सरकार गणतन्त्र टिकाउने पक्षमा छ कि छैन भन्नेमा शंका :कांग्रेस उपसभापति निधि

५ मंसिर २०७५, बुधबार

काठमाडौं ,कांग्रेस उपसभापति विमलेन्द्र निधिले वर्तमान कम्युनिष्ट सरकार गणतन्त्र टिकाउने पक्षमा छ कि छैन भन्नेमा शंका उब्जन थालेको बताएका छन ।
बुधबार राजधानीमा संचारकर्मीहरुसँगै कुरा गर्दै उनले सरकारले पूर्व राजालाई भारतको गणतन्त्र दिवसका दिन प्रमुख अतिथि बनाएर पठाउन लागेको भन्ने सुचनाले सरकार प्रति शंका उब्जिएको जनाए ।
‘बिदाइ भइसकेको राजालाई सरकारले भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथि बनाउन सिफारिस गरेको कुरा आएको छ, यसले सरकार गणतन्त्र टिकाउने पक्षमा छ की छैन भन्ने शंका उब्जाएको छ, सरकारले सो विषयमा प्रष्ट पार्नु पर्छ,’ कांग्रेस उपसभापति निधिले भने ।
उनले भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ प्रदेश २ को जनकपुरमा रेलको उद्घाटन गर्न आउँने विषयमा समेत असहमती जनाएका छन ।
निधिले रेलको उद्घाटन दुई देशको केन्द्रिय तहबाट हुनु पर्ने भन्दै सरकारको कुटनीतिक पहलमा कमी भएकाले यस्ता कुरामा सरकारले ध्यान पुर्याउनु पर्ने जनाएका हुन ।
‘भारतका मुख्य मन्त्री नेपालमा रेलको उद्घाटन गर्न आउँनु नेपालमाथीको डिग्रेड हो, यसले देशको कुटनीतिक छवीलाई होच्याउँने काम गर्छ, सरकारले यस विषयमा समेत प्रष्ट पार्नु पर्छ,’ निधिले थपे ।
उनले भारत र नेपालका प्रधानमन्त्री, सम्भव नभए दुई देशका विदेश मन्त्री वा अन्य कुनै केन्द्रिय तहका मन्त्रीबाट रेल उद्घाटन गर्नु पर्नेमा समेत जोड दिए ।
निधिले प्रदेश २ को सरकार मधेसवादी दलको नेतृत्वमा रहेको भएपनि केन्द्र सरकारको पिछलग्गु भएर मधेसी जनताका पक्षमा उभिन नसकेको समेत जनाए ।
‘प्रदेश २ मा मधेसवादी दलको नेतृत्वमा सरकार छ, तर सरकार केन्द्र सरकारकै पुच्छर जस्तो भएको छ, यसले मधेसवादी दल पनि संघियता र गणतन्त्रको पक्षमा छकी छैन भन्ने गम्भीर प्रश्न उठाएको छ,’ निधिले भने ।

Leave a Reply