सुनसरीको दुहबी नगरपालिकामा एक जनाको गोली हानी हत्या

५ मंसिर २०७५, बुधबार

 

इनरुवा,  सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज एक जनाको गोली हानी हत्या गरिएको छ । स्थानीयवासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो ।

जय बाबा इँटाभट्टाका सुपरभाइजर हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्फ जाँदै गर्दा हुसेनमाथि गोली प्रहार भएको हो । घटनास्थलबाट तीन गोलीको खोका बरामद गरिएको छ ।

अहिले हुसेनका समर्थकले दुहबी बजार क्षेत्रमा नाराबाजी गर्दै कोशी राजमार्ग तथा दुहबीबजार ठप्प पारेका छन् । घटनाबारे अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताउनुभयो । मृतक हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष एवं नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नं ३ का सभापति मेहदी हुसेनका भाइ हुन् । केही दिन अगाडि सुनसरीको रामनगर भुटाहाका खुर्सीद अन्सारीको समेत भारतबाट आएको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।

Leave a Reply