलकुद मन्त्रालय मार्फत प्रदेश सरकारले गरिरहेको उनले बताए । ‘सबै खालको अपाङ्गता भएकाहरुलाई समेट्ने गरी अपाङ्गता निर्देशन समितिमा १० प्रकारको अपाङ्गता प्रतिनिधित्व गर्नेहरु हुनुहुन्छ’ मुख्यमन्त्री पाण्डेले भने ‘यो समितिले नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयनमा सरकारलाई सहयोग गर्नेछ ।’ जिल्लास्थित सामाजिक विकास कार्यलय मार्फत अपाङ्गता क्षेत्रमा सहयोग पुग्ने गरी हक अधिकारलागि बहस, पैरवी, समुदायमा आधारित पुर्नस्थापना, विउ पुँजी वितरण लगायतका कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डेले अनुरोध गरे ।
प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, व्यवशाय संचालन लगायत कार्यक्रम र अपाङ्गता भएकालाई प्राथमिकता दिने गरी नीतिगत व्यवस्था गरेको बताउँदै उनले भने ‘सरकारको साधन स्रोत, क्षमताले भ्याउँदा सम्म सहयोग थप्दै लगिनेछ ।’ यस क्षेत्रमा काम गर्ने दातृ निकाय, बिभिन्न संघ संस्थासँगको सहकार्यमा सरकारले समन्वय र नीतिगत सहजीकरण गर्दै जाने उनले बताए । राष्ट्रिय अपाङ्ग कोषले दैनिक आवश्यक पर्ने सहायक सामग्री कृतिम हात खुट्टा, क्यालिपर, बैशाखी, वाकर, एल्वो, सेतो छडी ह्विलचेयर जस्ता विकासात्मक सहायक सामग्री उत्पादन गरी वितरण गर्दै आएको सभापति डेकराज भट्टराईले बताए । बिहिवार कोषले विषेशज्ञवाट नापजाँच एवं तालिम सहित ओम हङ्ग गिल ह्यूमन फाउण्डेशनसँगको समन्वयमा उपलब्ध गराइएको ह्विलचेयर मुख्यमन्त्री पाण्डेले ३२ जनालाई  बितरण गरेका हुन् ।

सरकारले कृषिलाई पहिलो प्राथामिकतामा राख्नुपर्छ– नेता कोइराला

पोखरा ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री शंशाङ्क कोइरालाले नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासील गर्न सकिने बताउनुभएको छ । वीपी चिन्तन प्रतिष्ठानद्धारा विहीबार  पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय नेपालमा कृषि क्रान्ति ःसम्भावना र चुनौती विषयक विचार गोष्ठीमा आफ्नो भनाइ राख्दै कोइरालाले भन्नुभयो– सरकारले कृषिलाई पहिलो प्राथामिकतामा राख्नुपर्छ । युवालाई कृषितर्फ आकर्षण गर्न जरुरी भएको बताउँदै उहाँले आफ्नो परिवारको मुख्य पेशा पनि कृषि नै भएको भनाइ उहाँको छ । वीपी कोइराला कृषि पेशाप्रति आकर्षण हुने गरेको भनाइ पनि उहाँले राख्नुभयो । नेपालमा थुपै कृषियोग्य भूमि भएकाले त्यसको सदुपयोग गर्दै विदेशबााट आयात गरिने खाद्यान्न तथा तरकारी घटाउँदै जानुपर्ने भनाइ उहाँको छ । कृषिमा आत्म निर्भर हुन सक्यौ भने नेपालको खरबौ रुपैयाँ नेपालमा नै रहने उहाँले बताउभयो । नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले वीपीको विचारलाई आत्मसाथ गर्दै कृषि क्रान्ति ल्याउन सकयौ भने नेपालीको भविष्य यसैमा हुने बताउनुभयो । प्रजातन्त्रमा नेपाली जनतामा मालिक हुने भएकाले उनीहरुकै सेवामा दलका नेताहरु लाग्नुपर्ने भनाइ उहाँको छ । कृषिलाई केन्द्र बिन्दुमा राखेर सरकारले अनुदान र कृषिमा आधुनिकीकरण गर्न आवश्यक भएको बताउनुभयो । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता एवं गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले ६८ प्रतिशत जनता कृषिमा आवद्ध भएको नेपालमा कृषिलाई बैज्ञानिकीकरण गर्दै मध्यम वर्गका युवालाई त्यसतर्फ आकर्षण गर्न जरुरी हुने वताउनुभयो । दिगो विकास र अर्थतन्त्र सुधारको लागि सरकारले कृषिलाई नै पहिलो प्राथामिकाता दिनुपर्ने बताउँदै रेमिट्यान्सको भर पर्दा देशको अर्थतन्त्र कुनै पनि बेला ढल्न सक्ने भनाइृ उहाँको छ । नेकपा (माओवादी ) केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले नेपाललाई कृषिमा आत्म निर्भर बनाउन कृषिमा ठूलो क्रान्ति ल्याउनुपर्ने बभताउनुभयो । जमिन भएर पनि हामीले कृषि क्षेत्रमा विकास गर्न नसक्नु विडम्बना भएको बताउनुभयो । कृषि नीति बलियो भयो भने देशले कृषि क्षेत्रमा काचुली फेर्ने भनाइ उहाँको छ । उक्त कार्यक्रम वीपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य ऋषि काफ्लेको अध्यक्षता एवम् नेपाली काँग्रेस कास्कीका सहसचिव शंकर ढुुङ्गानाले सञ्चालन गर्नुुभएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, विपी चिन्तन प्रतिष्ठानका सह अध्यक्ष पुुष्पराज पराजुुली, केन्द्रीय सदस्य नवराज गुुरुङ, पूर्व मन्त्री यज्ञबहादुर थापा, नेपाली काँग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णुु लामिछाने, डा. लक्ष्मीकान्त पौडेल, गणेशमान फाउन्डेशनका गण्डकी प्रदेश संयोजक दुुर्गा तिमल्सिना, प्रतिष्ठानका बाग्लुुङ अध्यक्ष गोविन्द कंडेल, स्याङ्जा अध्यक्ष जीवलाल काफ्ले लगायतले बोल्नुुभएको थियो ।  

डागर स्मृति पुरस्कारबाट युवा पाइटल दीक्षान्त पुरस्कृत

डागर स्मृति पुरस्कार-२०८१ बाट युवा पाइलट दीक्षान्त जंगबहादुर राणा पुरस्कृत भएका छन् । डागर स्मृति प्रतिष्ठान नेपालले राजन पराशर डागरको २३ औं स्मृति दिवस समारोहबीच उक्त पुरस्कार अर्पण गरेको हो । २० हजार राशिसहितको उक्त पुरस्कार ऋषि पञ्चमीका दिन पोखरामा एक समारोहका बीच अर्पण गरिएको हो । कार्यक्रमका प्रमुख व्यक्तित्व लायन्स इन्टरनेशनल ३२५ जे का डिस्ट्रीक्ट गभर्नर मिलन थापा, प्रतिष्ठानका संरक्षक रमा पराशर, संस्थपाक अध्यक्ष हिरा बास्तोला, वर्तमान अध्यक्ष विन्दु श्रेष्ठले संयुक्त रूपमा पुरस्कार अर्पण गरे । डिस्ट्रीक्ट गभर्नर मिलन थापाले हरेकका जीवनमा सङ्घर्षका कथा हुने र ती कथाभित्र लुकेका व्यथालाई भुलेर समाजका जागरुक प्रतिभालाई प्रोत्साहित गर्ने रमा पराशर पोखरेली चेली नै भएको दावीसमेत गरिन् । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पोखरेलले राजन पराशर डागरलाई व्यवहारिक जीवनका समस्यालाई समस्या नठानेर सदावहार उर्जाका साथ प्रस्तुत हुने प्रतिभाका रूपमा चित्रण गरे । पुतली बजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबाले जीवन जीउने तरिका रमा पराशरबाट सिक्नुपर्ने धारणा राखे । लायन्स क्लब अफ पोखरा समर्पणकी अध्यक्ष अर्चना कर्मचार्यले प्रतिष्ठानको कोषको स्तरोन्नतिका लागि १० हजार आर्थिक सहयोग गर्दै, मानवलाई आत्मविश्वासले नै सफलताको शिखरतर्फ डो¥याउने बताइन् । समारोहमा समाजसेवी विद्यालक्ष्मी गुरुङले पनि प्रतिष्ठानको अक्षयकोषका लागि १५ हजार आर्थिक सहयोग गरेकी छन् । सोही समारोह बीच लक्ष्मी श्रेष्ठ र डा सुरुची गुरुङलाई आजीवन सदस्यतासमेत प्रदान गरिएको छ । पुरस्कृत प्रतिभा युवा पाइलट दीक्षान्त जंग बहादुर राणाले पुरस्कारले प्रोत्साहन मिलेको बताए । उनले आफूले प्राप्त गरेको पुरस्कार रकम विपन्न समुदायका लागि सहयोग गर्दै आएको जानकारी गराए । पुरस्कृत प्रतिभाबारे प्रकाश पार्दै प्रतिष्ठानका परिकल्पनाकार दीपेन्द्र श्रेष्ठले १७ वर्षको उमेरमा डेल्टा क्वालिफ्लाइटबाट व्यावसायिक उडान अनुमतिपत्र प्राप्त गरेका दीक्षान्तले सन् २०१९ बाट व्यावसायिक जीवन शुरू भएको जानकारी दिए । प्रतिष्ठानका संस्थापक संरक्षक रमा पराशरले आफूले एकल रूपमा स्मरण गर्दै आएको स्मृति दिवसलाई संस्थागत तरिकाले अगाडि बढाउने सम्पूर्णप्रति अआभार व्यक्त गरिन् । उनले थपिन् ‘ प्रतिष्ठान पैसा भन्दा प्रोत्साहनमा विश्वास गर्ने भएकाले पछिल्लो समय प्रतिभावान् युवालाई प्रोत्साहित गर्दै आएको छ ।’ प्रतिष्ठानले नेपाली वाङ्मय, विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य, वातवारण, राष्ट्रसेवा, समाजसेवाका क्षेत्रमा पुरस्कार अर्पण गर्दै आएको अध्यक्ष विन्दु श्रेष्ठले जानकारी दिइन् । उक्त पुरस्कारबाट यस अघि समाजसेवी विश्वमोहन गौचन, हरिश्चन्द्र शर्मा, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, साहित्यकार आर.एम. डंगोल, भीम रानाभाट, सुमल गुरुङ, संस्थातर्फ मानव सेवा आश्रम, हिमाली सांस्कृतिक परिवार, स्वास्थ्यसेवी डा तुलिका दुवे, राष्ट्रसेवक चन्द्रा गुरुङ, युवा वैज्ञानिक मनिषा द्वा पुरस्कृत भइसकेको प्रतिष्ठानका उपाध्यक्ष सरिता तिम्सिना पंगेनीले जानकारी दिइन् । प्रतिष्ठानको चौथो अधिवेशन तथा नवौं साधारण सभाले आगामी कार्यकालका लागि बिन्दु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा सरिता तिम्सना पगेनी, सचिवमा असफल गौतम, कोषाध्यक्षमा पुष्पकुमारी आचार्य, सहसचिवमा फडिन्द्र अकिञ्चन, सदस्यमा दीपेन्द्र श्रेष्ठ, ठाकुर पन्त, अर्जना कर्मचार्य, आभा श्रेष्ठ र पदेन सदस्यमा लायन्स क्लब अफ पोखरा समर्पणका लायन वर्ष २४/२५ का अध्यक्ष अर्चना कर्मचार्य सर्वसम्मत निर्वाचित भएका छन् । प्रतिष्ठानका सचिव असफल गौतमले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।